काठमाडौं: संविधान जारी हुने दिन नजिकिँदै जाँदा सरकारले राष्ट्रपति कार्यालय लगायतका क्षेत्रमा सुरक्षा संवेदनशील क्षेत्र भन्दै निषेधित क्षेत्र तोकेको छ। जिल्लाको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै यसअघि तोकिएका निषेधित क्षेत्रमा पुनरावलोकन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। यसअघि काठमाडौंमा संविधानसभा भवनको चारैतर्फ र सिंहदरबार वरपरको क्षेत्रमा मात्र निषेधित क्षेत्र तोकिएको थियो। अहिले संविधानसभा भवन, सिंहरबार क्षेत्रमा पनि निषेधित क्षेत्र थप बढाइएको छ। त्यस लगायत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, संविधानसभाका अध्यक्षको निवास लगायतको क्षेत्रमा पनि निषेधित क्षेत्र तोकिएको छ। निषेधित क्षेत्रमा धर्ता तथा जुलुस प्रदर्शन गर्न पाइँदैन। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले विज्ञप्ती जारी गरी निषेधित क्षेत्रको बारेमा जानकारी गराएका छन्। हेर्नुस् काठमाडौंको कुन कुन ठाउँ हुन् निषेधित क्षेत्र : १) राष्ट्रपतिको कार्यालय कम्पाउण्डको प्रवेशद्वारको उत्तरतर्फ ५० मिटर सम्म र दक्षिण तर्फ नेपाल प्रहरीको २ नं. गण जाने बाटो सम्म । २) उपराष्ट्रपतिको कार्यालय अगाडी कम्पाउण्ड क्षेत्र । ३) प्रधानमन्त्रीको निवास–नेपाल राष्ट्र बैंकको गेट देखि उत्तर रसियन दूतावासको पश्चिम तर्फ पानी पोखरी जाने भित्री सडक सम्म, प्रधान मन्त्री निवास १ नं. गेट हुँदै प्रधान न्यायाधीश निवास भन्दा ५० मिटर पश्चिमको क्षेत्र । ४) संविधान सभाका सभाध्यक्षको बालुवाटार स्थित निवास अगाडिको बाटो हुँदै पूर्वमा राष्ट्र बैंक अगाडिको चौबाटोको पश्चिमी किनारसम्म र पश्चिममा खुर्सानीटार जाने बाटोको उत्तरी किनार सम्म । ५) संविधान सभा भवनको दक्षिणतर्फ पूर्वी कुना र दक्षिणमा मिनभवन क्याम्पस जाने बाटोको पश्चिम कुना देखि पश्चिममा बानेश्वर चोकबाट ७५ मीटर पश्चिमको सडकसम्म सडकको पूरै भाग । ६) संविधान सभा भवनको पश्चिमतर्फ थापागाउँ जानेबाटोको दक्षिण किनारा देखि नयाँ वानेश्वर चोक सम्मको सम्पूर्ण सडक खण्ड । ७) भद्रकाली मन्दिरपूर्व तीन कुने आईल्याण्डको पूर्वी कुना देखि पूर्व सिंहदरबार मूल गेट सम्म, सिंहदरबार मूल गेट अगाडी देखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोड सम्म, सिंहदरबार मूल गेट अगाडी देखि दक्षिणतर्फ माईतीघर मण्डला सम्म, बबरमहल स्थित जिल्ला अदालत प्रवेश मार्ग देखि जिल्ला प्रशासन कार्यालय हुँदै हनुमान मन्दिर सम्म । ८) माईतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान सम्म ।
-पहिलो पोस्ट बाट
0 comments:
Post a Comment