सप्तरी: बन्द अवज्ञा गरेको भन्दै सप्तरीमा बन्दकर्ताले ढुंगामुढा गर्दा बस पल्टेर १४ जना घाइते भएका छन्।
प्रहरीले सुरक्षा दिएर लैजाँदै गरेको ना ३ ख ४२६६ नम्बरको बसमा बन्दकर्ताले ढुङ्गामुढा गर्दा बस एक्कासी अनियन्त्रित भई पल्टेको यात्रुहरुले बताएका छन्।
प्रहरीले भने ढुङ्गामुढाले नभई बस आफैँ मोडमा पल्टेको जनाएको छ। दुर्घटनाबाट बसमा सवार १४ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा र गम्भीर घाइते भएकाहरुलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीका छुट्टाछुट्टै ठाउँमा मधेशी मोर्चाका कार्यकर्ताले आज बिहान दुई वटा ट्रकमा आगजनी गरेका छन्। विराटनगरबाट तरकारी लिएर काठमाडौँतर्फ जाँदै गरेको को १ ख ३३८९ नम्बरको ट्रकमा बन्दकर्ताहरुले सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेज सडकखण्डमा आगजनी गरेका हुन्। आगजनीबाट ट्रक पूर्ण रुपमा जलेको छ। प्रहरीले जनाएको छ ।
यस्तै आजै बिहान सप्तरीको पोर्ताहास्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ७३०० नम्बरको ट्रकमा समेत मोर्चाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै आगजनी गरेका छन्। मोर्चाले आह्वान गरेको बन्दबाट दिनप्रतिदिन सप्तरीको जनजीवन प्रभावित हुँदै गइरहेको छ।
सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न दिइएका छैन् भने राजमार्ग अन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा तेर्स्याएर सडक अवरुद्ध पारेका छन्। कलकारखाना, बजार, पसल, शिक्षण संस्थासमेत पूर्ण रुपमा बन्द रहेका छन्। रासस
0 comments:
Post a Comment