Tuesday, August 11, 2015

नेपालमा उत्कृष्ट अभिनय गर्ने हिरो छैनन् : राजेश हमाल


हानायक राजेश हमाल भन्छन्, नेपालमा उत्कृष्ट अभिनय गर्ने हिरो पाएको छैन । पुस्तकमा उनी शिरिषको फूल मन पराउँछन् भने लेखकमा वीपी काेइराला । अरु के के मनपर्छ राजेशलाई ?


मन पर्ने ठाउँ ?

पहिला विदेश घुम्न धेरै मन पथ्र्यो । घुमियो पनि । तर, अचेल आफ्नै स्वदेशको डाँडापाखा मन पर्न थालेको छ । उकाली, ओरालीमा बेग्लै सुन्दरता पाउँछु । ७५ वटै जिल्ला त अझै पुगेको छैन । तर, अधिकांश ठाउँमा पुगेको छु ।

मन पर्ने परिकार ?

खानेकुरा स्वादमा भर पर्छन् । विभिन्न परिकारमा आफ्नै भिन्न टेस्ट हुन्छन् । माछा मेरो अत्यन्त मन पर्ने परिकारमा पर्छ । स्वास्थ्यका दृष्टि र स्वादका दृष्टिले माछाको परिकार रुचाउँछु ।

मन पर्ने पेय पदार्थ ?

हरेकमा पानी नै मिसिएको हुन्छ । पक्कै पनि पानी नै मन पर्छ । धेरै पानी पिउने गर्छु । मन परेरै पिएको हुँ ।

मन पर्ने साहित्यकार एवं लेखक ?

थुप्रै छन् । साहित्य पढ्न रुचि राख्ने पाठकमध्ये म पनि पर्छु । बजारमा आएका नयाँ साहित्य जति पढे पनि बीपीको साहित्यले धेरै नै मन जितेको छ मेरो । अचेल फेरि बीपी नै पढ्न थालेको छु । उहाँको जीवन दर्शन र समाजप्रतिको बुझाइ नै बृहत् लाग्छ मलाई ।

मन पर्ने साहित्यिक पुस्तक ?

मेरो लाइब्रेरीमा पारिजातको पूरै सिरिज नै छ । उहाँको उपन्यास ‘शिरीषको फूल’ अत्यन्त मन पर्छ । अहिलेसम्म तीनपटक पढेको छु । जति अध्ययन गर्‍यो उती गहिराइमा पुगेजस्तो लाग्छ । पारिजातको ‘शिरीषको फूल’ अन्य साहित्यिक कृतिभन्दा गहकिलो लाग्छ ।

मन पर्ने फिल्म ?

फिल्म त थुप्रै छन् । नामले छुट्टाउन गाह्रै पर्छ । तर, प्रकृति भने भन्न सक्छु । मलाई मानवीय कथा समेटिएका चलचित्रले मन छुन्छ । मेरा पछिल्ला फिल्महरूमा पनि त्यस्तै कथामा अभिनय गरेको थिएँ । मानवीय संवेदना झल्किने फिल्मले कसको पो मन नछोला र ?

मन पर्ने अभिनेत्री र अभिनेता ?

यो छुट्टाउनु मेरो लागि चुनौतीपूर्ण नै छ । अभिनेत्रीको कुरा गर्दा करिश्मा मानन्धर राम्री नायिका हुन् । तर, अभिनयका दृष्टिले निरुता सिंह मलाई अत्यन्त मन पर्ने नायिका थिइन् । उस बेला उनीसँग अभिनय गर्दा मलाई रमाइलो अनुभूति हुन्थ्यो । कलाप्रतिको उनको मिहिनेत र झुकावले दर्शकसँगै म पनि प्रभावित भएको थिएँ । अभिनेताको सन्दर्भमा भने म यस्सै भन्न सक्दिनँ । अहिलेसम्म नेपाली फिल्म इन्ड्रस्ट्रीमा उत्कृष्ट अभिनय गर्ने अभिनेता मैले पाएकै छैन । अझै मिहिनेत गर्न बाँकी नै छ जस्तो लाग्छ ।

मन पर्ने गीत ?

गीत खाने परिकारजस्तै लाग्छ । मुड अनुसार फरक । रोमान्टिक भएको बेला रमाइला गीत सुन्ने गर्छु । कहिलेकाहीं पप पनि । उस्तै अलि मुड अफ टाइपको छ भने पुराना सदावहार स्वरहरूले मन तान्छ ।

मन पर्ने गायिका र गायक ?

गायक गायिकाका आ–आफ्नै स्वर क्वालिटी छन् । म हरेक कलाकारितामा भर्सटाइल शैली मन पराउने गर्छु । राजेशपायल राई पुरुष गायनमा भर्सटाइल लाग्छ । त्यस्तै गायिकामा आस्था राउत पनि मन पर्छ । उनको स्वर बोल्ड र कमान्डिङ छ ।

मन पर्ने ग्याजेट ?

आई प्याड नै चलाइराख्ने बानी छ । ‘युज टु’ धेरै भएकाले होला सहज लाग्छ । प्रविधिमा सरलीकरण खोज्ने गर्छु म । जुन आई प्याडमा पाएको छु ।
साभार -इकान्तिपुरबाट

0 comments:

Post a Comment