गीत हेरेको केही दिनपछि फेसबुक टाइमलाइनमा एउटा लिंक भेटेँ- ज्योतिको अन्तर्वार्ता। शीर्षक थियो- ‘आरोप लगाउनेलाई ज्योति मगरको जवाफः जो आदर्शका कुरा गर्छन्, सबभन्दा ढोँगी तिनै हुन्’। जल्दाबल्दो विषय भएका कारण उक्त अन्तर्वार्ता नहेरी रहन सकिनँ। ज्योति मगरलाई लक्षित गरेर रामप्रसाद खनालको अभिव्यक्तिपछि ज्योतिले छोरीबुहरीको कुरा छाडेर कसरी प्रतिकार गर्लिन् भनेर जान्न मन लागेको थियो । उत्तर त्यहाँ भेटिन्छ कि भनेर सरासर अन्तरवार्ता पढ्दै गएँ।
उनको एउटा तर्कले ध्यान खिच्योः यो भन्दा अघिको तीजको गीत ‘टिपन सकिन खाइन बरिलै’ मेरा आमाहरुको पालमा गाउने गीत हो। त्यसरी नै गाएको छु, भेषभुषा पनि परम्परागत नै छन्। खै त त्यसको चर्चा गरेको? अपेक्षा चाहिँ ढाडे बिरालोको गर्ने, अनि गाली पनि गर्ने? एकपटक सोच्नुपर्यो उहाँहरुले आफूलाई गाली गर्या कि मलाई?
यति धेरै आलोचित ‘मोडल कम गायिका’ ले आफ्नै तिजको गीतको उदाहरण दिए पछि कहिल्यै शब्दै नसुनेको गीत नहेरी रहन सकिनँ। युट्युबमा सर्ज गरेँ। गीत ज्योति मगर र प्रिती आलेको स्वरमा सजिएको रहेछ र अभिनय पनि उनीहरुको नै।
तर अचम्म तलदेखि छोटो लुगामा रातै भएर सुन्दा पनि कस्तो कस्तो लाग्ने गीतमा अभिनय गरेकी ज्योति मगरको यो अभिनय र गीत दुबै भिन्न थियो। हरियो सारी र रातो चोलोमा सजिएर ज्योति मगर त्यस्तो गीत गाएर नृत्य गर्दै थिइन् जुन साच्चिकै लोक गीत थियो। अनि हाउभाउ र नृत्य उक्तिकै राम्रो। नेपाली लोक गीतमा राम्रो नृत्य भएको गीत मध्ये एक होला झैं लाग्यो मलाई।
तर अचम्म त्यति राम्रो गीत जम्मा नब्बे हजारले हेरेका थिए। तर ‘घिन लाग्दो, संस्कृति बिथोल्ने, लोक गीतको मर्म मार्ने’ भनिएको गीत चाँहि यो गीत भन्दा ५ औं गुणा बेसी हेरिएको थियो।
अनि फेरि अन्तर्वार्तामा ज्यति मगरले भनेको कुरा आयोः ‘लोकसंस्कृतिमा विकृति भित्र्याएको आरोप जसजसले लगाउँछन्, उनीहरुले राम्रो कुरालाई कहिल्यै पनि ‘एप्रिसियट’ गर्न सकेनन्। राम्रो कुरालाई ‘एप्रिसिएट गर्ने भए त उहाँहरु ढाडे बिरालोजस्तो गीतमात्रै त हेर्नुहुँदैनथ्यो नि। उहाँहरुले मेरो ‘उही मुलाको चाना’ हेर्नुहुन्थ्यो, ‘मायासँग’ भन्ने एल्बम हेर्नुहुन्थ्यो। उही मुलाको चानाले मलाई ज्योति मगर बनाएको हो। जसले अहिले ‘ढाडे बिरालो’ को आलोचना गर्नुभएको छ, उहाँहरुले हिजो ‘उही मुलाको चाना’ लाई ‘एप्रिसिएट’ गर्नुभयो त?’
