Thursday, September 17, 2015

भक्तपुरमा मुसलमान महिलाले पनि तीजको ब्रत बसे


भक्तपुर, ३० भदौ । विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन् । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् ।

देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा भक्तपुरमा भने हिन्दू धर्मका साथै अन्य धर्म मान्नेहरुले पनि धार्मिक सहिष्णुता प्रकट गर्दै तीज मनाएका थिए ।

खातुन दर्शनका लागि शिव मन्दिर नगए पनि आफ्नो श्रीमान् र परिवारका सुखका लागि तीजको व्रत बसेको बताउछिन् ।
उनले भनिन्, ‘छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँग सँगै बसेर दर खाएँ, यसवर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, धर्म र जातको नाममा देशमा कहिले राजनीति नभए हुन्थ्यो ।”

खातुनमात्रै होइन खातुनसँगै रहेका चारजना मुसलमान महिलाले पनि दर खाएर तीजको व्रत बसे । खातुन जस्तै भक्तपुर सल्लाघारीकी शारदा श्रेष्ठले पनि यसवर्ष आफ्नो श्रीमान् र परिवारको सुखको कामना गर्दै दर खाएर तीजको व्रत  बसिन ।

नेवार समुदायमा तीजको व्रत बस्ने परम्परा नभए पनि गतवर्षदेखि छिमेकी नारीसँगै आफू पनि व्रत बस्न थालेको उनले बताइन ।

उनले भनिन्, ‘हाम्रो नेवार समुदायले दर खाने, तीजको व्रत बस्ने परम्परा छैन, तर तीजको व्रत श्रीमान् र परिवारको सुख, शान्तिका लागि भन्ने थाहा पाएपछि गतवर्षदेखि नै व्रत बस्न थालियो ।’

छिमेकीले तीजको व्रतका बारेमा बताएपछि गतवर्षदेखि उनीहरुसँगै तीजको व्रत बस्दै आएकी शारदा मात्रै होइन, शारदाको परिवारमा रहेका महिलाले पनि तीजको व्रत बसेका थिए ।

भक्तपुरमा यसवर्ष बाहुन क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिक रुपमा तीज मनाएका थिए ।

0 comments:

Post a Comment