बुधबार ९ भाद्र,
सोरहवा (बर्दिया)-सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरीले आफ्नै समुदायबाट भएको आन्दोलनमा परेर मृत्यु होला भन्ने सोचेका भए सायद यति ठूलो जोखिम मोल्ने थिएनन्। तर, उनी आफ्ना कमान्डर सशस्त्र प्रहरी बल उग्रतारा गणका गणपति लक्ष्मण सिंहलाई बचाउन खोज्दा आफैं मृत्युको मुखमा परे।
एसपी लक्ष्मण सिंह आफ्नो अंगरक्षकसमेत रहेका प्रहरी हवल्दार चौधरी आफ्नै समुदायका व्यक्तिहरूको आन्दोलन भएका कारण बढी विश्वस्त भएको बताउँछन्। उनका अनुसार चौधरीले आन्दोलनकारीलाई 'म पनि थारु नै हुँ' भन्दै सम्झाउने प्रयास गरेका थिए।
'उनले मलाई बचाउन आफैं अगाडि गएर ढुंगा, भाला छेक्ने प्रयास गरे,' सिंहले भने, 'तर, त्यही बेला भाला रोपेर आगो लगाई उनको हत्या गरियो।'
सोमबार दिउँसो १ बजे कार्यस्थल कैलाली, टीकापुरबाट रामबिहारीले श्रीमती सिर्जनालाई फोन गरी छोरीहरूको पढाइमा ख्याल राख्न अह्राएका थिए। 'रामबिहारीले बुहारी सिर्जनालाई फोन गरेर १३ वर्षीया ठूली छोरी अन्सला र १० वर्षीया सानी छोरी अनुश्रीको पढाइमा ध्यान दिनू, उनीहरूलाई राम्रो उच्चशिक्षा दिनुपर्छ भनेका थिए,' बर्दिया सोरहवा–९, दौलतपुरस्थित घरमा मंगलबार आँखाभरि आँसु पार्दै रामबिहारीका दाजु घनश्यामले भने, 'त्यसको केही बेरपछि त्यस्तो घटना भएको खबर आयो।' छोरीहरूको पढाइबारे रामबिहारीले ज्यादै चासो लिने गरेको उनले सुनाए ।
केही समयपछि श्रीमती सिर्जनाले फेरि फोन गर्न खोज्दा रामबिहारीको फोन स्विच अफ भयो। थरुहट माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले निर्मम तरिकाले सोमबार उनको ज्यान लिए।
साँझ ६ बजे प्रदर्शनकारीले श्रीमान्लाई मारेको खबर थाहा पाएपछि सिर्जना बेहोस भइन्। अझै उनका आँखा ओभाएका छैनन् । उनी होसमा आउन सकेकी छैनन्। कमजोर शारीरिक अवस्थाकी उनलाई सलाइन पानी दिएर राखिएको छ।
छोरीलाई उच्च शिक्षासम्म पढाउन भाइले बुहारीलाई फोनमार्फत अन्तिम वार्ता गरेको स्थानीय शिक्षक तथा रामबिहारीका दाजु घनश्यामले बताए।
'आन्दोलनकारीले नियन्त्रणमा लिएर अन्तिम फोन गर्न दिएको रहेछ, आन्दोलनकारीले अब मर्छस्, एक जनालाई मात्र गर भनेर दिएजस्तो लाग्यो,' घनश्यामले भने, 'केही बेरपछि उनीहरूले मारेछन्।'
अमानवीय तथा क्रूर तरिकाले भाइको हत्या गरिएको उनले बताए। 'दोहोरो भिडन्त भएर मरेको भए, फौजी हो लडाइँमा मर्योा भन्न हुन्थ्यो,' उनले भने, 'आत्मरक्षासमेत गर्न नपाई मृत्युवरण गर्योह।' ठूलोबुबा घनश्यामले घटनाबारे भनिरहँदा सानी छोरी अनुश्री टोलाइरहेकी थिइन्। ठूली छोरी अन्सलाचाहिँ रोइरहेकी थिइन्।
थारु जातिको हकहित गर्ने भन्दै गरिएको आन्दोलनमा भाइको नृशंस हत्या गरिएकोमा घनश्याम आक्रोशित छन्। 'जातीय सद्भाव भड्काएर फाइदा लिन खोज्ने केही व्यक्तिले यो घटना गराए,' उनले भने, 'आफ्ना माग पूरा गराउन अर्काको ज्यान लिनु आततायी काम हो।'
रामबिहारीको परिवार दौलतपुर सरेको केही महिना मात्र भएको छ। उनले घरको जग र गाह्रो पक्की बनाए पनि छानो खरको छ। साताअघि कार्यालयबाट फोन गरेर रामबिहारी घर आउने बताएका थिए। तर, थरुहट आन्दोलन चर्कंदै गएपछि उनी घर आएर ढलानको काम गर्न सकेनन्।
गाउँमा उनी अति मिलनसार व्यक्ति थिए। उनी १३ वर्षअघि नेपाल प्रहरीमा भर्ती भएका थिए। मंगलबार दिउँसो नागरिक संवाददाता दौलतपुरस्थित उनको घर पुग्दा त्यहाँ शोकमग्न अवस्था थियो। आमा चहरी र बुबा गोपाली अर्धचेत अवस्थामा थिए। छिमेकी, आफन्त सबैका आँखा रसाएका थिए।
त्यतिखेर नेपालगन्जबाट सशस्त्र प्रहरी टोलीले शव ल्यायो। त्यसपछि रोदनले गाउँ नै थर्कियो। रामबिहारीको मंगलबारै अन्त्येष्टि गरियो। थारु आन्दोलनका नाममा आफ्ना दाजु रामबिहारीलाई निर्मम तरिकाले मार्ने व्यक्तिमाथि कडा कारबाही हुनुपर्ने र वीर योद्धालाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ।
'ती अपराधीलाई कडा कारबाही भए मृतात्माले शान्ति पाउने थियो,' भाइ ओमकारले भने।
0 comments:
Post a Comment