एउटा प्रश्न दिमागमा आयो- ज्योति मगर गलत हुन् वा हाम्रो समाजको चरित्र? भन्छन् लोकगीत लोकको गीत हो यानेकी समाजको गीत । उसोभए लोकगीत समाजको विचार, चरित्र र कृयाकलापबाट सिर्जना हुन्छ होला। अनि समाजको परिवर्तनसँगै लोक गीतको पनि स्वरुप पनि फेरिँदै जान्छ होला। समाज चलायमान छ र त पहिलेका लोक गीत र अहिलेका लोक गीतमा भिन्नता आएको छ। सायद ज्योतिले अभिनय गरेको गीत पनि त्यही भिन्नताको एउटा उदाहरण हो।
नत्र यी र यस्ता गीतहरु ‘भ्याक्युम’ मा रहन त सक्दैनन् । जुनसुकै सिर्जनाका पनि कुनै न कुनै सिजर्नास्थल हुन्छन् र प्रेरणाका स्रोत पनि। कसैले भन्ला- त्यत्तिकै हावामा हाम्रो समाजलाई नै सिर्जनास्थल र प्रेरणाको स्रोत भन्न सकिन्छ भनेर। तर युट्युबमा उक्त भिडियो हेर्ने ६ लाख संख्या के हो त? अब त्यसमा भएका नकारात्मक टिप्पणीको कुरा आयो। यौन र अश्लीलताको विषयमा मान्छे स्वभाविक रुपमा नकारात्मक बन्दिन्छन्। तर भारतमा पोर्न वेबसाइटमा रोक लगाउन खोज्दाको जल्दोबल्दो उदाहरण भने अलि फरक छ।
अहिलेको अवस्थामा लोक गीत नेपाली संगीत क्षेत्रको मुख्य बजार हो। यस बिचमा गीत निकालेपछि बजारमा कसरी चल्ने र चलाउने भन्न ध्याउन्न हरेर कलाकारलाई हुन्छ नै। सायद यही कुरा ‘ढाडे बिरालो’ गाउने गायकगायिका, रचनाकार, संगीतकारदेखि लिएर सबैलाई थाहा थियो। उनीहरुलाई राम्रोसँग थाहा थियो बजारमा के चलेको छ, के चल्न सक्छ र चलाउनलाई के गर्नुपर्छ।
भूकम्प आउने बित्तिकै नेपालका कुनाकाप्चामा ‘हामी फेरि उठ्नेछौं’ भन्ने नारा लेखिएका टिसर्ट छ्यापछ्याप्ती आएका थिए। ती किन आएका थिए त? किनभने व्यापारीलाई थाहा थियो- समाज त्यो चाहान्छ र मान्छेले त्यही किन्छन्। हो, त्यस्तै लाग्छ गीतको बजार पनि । नत्र किन बजारमा मायाप्रेमका गीत नै धेरै हुनछन्। किनकी बजार त्यही चाहन्छ।
हो, ‘ढाडे बिरालो’ को कथा पनि त्यस्तै हो। यदि राम्रो भएर चलाउन सकिँदैन भने केही ‘ट्विस्ट’ नै सही भन्ने मान्यता उत्पादकमा हुन्छ। नत्र गीतको शब्ददेखि अभिनय सबैमा एकरुपता किन? किनकि बजारमा त्यही चल्छ। गीतको निर्माण युनिटले त्यही कल्पना गर्यो र बनायो। ज्योति त त्यसको एउटा सानो हिस्सा मात्र हुन् तर पनि पुरै दोष उनकै टाउकोमा छ।
गीत लेख्ने रचनाकार, संगीतकार, गाउने गायकगायिका, निर्देशकलाई किन कुनै प्रश्न गरिएन? किनकी सबैको परिकल्पनाको मुर्त रुपमा ज्योतिमा छ। उनी प्रत्यक्ष देखिन्छिन् तर अरु देखिँदैनन्। तर ज्योतिसँगै नाच्ने दुई पुरुष कलाकार त देखिन्छन्। किन कसैले उनीहरुलाई भन्दैन- नेपाली चेलीसँग त्यस्तो नाच नाँच्न तिमीहरुलाई लाज लाग्दैन?
सुरुमा ज्योति मगर र उनको रोजाइप्रति मेरो कुनै धारण थिएन। तर अहिले लाग्छ- उनी गलत छैनन् र धेरै कुरामा प्रशंसा गर्न योग्य छन्। किनभने उनले बजारलाई राम्रो बुझेकी छन्। बजारमा टिक्न चर्चा कमाउनु पर्छ र चर्चा उनलाई ‘ढाडे बिरालो’ ले दिएको छ। जसले उनलाई गाली गर्छ त्यसले उनलाई हैन समाजलाई गाली गरेको हो। लाग्छ, त्यो गाली युट्युबमा ‘ढाडे बिरालो’ हेर्ने ती ६ लाख व्यक्तिलाई हो, जसले आनन्द मानेर गीत हेर्छन् तर जाने बेलामा मुख भरी गाली दिन भ्याउँछन्। सायद गीतले भनेका ‘ढाडे बिरालो’ पनि यस्तै मान्छेहरु हुन्।
ज्योति त आफैंमा ठिक छन्। उनले समाजको माग पुरा गर्दै बजारमा टिकेकी छन् र अगाडि लिएर गएकी छन् हाम्रो संस्कृतिलाई। त्यसैले त गाएकी छन्- ‘टिप्न सकिन खाइन बरी लै’ जुन साँच्चै हाम्रा पाखापखेरामा गुन्जेका छन्, चाहे त्यसलाई युट्युबमा जम्मा ९० हजारले मात्र किन नहेरेका हुन्।
बरु अर्को प्रश्न दिमागमा आएको छ- हाम्रो सोचमा नै खोट नभए हामी किन ‘ढाडे बिरालो’ हेर्छौँ तर ‘टिपन सकिन खाइन बरी लै’ हेर्दैनौं? यदि हामीले त्यो हेर्न थाल्यौं भने त कसैले पनि ढाडे बिरालो बनाउँदैन थिए होलान् नि। यदि समाजमा त्यसको चर्चा भैदिएको भए पुनः ‘टिपन सकिन खाइन बरी लै’ जस्तै गीतहरु बन्थे होला।
ज्योति मगरलाई यदि कसैले गाली गर्ने अधिकार राख्छ भने ती हुन्- जसले ज्याति मगरको ‘टिपन सकिन खाइन बरी लै’ हेरेका छन् र साँच्चै मन पराएका छन्। सिक्काको एउटा पाटो हेरेर धारणा बनाउने ‘ढाडे बिरालो’ का बारेमा कुरा नगरौँ।
-पहिलो पोस्ट बाट
0 comments:
Post a Comment