Wednesday, August 26, 2015

बाँकेका आधा दर्जन प्रहरी चौकी र बिट खाली गराइयो


नेपालगन्ज–जिल्लामा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै बाँकेका करिव आधा दर्जन प्रहरी चौकी तथा बिट खाली गराइएको छ। कैलालीको टिकापुरमा भएको हिंसात्मक प्रर्दशनका क्रममा सुरक्षाकर्मीको हत्या भएपछि सानो संख्यामा प्रहरी रहँदै आएका अस्थायी चौकी तथा बिटहरु खाली गराइएको हो।

बाँकेको राप्तीपारी फत्तेपुरमा रहेका अस्थायी प्रहरी चौकी 'क' र 'ख', कचनापुरस्थित अस्थायी प्रहरी चौकी तथा नेपालगन्जको त्रिभुवन चोक र शान्तिनगरमा रहेका बिट खाली गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ देखि ७ जना प्रहरी र बिटमा दुई देखि ३ जना प्रहरी कार्यरत थिए । दुई दिनअघि मधेसी मोर्चाका कार्यकर्ताले त्रिभुवन चोकमा रहेको प्रहरी बिटमै आगजनी गरेका थिए । त्यसक्रममा भएको दोहोरो झडपमा परी केही प्रहरी र सशस्त्र प्रहरी समेत घाइते भएका थिए । दुई दिनअघि मोर्चाले आगजनी गरेको नेपालगन्जको त्रिभुवन चोकमा रहेको प्रहरी बिट ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वसन्त पन्तले अस्थायी प्रहरी चौकी र बिट खाली गरी त्यहाँ कार्यरत जनशक्तिलाई गस्ती, पेट्रोलिङमा परिचालन गरिएको बताए । 'जनजीवन सामान्य अवस्थामा फर्केपछि फेरी पुरानै ठाउँमा प्रहरी रहन्छ, सधैका लागि विस्थापित भएका होइनन,' उनले भने । शान्ति, सुरक्षा कायम गर्न जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको पन्तले जानकारी दिए । खाली गराइएका प्रहरी चौकी र बिटमा प्रहरीसँग भरपर्दो हतियार र सञ्चार सेट समेत थिएन् । तर, प्रहरी कै एक स्रोतले संवेदनशील ठाउँमा थोरै जनशक्ति रहेका प्रहरी चौकी र बिटलाई सुरक्षा सर्तकता स्वरुप खाली गराएको जनाएको छ । 'टिकापुरमा भएको घटनाले बाँकेको सुरक्षा निकायलाई पनि अर्लट गराएको छ,' स्रोतले भन्यो 'संवेदनशील ठाउँका प्रहरीलाई तत्कालका लागि त्यहाँबाट खाली गराउन उचित देखियो ।'

टिकापुरमा भएको हिंसात्मक घटनापछि बाँकेमा पनि मधेसी मोर्चाको गतिविधि अस्वभाविक रुपले बढेको थियो । निषेधित क्षेत्र तोड्दै त्रिभुवन चोकमा प्रहरी बिटमाथि मोर्चाका कार्यकर्ताले आगजनी गरेपछि स्थानीय प्रशासनले तत्काल कफ्र्यु लगाएको थियो । प्रशासनले बुधबार कर्फ्यू  हटाएपनि निषेधाज्ञा जारी गर्दै सभा, जुलुस, प्रर्दशन गर्नमा रोक लगाएको छ । स्थानीय प्रशासनले कर्फ्यूको समय बढाउँदै जादाँ मोर्चाको प्रर्दशन सदरमुकाम नेपालगन्जमा रोकिएको छ। ग्रामीण क्षेत्रमा भने मोर्चाको प्रर्दशन भइरहेका छन् ।

मोर्चाले बुधबार जिल्लाको राप्तीपारी नरैनापुरमा प्रर्दशन गरेको छ । । करिव १५/२० जनाको संख्यामा रहेका स्थानीय नेता, कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् । सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, एमाले नेता केपी शर्मा ओली र बाँके क्षेत्र नम्बर २ का सभासद दिनेशचन्द्र यादवको पुत्ला जलाएको स्थानीय एक शिक्षकले जानकारी दिए ।

इलाका प्रशासन कार्यालय अगाडी उनीहरुले निर्वाध रुपमा प्रर्दशन गरेका थिए । ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त शर्माले मधेसी मोर्चाका कार्यकर्ताले केहीबेर बिरोध प्रर्दशन गरेको बताए । मोर्चाका प्रवक्ता पशुपति दयाल मिश्रले सदरमुकाम नेपालगन्जमा स्थानीय प्रशासनले रोक लगाएपछि ग्रामिण क्षेत्रमा प्रर्दशन गरिएको बताए । आफूहरु शान्तिपुर्ण आन्दोलनमा रहेको जिकिर गर्दै आफुहरुको आन्दोलनबाट प्रहरी प्रशासन सशंकित हुनु नपर्ने प्रष्ट्याए ।


0 comments:

Post a Comment