Wednesday, September 16, 2015

राष्ट्रपतिमा दलहरूले कसलाई अघि सार्लान् ?


काठमाडौं, ३१ भदौ । संविधानसभाबाट ३ असोजमा नयाँ संविधान जारी हुँदै छ । संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिसहित प्रधानमन्त्री परिवर्तन प्रक्रिया पनि सुरु हुनेछ । राष्ट्रपतिको उम्मेदवारको चर्चा भए पनि दलहरूबीच औपचारिक छलफल भने भइसकेको छैन । नयाँ संविधानमा गरिएको व्यवस्थाअनुसार ३ असोजमा संविधान जारी भएको बढीमा एक महिनाभित्र नयाँ राष्ट्रपति चयन हुनेछन् । असन्तुष्ट मधेसीसहितका दल आन्दोलनमा रहेकै अवस्थामा राष्ट्रपति सहमतीय आधारमा वा बहुमतीय आधारमा चुनिन्छन् भन्ने टुंगो लागेको छैन ।
तर, एमाले र एमाओवादीले भावी राष्ट्रपतिमा कुनै दाबी नगर्ने सार्वजनिक रूपमा बताउँदै आएका छन् । यस अवस्थामा राष्ट्रपति कांग्रेसले पाउने सम्भावना छ । राष्ट्रपतिको चर्चामा कांग्रेसमा हालकै राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङ तथा मानबहादुर विश्वकर्मा छन् ।

कांग्रेसभित्र हालकै राष्ट्रपति डा। रामवरण यादवलाई नै निरन्तरता दिने विषयमा छलफल हुन थालेको छ । कांग्रेसको संस्थापन र देउवा पक्ष दुवैले मान्ने भएकाले यादवकै सम्भावना रहेको कांग्रेसका एक नेताको दाबी छ । कांग्रेस सभापतिमा संस्थापनबाट कोइराला नै उठ्नुपर्ने माग र राष्ट्रपतिबाट महाधिवेशनमा कोइरालालाई सहयोग हुने अवस्थामा डा। यादव नै दोहोरिने ती नेताको भनाइ छ । मुलुकको संक्रमणकालीन अवस्था र अनुभवी पनि भएकाले डा। यादवलाई दोहोर्‍याउने मत बलियो हुने कांग्रेसका केही नेताहरूको तर्क छ ।
पाँच वर्ष पार्टी सभापति र डेढ वर्षदेखि प्रधानमन्त्री रहेका सुशील कोइराला राष्ट्रपतिका लागि इच्छुक छन् । उमेर र सक्रियताको हिसाबले पनि सुशील राष्ट्रपतिमा जान इच्छुक रहेको उनीनिकट नेताहरू बताउँछन् ।

तर, कोइराला खानदानकै नेताहरू भने सुशीललाई राष्ट्रपति बनाउन इच्छुक छैनन् । पार्टी महाधिवेशन नभएको अवस्थामा उनी राष्ट्रपति भएमा कांग्रेसमा देउवा पक्ष शक्तिशाली हुने कोइराला खानदानको बुझाइ छ ।
तर, सुशील राष्ट्रपति बने आफू सहजै पार्टी सभापति हुनसक्ने विश्वास वरिष्ठ नेता शेरबहादुर देउवाको छ । कांग्रेसले राष्ट्रपति पाउने अवस्थामा देउवाले कोइरालालाई सहयोग गर्नेछन् । ‘सभापतिजीले राष्ट्रपतिमा चाहना गर्नुभयो भने देउवाजी उहाँलाई सहयोग गर्न तयार हुनु्हुन्छ,’ देउवानिकट कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘पार्टीले राष्ट्रपति पाउने अवस्थामा स्वाभाविक रूपमा सहयोग गर्नुहुन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

0 comments:

Post a Comment