कावासोती, ४ भदौ । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर तामाङको गएराति ९ः३० बजे हत्या भएको हो । हत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हत्या कसले गरेको भन्ने यकिन हुन सकेको छैन । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासीमा पछिल्लो समयमा धारिलो हतियार घाँटीमा प्रयोग गरेर हत्या भएका घटना बढ्दै गएका छन् । अर्खलामा केही समय अगाडि आफ्नै श्रीमान्ले श्रीमतीको घाँटी छिनाएर हत्या गरेका थिए ।
मृतक तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा दुई युवती गम्भीर घाइते
यसैबीच, लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् ।
तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।
लुटेराले गएराति घरको मूलगेटको ताला फोडी २० वर्षकी रेश्मा कार्की (सिग्देल) र उनकी बहिनी वर्ष १६ की रुपा कार्की बस्ने कोठाको ढोका खोलेर दिदीबहिनीलाई हातपात गरी दिदीले लगाएको सिक्री लुटेर लुटेरा भागेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिनुभयो ।
लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद, लगाएका गहना लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिनुभयो । गम्भीर घाइते भएका दिदीबहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको अवस्थाबारे प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी लिनुभएको छ । वर्षायाम र चाडबाड सुरु हुँदैगर्दा यस्ता चोरीका घटना बढ्ने भएकाले प्रहरीले व्यापक खोजतलास र निगरानी बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।
0 comments:
Post a Comment