Saturday, August 15, 2015

के अमेरिकामा भाँडा माझ्नै पर्छ र?



जब अमेरिकाको लागि भिसा लाग्छ तब नेपालमा दुई प्रकारले कुरा काटछन् ‘ए फ्लानो त अमेरिका उडने भो–भाग्य चम्कियो अब’ अर्को थरीले भन्छन्, ‘अब भाँडा माझ्ने भो अमेरिकामा।’

मान्छेले जसरी कुरा काटे पनि आखिर यी दुबै कुराहरु केहि हदसम्म सत्य हुन्, तर सम्पूर्ण रुपमा सत्य भने दुबै होइनन्। पहिलो सत्य त के हो भने ‍अमेरिका आउनासाथ भाग्य चम्किने एउटा सपना सत्य हो। अर्थात भनौ अमेरिका आउनु अगाडि कल्पना गरिने सत्य हो।

जब अमेरिकामा पाइला टेकिन्छ, तब दुःखका दिनहरु शुरु हुन्छन्। बस्ने बन्दोबस्तदेखि काम अनि त्यसपछि रात दिन काम–काम–काम। यहाँ छिर्नासाथ खर्चका बाटाहरु शुरु हुन थाल्छन्, कोठा भाडा तिर्नै पर्‍यो, खानै पर्‍यो। आखिर यो सम्पूर्ण हुने खर्च कमाउनै पर्‍यो। अनि नेपालमा ठाँटा बाँठसित बसेका व्यक्तित्व, सबैका नमस्कार  खाँदै हिँडेको स्वाभिमान एकैचोटि गर्ल्याम गुर्लुम ढल्छन्, अनि आफ्नै अगाडि आकाश खसेको भान् हुन्छ।

धेरै मनले आफूलाई धिर्क्काछ, तर पनि फर्केर जान पनि सक्दैन किनकी सारा समाजको लागि ऊ अमेरिकामा छ र अमेरिकामा हुनुमा एउटा नाम छ।

अब कुरा गरौ भाँडा माझ्ने बार। के अमेरिका झरेपछि भाँडा माझ्नै पर्छ त? पर्दैन।  यो नेपालबाट गरिने एउटा सामान्य कल्पना हो। साधारण भन्दा साधारण यहाँ काम र्क्लकबाट शुरू हुन्छ ग्यास स्टेश्नमा। यो भाँडा माझ्ने काम होइन्। दोस्रो कुरा भाँडा माझ्ने भनेर अर्कालाई होंच्याउने गरी भनेको शब्द हो। जुन शब्दले त्यो भन्ने मान्छेको मानसिकता कति दरिद्र छ भन्ने कुरा बुझनु पर्छ। यहि मानसिकताको कारण दिन प्रतिदिन हामी दरिद्र बन्दै गई रहेको छौ। देश हरेक दिन दरिद्र बन्दै गई रहेको छ, जुन अत्यन्तै दुःख लाग्दो कुरा हो।

हामी आफ्नो देशमा सिन्को न भाँच्ने तर मरूभूमिमा गएर  चौबिसै घण्टा प्राणको आहती दिएर काम गरि रहेका हुन्छौ। आखिर किन त? किनकी समाजले घरमा बसेर हलो जोत्ने छोरालाई बकलण्ठु ठान्छन् नकमाउने ठान्छ र विदेशमा जस्तो दुःख परेपनि राम्रो ठान्छन्। हो यसैको फल हो आजका हाम्रा युवाहरू पलायन हुनुको बाध्यता, यो हो समाजले सृजना गरेको विकृत रुप। अमेरिकाका जस्तो देशका  जनता र हामी  नेपालीमा यहि फरक छ–अमेरिकन सोच्छन् म बिग्रे समाज बिर्गन्छ–म सप्रे समाज  राम्रो हुन्छ र देश राम्रो हुन्छ। तर हामी खाली नेताहरुलाई दोष दिन्छौ, नेतालाई गाली गर्छौ। आफ्रनै घर अगाडि फोहोर गर्छौ  र सफा गरिदिएन  भनेर सरकारलाई गाली गर्छौ। यो प्रवृतिले हामी  कहिल्यै उभो लागिदैन।

