काठमाडौ, श्रावण २० - नेपाली फिल्मको सबभन्दा चल्तीको हिरो बनिसकेपछि निखिल उप्रेती केही वर्षअघि एकाएक हराए । अहिले उनी फेरि फर्किएर आएका छन्– ‘भैरव’ मार्फत् । निखिलले नै लेखेको, निर्माण, निर्देशन र अभिनय गरेको यो फिल्म भदौ ११ गते प्रदर्शनमा आउँदैछ । निखिलसँग गरिएको क़कुराकानी :
‘भैरव’लाई ‘रेसम फिलिली’जस्तो चर्चित फिल्मसँग एकैदिन रिलिज गर्दा घाटा लाग्दैन ?
घाटा लाग्छ । अलिकति खल्लो पनि हुन्छ । मैले नजुधाउँ भनेको हुँ । हामीले मिटिङ पनि गऱ्यौं तर उहाँहरु रिलिज मिति सार्न तयार हुनुभएन ।
त्यस्तै भए त तपाईंले पनि सारे हुन्थ्यो नि ?
हाम्रो त नयाँ फिल्म हो, पहिले नै मिति तोकिएको थियो । मैले जुधाएको होइन, मैले पहिले नै भदौ ११ भनेपछि उहाँहरु पनि त्यही मितिमा आउनु भएको हो । हाम्रो फिल्ममा १ करोडभन्दा बढी खर्च भएको छ । त्यत्रो बजेटको फिल्मलाई म मिति सारेर अर्को रिस्क लिन सक्दिनँ ।
यो फिल्मको मुख्य विशेषता के छ ?
यसको विषय नै विशेषता हो । नेपाल भारत बोर्डरको कथा यसमा छ । गलत नेतालाई भोट दिएका कारण प्रहरी प्रशासन कसरी अप्ठ्यारोमा पर्छ भन्ने यसको कथा हो । हरेक नेताका भाषण सुन्यो भने केही कुरा स्पष्ट बुझिदैन । त्यो अस्पष्टता नेताहरुको भिजनमा नै छ र यसको असर सबैलाई परेको छ ।
हिरोको रुपमा तपाईंले नेपाली फिल्मको एक्सनमा परिवर्तन ल्याउनु भएको थियो । निर्देशनमा के ल्याउनुभएको छ ?
खासमा म हिरो हुनु एउटा घटना थियो, निर्देशक त म पहिल्यै थिएँ । ‘पिंजडा’मा हिरो भएर आउनुभन्दा अगाडि नै म मुम्बईमा सहायक निर्देशक थिएँ । थुप्रै फिल्महरुमा मैले निर्देशन विभागमा बसेर काम गरेको थिएँ र मेरो योजना पनि निर्देशक बन्ने नै थियो । ‘पिंजडा’मा दर्शकले मलाई मन पराउनु भयो र म हिरो नै बनें । अहिले बल्ल निर्देशकका रुपमा आएको छु ।
मैले यसमा लुकमा बढी काम गरेको छु । फिल्मको लुकलाई विदेशी फिल्मको स्तरको बनाउने प्रयास गरेको छु । विषयवस्तु, ग्राफिक्स, एक्सन, लुक र प्रस्तुतिमा ‘भैरव’ विशेष हुनेछ । निर्देशकका रुपमा यो मेरो पहिलो फिल्म हो । नेपालजस्तो उद्योगमा निर्देशकले प्रोडक्सन म्यानेजरको जस्तो काम गर्नुपर्छ । यसैले म आगामि फिल्ममा झन् धेरै नयाँ कुरा ल्याउने प्रयास गर्नेछु ।
फिल्मको प्रोमोसनमा हिरोइन अनु शाहलाई माइनस गर्नुभयो भन्ने समाचार आएको छ नि ?
आफ्नै फिल्मको हिरोइनलाई माइनस गरेर मलाई के फाइदा हुन्छ र ? मेरो शीर्ष भूमिका भएकाले मेरो कुरा बढी भयो होला । म यसको निर्माता र निर्देशक पनि हुँ । फिल्ममा मुरलीधर र जयकिसन बस्नेत पनि छन् । मेनुका प्रधानको आइटम डान्स छ । उनीहरुको पनि खासै प्रचार भएको छैन । यो मैले चाहेर गरेको होइन ।
0 comments:
Post a Comment