Monday, August 24, 2015

‘डिआइजी हुन्छु भन्थे’ - मृतक एसएसपी लक्ष्मण न्यौपाने


माओवादी युद्धकालमा सुरक्षा दृष्टिले संवेदनशील जिल्लामा खटिएका एसएसपी लक्ष्मण न्यौपानेलाई आफन्तजनले ज्यान जोगाएर काम गर्न सल्लाह दिन्थे। न्यौपाने भने सहजै जवाफ दिन्थे, ‘आफू राम्ररी काम गर्नुपर्छ, त्यसक्रममा आइपर्ने कुरा त छँदैछन् नि।’ आजको नागरिकमा राजु अधिकारी लेख्छन्-सोमबार कैलालीमा आन्दोलनकारीको आक्रमणबाट उनले ज्यान गुमाएपछि उनका आफन्तजन पुरानो कुरा झल्झली सम्झिरहेका छन्। 'सुरक्षा दृष्टिले ज्यादै संवदेनशील अवस्थामा पनि केही भएन,' नातेदार मणिराम न्यौपानेले भने, 'अहिले यस्तो दुखद घटना भयो।' उनका अनुसार सशस्त्र युद्धकालमा उनले रोल्पा, बैतडीलगायत मुलुकका धेरै संवदेनशील जिल्लामा जिम्मेवारी निर्वाह गरेका थिए। चन्द्रगढी गाविस भद्रपुरमा गाभिएपछि भद्रपुर–१३ बनेको आयुर्वेदिक टोलमा घर भएका न्यौपानेको परिवार २०१९ सालमा भोजपुरको गोगनेबाट झापा झरेको थियो। २०२० सालमा जन्मिएका न्यौपाने परिवारका ६ भाइ छोरामध्ये काइँला हुन्। न्यौपानेको परिवार आमा रमादेवी, पत्नी अरुणा, छोरा सन्देश र छोरी संयुक्तासहित काठमाडौं, सिनामंगलमा बस्दै आएको छ। नातेदार मणिरामले काठमाडौंबाटै फोनमा दिएको जानकारीअनुसार घटनालगत्तैदेखि न्यौपाने परिवार विह्वल छ।

२०४० सालमा एसएलसी पास गरेपछि उनी अध्ययनका लागि काठमाडौं गएका थिए। राजधानीबाटै उनले बिएससी पास गरे। स्नातकोत्तर सकेर २०४४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका थिए उनले। बाग्लुङबाट एक वर्षअघि मात्र सेती अञ्चल इनचार्जको जिम्मेवारी सम्हाल्न कैलाली पुगेका थिए। भद्रपुरको मूलघरमा उनका भाइबुहारी प्रदपि र विजया बस्दै आएका छन्। बेला–बेला झापा आइरहने उनी एक वर्षअघि मात्र झापा आएर भाइ, आफन्तलगायतसँग भेटघाट गरेर गएको उनका भाइ प्रदीप न्यौपानेले जानकारी दिए। २०६८ मा एसएसपीमा बढुवा भएका उनको प्रहरीमा राम्रै छवि रहेको आफन्तजन बताउँछन्। न्यौपाने डिआइजीमा बढुवा भएर रिटायर्ड जीवनको कल्पनामा थिए। 'रिटायर्ड हुने बेलासम्म डिआइजी बन्ने आस थियो,' नाताले भाइ मणिरामले भने, 'अब उहाँको त्यो सपना कहिल्यै पूरा नहुने भयो।'

0 comments:

Post a Comment