काठमाडौँ, ३१ भदौ / नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भोलि ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ । संस्कृतिविद् हरिराम जोशीका अनुसार तीज पर्वसँग जोडिएको यस व्रतमा विशेषगरी ऋषेश्वर महादेवको पूजा गर्ने चलन रहेको छ । यस दिन टिस्टुङ, टेकु, कोटेश्वरलगायतका ऋषेश्वर महादेव मन्दिरमा विशेष मेला लाग्ने उहाँले जानकारी गराउनुभयो । ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन छ ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment