प्रहरीले बाँके जिल्लामा दायर गरेको अभियोग पत्रमा पनि रिगललाई मुख्य अभियुक्त देखाइएको छ । प्रहरीले हालै कुख्यात गुण्डा कुमार घैंटेलाई इन्काउन्टर गरेपछि अचेल फरार गुण्डाहरु आफै प्रहरी नियन्त्रणमा आउन थालेका छन् । हत्या अघि रिगलले आफ्नो समूहका फरक फरक क्षेत्रबाट आएका युवाहरु संग छलफल गरी मानन्धर हत्या बारे योजना बनाएका थिए । मानन्धर पनि रिगल समूहकै भएको तर केही आपसी विवाद पछि समूह छुट्टिएको प्रहरी भनाइ छ । १४ जना रिगलका गुण्डाहरु एकैठाउँमा पुगेर सिद्धार्थ कटेज नजिक मानन्धरलाई बोलाएर रिगलले खुडा प्रहार गरी हत्या गरेको देखिएको प्रहरी अभियोग पत्रमा उल्लेख छ । रिगलले आफ्नै मोबाइल प्रयोग गरी चेतन मानन्धरलाई फोनगरी आउनुस बसेर विवाद समाधान गरौं भनी वार्ताका लागि बोलाएको र कुराकानीका क्रममा रिगलले आफै अचानक खुडा प्रहार गरेको विषयमा अभियुक्तहरुले दिएको बयान समेत प्रहरीले अदालतमा पेश गरेको छ । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी प्रमुखकै कमाण्डमा टोली तत्काल जिल्लाबाट बाहिर जान सक्ने नाकाहरुमा चेकजाँच सुरु गरिएको र घटनास्थलबाट भाग्दै गरेका अभियुक्तहरुलाई लखेटेर पक्राउ गरिएको, प्रत्यक्षदर्शीहरुको बयान र भनाई सहितको सबूद प्रमाण मुद्दा संलग्न राखिएको पाइएको छ । वारदात स्थलबाट हत्यामा संलग्न रिगलले प्रयोग गरेको एउटा खुँडा र अन्य अभियुक्तले प्रयोग गरेको ३ थान खुँडा दशी प्रमाणमा राखिएको अदालतले जनाएको छ । यसअघि प्रशान्त गौतम, नवराज खत्री, विशाल बस्नेत, मोहन खड्का, केशव रोकाय, प्रितम थापा, माधव परीयार, हरी वली, विवाद पाठक, यमबहादुर बुढामगर र मनिश चौलागाईलाई अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राखेको छ । नेपालगन्ज वडा नं.२४ बस्ने प्रकाश सिंह ढकालको छोरा २२ वर्षिय सोहनसिंह ढकाल र २३ वर्षिय दिपेन्द्र सिंह फरार रहेको प्रहरीले जनाएको छ । अदालतले दिपक केसी भन्ने एकजना थप मुद्दामा जोडिएको जनाएको छ । यसअघि प्रहरीले कहिंकतै नाम नलिएका दिपक केसी मुद्दामा कसरी जोडिए भन्ने बारे अदालतले पनि विस्तृत बताउन चाहेन । नेपालगन्ज वडा नं.१६ स्थित ज्योति सिम्ताली होटलमा रहेको गाडीको काउन्टरको सम्पर्क कार्यालयमा छलफल गर्ने बहानामा नेपालगन्ज ८ बस्ने मृतक चेतन मानन्धर लगायतका ब्यक्तिहरुलाई बोलाई रिगल भन्ने योग ढकाल समेतका ब्यक्तिहरुले अषाढ २८ गते दिउँसो ३ बजेको समयमा मानन्धरलाई धारिलो हतियार (खुडा) प्रहार गरी हत्या गरेको प्रहरी प्रतिवेदनले देखाएको छ ।
0 comments:
Post a Comment