Saturday, August 29, 2015

गाईजात्रा मनाईंदै


काठमाडौं, भदौ १३ – आज गाईजात्रा । भाद्रकृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा पर्र्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित देशका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि दिवंगत भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ ।
गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् । किंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् ।

लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने  देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ ।
राजाले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी दिएको आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने अर्काे भनाइ पनि  छ ।
रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाईभेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् ।
काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ । यस अवसरमा हास्यकलाकारहरुले गाईजात्रा कार्यक्रम चलाउँछन् । यसवर्ष प्रज्ञा भवन कमलादीमा गाईजात्रा कार्यक्रम सुरु भएको छ ।  

0 comments:

Post a Comment