Tuesday, September 1, 2015

के गर्दै छ टीकापुरमा सेना ?


भाद्र १६, २०७२- गत सोमबारको घटनापछि नेपाली सेना पनि टीकापुरमा खटिएको छ । सेनाले मार्छ, वित्यासै पार्छ जस्ता भ्रम पनि गाउँमा छन् । घटनालगत्तै आएको नेपाली सेनाले नेपाल प्रहरीसँग मिलेर यहाँका नागरिकको जीउधनको सुरक्षा गर्ने काम गरेको कर्णेल भुवनपूर्ण सत्यालले बताए ।

गाउँमा सेनाप्रतिको भ्रम हटाउन घरदैलोमा पर्चा बाँडेको छ । पर्चाको एकातिर नेपाली भाषा र अर्कोतिर थारू भाषाको प्रयोग गरिएको छ । सेनाले वितरण गरेको पर्चामा शान्तिसुरक्षा र सामाजिक सौहार्दलाई खलल पुर्‍याई तोडफोड, आगजनीजस्ता ध्वंसात्मक र हिंसात्मक कामका साथै कर्फ्यु आदेश उल्लंघन गरे शक्ति प्रयोग गर्ने चेतावनी छ ।

टीकापुरमा खटिएका सेनाका कर्णेल भुवनपूर्ण सत्यालले भने, ‘टीकापुरमा सुरक्षा भएन । साम्प्रदायिक द्वन्द्व भयो भनेर हामीलाई खटाइएको हो । यसका लागि हामी स्थानीयसँगको समन्वयमा काम गरिरहेका छौं ।’ कुनै समस्या, असुविधा, गुनासो भएमा सेनालाई टेलिफोनमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

पर्चा बाँडेपछि त्यसमा उल्लिखित फोनमा आफूहरूलाई परेको समस्या सुनाएपछि उनीहरूलाई सहयोग पनि गर्ने गरेको सेनाका कर्णेल भुवनपूर्ण सत्यालले बताए । उनका अनुसार लगातारको कर्फ्युका कारण मानिसहरू अस्पतालमा आएर औषधि गर्न सक्ने अवस्था भएन । सेनाको टोलीले गाउँमै पनि औषधोपचार गर्ने गरेको र अस्पताल पुर्‍याउनुपर्नेलाई गाडीमा राखेर अस्पताल पनि ल्याएको छ ।

टीकापुर नगरपालिका–९ एकतापुर शिविरकी २७ वर्षीया कल्पना चौधरीलाई ४ दिनदेखि कब्जियत भएकामा उनलाई टीकापुर अस्पताल पुर्‍याएको उनले बताए । शंकरपुरकी सुनिता टमटा टीकापुर अस्पतालमा सुत्केरी हुँदा रगत आवश्यक भएपछि सेनाका जवानले २ पिन्ट रक्तदान गरे ।

‘टीकापुर बजारमा टहरामा व्यापार गरी गुजारा गरिरहेकाहरू इलाका प्रशासन कार्यालयमार्फत हामीकहाँ आएका छन् । ५ जनाको टहरा बनाइदिने कुरा पनि हामीले गरेका छौं,’ कर्णेल सत्यालले भने । शान्ति सुरक्षाको साथसाथै सेनाप्रतिको नकारात्मक हल्लालाई कम गर्न प्रयास पनि भइरहेको सेनाका कर्णेल सत्यालले बताए । उनले भने, ‘सेनाप्रतिको त्रास र नकारात्मक धारणा हटाउन नागरिकहरूसित घुलमिल हुने काम गरिरहेका छौं ।’

‘टीकापुर घटनाका कारण यहाँका बाटाभरि सिसा फुटाइएका थिए । बाटामा जलाइएको मोटरसाइकल र टायर जलाएको कालो धुलो थियो । पुराना कुरा बिर्साउन सजिलो होस् भनेर सरसफाइ पनि गरेका छौं,’ उनले भने ।

सेनालाई टीकापुरको भौगोलिक जानकारी नभएकाले गाइडका रूपमा नेपाल प्रहरीले सहयोग गरिरहेको पनि कर्णेल सत्यालले बताए । ‘आन्तरिक द्वन्द्वका कारण सुरक्षाका लागि हामी खटिएका हौं । यहाँ बसुन्जेल विकास र शान्ति सुव्यवस्था कायम गर्ने काम गर्छौं,’ कर्णेल सत्यालले भने ।

कर्फ्यु ३ घण्टा खुला
प्रशासनले मंगलबार ३ घण्टा कर्फ्यु खुला गरेको छ । लगातारको २४ घन्टे कफर्युपछि मंगलबार ७ बजेदेखि १० बजेसम्म कफर्यु खुला गरेको छ । टीकापुर घटनाले असहज बनेको परिस्थितिमा लगाइएको कफर्यु कम गर्दै जनजीवन सामान्य बनाउने प्रयासस्वरूप कफर्यु खुला गरिएको प्रशासनले जनाएको छ ।

सोमबार २ घण्टा कफर्यु खुला गरिएकोमा मंगलबार एक घण्टा बढाएर ३ घण्टा बनाइएको छ । कफर्यु खुला गरेपछि टीकापुर बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ । कफर्यु खोलिएपछि सर्वसाधारण दैनिक आवस्यकताका सामान किन्न थालेका छन् ।

मानव अधिकार आयोगको चासो
दाङ– राष्ट्रिय मानव अधिकार आयोगको टोलीले मंगलबार जिल्लाको आन्दोलन र मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको छ ।

आयोगका सदस्य मोहना अन्सारीको टोलीले जिल्लाका मानव अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी, प्रशासन र आन्दोलनकारीसँग भेट गरी जिल्लाको अवस्थाबारे जानकारी लिएको छ ।

टोलीले घोराहीमा मानव अधिकार सञ्जालका सदस्यहरूसँग छलफल गरेको थियो । सञ्जालका संयोजक केशवकुमार शर्मा, नागरिक समाजका संयोजक टीकाराम रेग्मी, जिल्ला बारका अध्यक्ष भूपबहादुर केसी, पत्रकार महासंघका अध्यक्ष सुदीप गौतम, मावन अधिकार सञ्जालका सदस्य सुशील गौतम, चिन्तामणि पौडेल, श्रीमन न्यौपाने, विनोद केसी, मानव अधिकार एलाइन्सका अध्यक्ष विकिरण गौतमलगायतले आन्दोलन र दंगाग्रस्त क्षेत्र घोषणाका कारण बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको बताएका थिए । उनीहरूले आयोगलाई मानवअधिकार हननका घटनामा गम्भीर चासो दिन आग्रह गरेका थिए ।

आयोगकी सदस्य अन्सारीले जबाफदेहिताको अभावमा अराजकता मौलाइरहेको बताइन् । ‘कसैमा जबाफदेहिता छैन । सामाजिक सद्भाव खल्बल्याउने अभिव्यक्तिले समस्या बढिरहेको छ,’ उनले भनिन् ।

-कान्तिपुर बाट

0 comments:

Post a Comment