Wednesday, August 26, 2015

सुरक्षाकर्मी हत्याको समाजद्धारा भत्र्सना




काठमाडाँै, ९ भदौ । प्रजातान्त्रिक विचार समाजले गत सोमबार कैलालीको टीकापुरमा सुरक्षाकर्मीमाथि गरिएको आततायीपूर्ण घटनाबाट मृत्यु भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलगायतका सुरक्षाकर्मीप्रति हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

समाजले आज एक विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण आन्दोलनमार्फत जनताका भावना प्रतिविम्बित गर्ने अधिकार सबैमा सुरक्षित रहेको उल्लेख गर्दै आन्दोलनका नाममा हिंसात्मक गतिविधि सञ्चालन गर्दै नेपालीबिच कायम रहेको सामाजिक सद्भाव खल्बल्याउने, नेपाली जनतालाई भड्काउने खालका गतिविधिप्रति घोर आपत्ति प्रकट गर्दै यस्ता प्रकारका घटनाको घोर भत्र्सना र निन्दा गरेको छ ।

संविधान निर्माण गर्ने क्रममा बन्द कोठामा गरिएका निर्णयहरुको उपजका रुपमा देशका विभिन्न जिल्लाहरु आक्रान्त भएका छन् , नेपालीहरु बीचमा सामाजिक सद्भाव बिगार्ने तत्वहरु हावी हुँदै गइरहेको वर्तमान परिवेशलाई सरकार एवम् सम्पूर्ण राजनीतिक दलहरुले राष्ट्र र राष्ट्रियतालाई आत्मसात् गर्दै गम्भीरतापूर्वक मनन् गर्नु जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

हिंसात्मक आन्दोलनले देशलाई विखण्डन गर्ने भएको हुनाले सबै जातजाति, भाषाभाषी, मधेसीलगायत विभिन्न धर्मावलम्बीहरुको मनोभावनाबमोजिम संविधान निर्माण गर्न सम्पूर्ण राजनीतिक दलहरुको यस समाज गम्भीर ध्यानाकर्षण गर्दछ भनिएको छ । रासस




0 comments:

Post a Comment