Sunday, August 23, 2015

हामी डाढे बिरालाहरू


- मनोज गजुरेल
भाद्र ५, २०७२-
धेरै जना भन्छन्, अहिले ‘ढाडे बिरालो’ गीत चर्चाको शिखरमा छ । गजुरियल विश्लेषक भन्छ, मान्छे चर्चामा हुनुपर्छ, शिखरमा होइन । शिखरमा पुगेपछि लगभग चर्चाको पूर्णविराम सुरु हुन्छ । किनभने मान्छे शिखरभन्दा माथि चढ्न सक्दैन, उड्नुपर्छ । उड्नका लागि मान्छेसँग पखेटा छैन । त्यसैले चर्चाको शिखरमा पुगेको जोकोही पनि यथार्थको बेसक्यापमा झर्नैपर्ने हुन्छ भन्ने गजुरियल ठम्याइ छ ।
विश्लेषक भन्छ, ढाडे बिरालो चर्चाको शिखरमा होइन, चर्चाको चौबाटोमा छ । चौबाटोबाट लोकप्रियताको सगरतिर जान पनि सकिन्छ, अलोकप्रियताको बगरमा पछारिन पनि सकिन्छ । सबक सिक्ने अवसर पनि मिल्न सक्छ, सन्तुलित बन्ने मौका पनि आउन सक्छ । यो अर्थमा ढाडे बिरालोले युवा कलाकार ज्योति मगरलाई चर्चाको चौबाटोमा पुर्याएको छ भन्ने गजुरियल ठम्याइ छ ।
चौबाटोमा थुप्रै दर्शक–श्रोता छन् । बाटोको एकातिरका मानिस ‘ज्योति दर्शन’को पक्षमा बोलिरहेका छन्, अर्कातिरकाहरू ‘ज्योति प्रदर्शन’को विपक्षमा छन् । तेस्रो थरीले प्रतिपक्षको भूमिका निर्वाह गर्दैछन् भने चौथो खाले मानिस निष्पक्ष समीक्षाको प्रयास गर्दैछन् । आउनोस्, चौथो कोणबाट ‘ढाडे बिरालो’को विश्लेषण गरौं ।
मुख्य कुरा, ‘ढाडे बिरालो’ ज्योतिको एकल प्रस्तुति होइन । संकलक, कम्पोजर, गायक, निर्देशक, बजार प्रवद्र्धक सबैको साझा प्रयास हो । यसको गुण वा दोषको भागीदार ज्योतीलाई मात्र बनाउँदा अरूको अनुहार अँध्यारो हुन सक्छ । साँच्ची भन्ने हो भने संकलक विनोद ढकाललाई बिर्सने हो भने यो बिरालो यति हिट हुने कुरा त परै जाओस्, मुसा मार्न पनि सक्ने थिएन । श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर, हिस्सी परेका डाइरेक्टर शंकर बिसीको निर्देशन र बजार व्यवस्थापनकर्ता म्युजिक नेपालले समेत यसको जस/अबजस पाउनुपर्छ ।
उहाँहरूको यो सामूहिक प्रस्तुतिको पक्ष लिनेहरूले आफ्नो मनको ह्विपका आधारमा ‘ढाडे बिरालो’को समर्थन गरेको देखिन्छ । प्रतिपक्षमा बस्नेहरूले समाजको रूपका आधारमा विरोध गरेको भेटिन्छ । विपक्षवालाहरू विरोधका लागि विरोध गरेको पाइन्छ भने निष्पक्षवालाहरूले युग र समाज सापेक्षताका आधारमा समीक्षा गरेको हुन्छ ।
निष्पक्षताको चौथो कोणबाट कुरा गर्ने हो भने ‘संकलक, गायक, निर्देशक, मोडल, र विक्रेताहरू’को सानो प्रयासले मात्र ढाडे बिरालो पल्किएको होइन, तपाईं–हाम्रो समाजमा हुर्कंदै गएको अत्याधुनिकताको विकारस्वरूप ढाडे बिरालो
छाडा भएको हो भन्ने गजुरियल ठम्याइ छ ।
हामीले माने पनि, नमाने पनि हाम्रो समाजमा धेरै ढाडे बिरालाहरू छन् । कहिलेकाहीं हाम्रै मनभित्र पनि ढाडेको ङ्यारङुर सुनिन्छ । त्यसैले यो ढाडे बिरालो बाँध्ने वा छोड्ने दायित्व हामी सबैको हो भन्ने गजुरियल ठम्याइ छ ।
ढाडे बिरालोलाई यो विश्लेषकले चार पटक चारवटै मनले हेर्यो । पहिलो पटक तीज सांस्कृतिक कोसेलीका रूपमा हेर्न खोज्यो, रत्यौलीको विकृत रमझमजस्तो मात्र भेट्यो । दोस्रो समयको मागअनुसार हेर्न खोज्यो, ‘समय’ले अलि धेरै मागेजस्तो देख्यो । युवामन पछाडी बुबामनले हेर्यो, अरू नाचेको हेर्न राम्रो लागे पनि आफ्नालाई नचाउन नसक्ने विश्लेषण गर्यो र चौथो पटक व्यंग्यकारका रूपमा हेर्दा तपाईं–हामी सबैलाई ढाडे बिरालो रूपमा पायो ।
गायक–गायिकालाई चर्चित हुनु छ । मोडल–मोडल्नीलाई हिट हुनु छ । निर्मातालाई खर्च उठाउनु छ । विक्रेतालाई पैसा कमाउनु छ । दर्शकलाई हट प्रस्तुति चाहिएको छ । हामीलाई व्यंग्य गर्ने सुपरहिट विषय चाहिएको छ । ढाडे बिरालो पल्काउन यहाँ कोहीभन्दा कोही कम छैन । नाना पाटेकरले कतै भनेझैं, ‘सब मिले हुए है,’ तर गाली वा ताली पाउने बेलामा एउटी ज्योतिलाई दिनु त अति भयो भन्ने गजुरियल ठम्याइ छ ।
हामीले संस्कारका नाममा दबाउनुपर्ने कुरा पनि दबायौं, नदबाउनुपर्ने कुरा पनि दबायौं । स्वतन्त्रताको सीमारेखा कोर्न जानेनौं, आधुनिकताको अर्थ बुझ्न सकेनौं । त्यही कुरो हेरुन्जेल वाह वाह भयो, बाहिर निस्किएर छि: छि: गर्न थाल्यौं । हामी आफू त अनजान भयौं–भयौ, संस्कार, संस्कृति र पहिचान सिकाउने नीति–निर्माताहरू पनि ढाडे बिरालोको नृत्यमा अलमलिएपछि सिंगै संस्कृतिमा ढाडे बिरालो पल्किएको हो भन्ने गजुरियल ठम्याइ छ ।
-साप्ताहिक बाट

0 comments:

Post a Comment