Friday, August 7, 2015

दलहरुले ‘मौका परीक्षा’का लागि समय मागे


२२ साउन, काठमाडौं । प्रदेशहरुको सीमांकनका लागि प्रयासरत प्रमुख दलहरु शुक्रबार पनि सहमतिमा पुग्न सकेनन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक पटक पटक सारेर उच्चस्तरीय समितिमा छलफल भएको थियो । तर, सहमति हुनुको साटो परम्पर विरोधी समूह बन्दा सीमांकन विवाद जटिल बन्दै गएको छ । सहमति हुन नसकेपछि सम्वाद समितिको बैठक साँझ ७ बजे बसेको थियो । बैठकमा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले अझै सहमति नभएको बताए ।

‘टुकी/लालटिन नै बालेर रातभरी पढ्दा पनि परीक्षामा राम्रो गर्न सकेन भने मूल्यांकन हुन सक्दैन’ दलहरुले जति सुकै प्रयास गरेपनि सहमति नभएको भन्दै भट्टराईले बैठकमा भने-‘मौका परीक्षाका लागि भोलि १ बजेसम्मको समय दिन आग्रह गर्छु ।’ भट्टराईको प्रस्ताव अनुसार सम्वाद समितिको बैठक शनिबार १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्वाद समितिका सभापति डा. भट्टराईले आज रातभर सहमतिको प्रयास हुने जानकारी दिएका छन् । दलहरुबीच सहमति हुन नसक्दा शुक्रबार ३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक सूचना टाँसेर शनिबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

0 comments:

Post a Comment