Thursday, September 17, 2015

तारा एयरको नयाँ ट्विनअटर विमान भित्रियो


काठमाडौँ, ३१ भदौ / यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो । क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न उपयोगी हुने कम्पनीले जनाएको छ । अठार सिट क्षमताको सो विमानलाई अहिलेसम्मकै महङ्गो सात मिलियन अमेरिकी डलर (नेरु ७० करोड) फ्याक्ट्री मूल्य तिरिएको छ । बेलायती सहयोग नियोगको आर्थिक सहयोगमा विमान खरिद गरिएको बताइएको छ ।

विगत १९ वर्षदेखि उडान भर्दै आएको यति÷तारा एयरको पछिल्लो नयाँ विमानसँगै जम्मा १५ वटा विमान भएको छ । यसमध्ये तारा एयरका पाँचवटा ट्विनअटर विमानले नेपालका ग्रामीण गन्तव्य खासगरी ताप्लेजुङ, फाप्लु, मनाङ, डोल्पा, रारा, जुम्ला र सिमीकोटमा उडान भर्दै आएको छ । यति एयरले हाल देशका २९ वटा गन्तव्यमा उडान भर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र रायले जानकारी दिनुभयो । नयाँ भित्र्याएको ट्विनअटर विमानको अत्याधुनिक इन्जिन जेट विमानको जस्तै क्षमता भएकाले सुरक्षित यात्राको लागि भरपर्दो विमान भएको वरिष्ठ विमानचालक पेम्बा शेर्पाले बताउनुभयो ।

0 comments:

Post a Comment