Saturday, August 29, 2015

टिकापुर ह्त्याकाण्डको पछाडि कारण के?


मैले फायर खोलेँ,तपाईँहरू पनि खोल्नुहोस्, अब आदेश पर्खिराख्नुपर्दैन।’थरूहट/थारूवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले गत सोमबार दिउँसो दिउँसो साढे २ बजेतिर टीकापुर नगरपालिका शंकरापुरमा प्रहरीमाथि घेराबन्दी गरेर आक्रमण सुरू गरेपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेले आदेश दिए।
आदेशमुताविक उनीसँग  रहेका प्रहरीले एसएलआर खोले। एक राउन्ड हावामा  गोली चलाए। दोस्रो पटक एसएलआरको गोली पड्कदै पड्किएन त्यसै बन्द भयो। प्रदर्शनकारीको घेराबन्दीमा परेको प्रहरी टोलीसँग थप हतियार थिएन। उनले सँगै परिचालित सशस्त्रलाई फायर खोल्न अनुरोध गरे तर हतियार सुसज्जीत उनीहरूले उनको आदेश मानेनन्। त्यतीबेलासम्म सँगै गएका सशस्त्रका एसपी  लक्ष्मण सिंह भने पछि हटिसकेका थिए।
आन्दोलनकारीले प्रहरीलाई घेरबन्दी गरेर लखेटी लखेटी एसएसपी न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे। यति ठूलो मानविय क्षतिको पछाडि के कारण थियो त?, टीकापुरबाट नागरिकाका लागि विश्वमणि, दिलबहादुर र योगेशको खबर आजको नागरिकमा छापिएको छ।


स्थानीय प्रत्यक्षदर्शी भन्छन्- प्रहरीसँग हतियार नहुनु, विशाल जुलुस नियन्त्रणका लागि न्यून संख्यामा सुरक्षाकर्मी हुनु र सहयोगी सशस्त्र प्रहरीले आदेश छैन भन्दै हतायार चलाउन पन्छनु। त्यसदिन टीकापुरमा परिचालित प्रहरीसँग एक थान मात्र एसएलआर थियो। त्यही पनि नपड्किएपछि न्यषौपाने निरूपाय भएका थिए। 'सापले फायर खोल्ने आदेश दिनुभो, हावामा एक गोली चल्यो, त्यसपछि पड्कँदै पड्केन,' एसएसपी न्यौपानेका अंगरक्षक मानबहादुर बुढामगरले भने, 'त्यसपछि सापले सशस्त्रका जवानलाई फायर खोल्न भन्नुभो, उनीहरू मानेनन्।'
चारैतिरबाट आफूमाथि आक्रमण हुन थालेपछि न्यौपाने पछि हट्न थाले। 'करिब २ सय मिटर भाग्दै पछाडि हटेपछि चोट र थकानले लखतरान भइसकेका सापले म हिँड्न सक्तिनँ भन्नुभएपछि म एउटा घरभित्र लुकाएर भागेको हुँ,' मानबहादुरले त्यस दिनको घटना सम्भिए, 'त्यहाँबाट पनि थुतेर निर्मम तरिकाले मारेछन्।'

उनका अनुसार न्यौपानेलाई स्थानीय सीता बर्माको घरबाट थुतेर निर्मम रुपमा भाला, ढुंगा हानिरहँदा पनि सशस्त्रले गोली चलाएन। 'सशस्त्रले गोली चलाएको भए आक्रमणकारी तितरबितर हुन्थे, घाइते अवस्थामा सापको उद्धार गर्न सकिन्थ्यो।'
प्रत्यक्षदर्शीका अनुसार थरुहट/थारुवान आन्दोलनकारी सशस्त्रबाट गोली चल्दैन भन्ने पूर्वजानकारजस्ता देखिन्थे। एक प्रत्यक्षदर्शीका अनुसार एसएसपीको हत्यासँगै सशस्त्र एसपीका अंगरक्षक रामबिहारी चौधरी, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको हत्या हुँदासमेत सशस्त्रका जवान गोली चलाउने आदेश नपाएर अन्योलग्रस्त देखिन्थे।

'मेरै नजिक एउटा प्रहरीलाई मारिसकेका थिए, तीन जना सशस्त्र प्रहरीका घाइते भएर त्यहीँबाट फर्कंदै थिए,' एक जना महिलाले भनिन्, 'मान्छे मार्दासम्म किन गोली हान्नुभएन भनेर सोधे, उनीहरू आदेश छैन, के गर्ने भन्दै थिए।'
स्थानीयका अनुसार हत्या आक्रमण नेतृत्व गर्नेहरू करिब १५/२० जना थिए। हेलमेट र नकाब लगाएका, खाइलाग्दा जिउडालका तिनले हाफ पाइन्ट र टिसर्ट लगाएका थिए। नेपाली र थारू दुवै भाषामा उनीहरूले आक्रमणमा संलग्न ४/५ सय युवालाई निर्देशन दिइरहेका थिए।

0 comments:

Post a Comment