नेपालमा जिन्दगीभर सिकेका र गर्दै आएका धेरै जसो पेशा काम लाग्दैनन्। काम लागेपनि बहुत कम काम लाग्छन् र सम्पूर्ण रुपमा जिरोबाट सुरू गर्नुपर्छ। हो, अमेरिकामा जिन्दगी जिरोबाट शुरु हुन्छ। त्यसो भए के अमेरिका झर्ने सबैले साना तिना काममा मात्रै जिन्दगी गुजार्ने हो त? गतिला जागीरहरु पाइन्नन्? यस्को सजिलो उत्तर हो–पाइन्छन्  प्रशस्तै छन, तर हामीहरुलाई  कहाँ जाने, के गर्ने कसलाई सम्पर्क गर्ने भन्ने कुरा थाहा हुदैन  र हामी अल्मलीइ रहेका हुन्छौ।  यस्ता सीपहरु सिकीसकेपछि हाम्रो प्रतिबद्धता र थोरै समय व्यवस्थापन चाहिन्छ। हामी धेरै जसो ‘घण्टा हान्ने’ कामहरुमा  रुमलिई रहेका हुन्छौ। घण्टा हान्नु हाम्रो बाध्यता पनि हो र ता पनि थोरै व्यवस्थापन  गर्न सकेको खण्डमा थुपै राम्रा काम र सीप सिक्ने अवसरहरु छन्। सीप सिकाउने संस्थाहरु छन् जस्ले ३ महिना देखि १ बर्ष भित्र राम्रो सीपका तालिमहरुमा पुर्णता दिन्छन् र राम्रो काम गर्न सकिन्छ। जिन्दगीका हरेक पल  आखिर हामी हिम्मत र विश्वासमा जिएका हुन्छौं।

अलिकति हिम्मत निकाल्यो भने र समय व्यवस्थापन  गर्न सक्यो भने जिन्दगी जिउने  एउटा सजिलो बाटो बन्न सक्छ। अमेरिकामा अहिले खुसीको खबर के छ भने नेपालीहरु कम्प्युटरको काममा अगाडि बढेका छन्। हुन त भारतीयको तुलनामा  त्यो संख्या निकै नगन्य मात्रामा छ।  तर अब नेपालीहरु पनि पहिलेको तुलनामा संख्यात्मक रुपमा अलि माथि आईसकेका छन् र यो रफ्तार  हरेक दिन बढदै छ।
कतिपय ठाउँमा नेपालीले पनि संस्थाहरु खोलेर तालिम दिएका छन् र काममा लगाएका छन्-यो खुसीको कुरा हो।

मैले देखेको कुरा यदि घण्टा हान्ने कामबाट मुक्ति चाहानु हुन्छ भने यी कुराहरु गर्नुपर्ने हुन्छ–अंग्रेजी राम्रो बनाउने (सिक्नका लागि कतिपय निःशूल्क अंग्रेजी सिक्ने ठाउँ छन् तर पैसै तिरेर भएपनि सिक्ने हिम्मत राख्नुस्। कम्तिमा पनि ६ महिनादेखि १ वर्षसम्म खर्चपर्च जुटाई राख्ने वा श्रीमान, श्रीमति मध्ये एक जनाले घर धान्ने  एकजनाले तालिम लिने गर्दा सजिलो पर्छ।

अन्तमा अवसरहरुको स्वर्ग मानिने देशमा सबै कामहरुको सम्मान हुन्छ। कामको आधारमा कसैले कसैलाई  होंच्चाउन पाउँदैन र सक्दैन। वास्विक समानता यो देशमा देखिन्छ।‘भाँडा माझ्नेहरु’ वास्तवमा ठूला ठूला व्यवसायका मालिक बनेका छन्।  यसर्थ चाहे भाँडा माझोस वा कोहि अमेरिकाको बैज्ञानिक नै किन नबनोस्, समान इज्जतका साथ मालिक बन्न सक्ने देश हो यो। यसैले आउनोस आ–आफ्नो सपना साकार पार्ने तर्फ लागौ र एक आपसमा पेशा प्रति सम्मान गरी बाँचौं।
(लेखक पेशाले कम्प्युटर इन्जिनीयर हुन्)

0 comments:

Post a Comment