Tuesday, September 1, 2015

झिनो उपाधि आशामा नेपाल


भाद्र १६, २०७२- नेपाल एसीसी यू–१९ प्रिमियर क्रिकेटमा शीर्ष ३ मा रहने पक्का भएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार कुवेतलाई ८३ रनले पराजित गर्‍यो । चार खेलमा नेपालको यो तेस्रो विजय हो ।

अफगानिस्तान सबै चार खेल जिती शीर्ष स्थानमा छ । नेपाल र मलेसियाको समान ६ अंक छ । नेपाल राम्रो रन रेटका कारण दोस्रो स्थानमा छ । कुवेत र यूएईले १–१ खेल जितेका छन् । साउदी अरेबियाले सबै चार खेल हारेको छ । मलेसिया क्रिकेटका अनुसार प्रतियोगिताका शीर्ष तीन टोली आउँदो यू–१९ एसिया कपका लागि छनोट हुने प्रावधान अनुरूप अफगानिस्तान, नेपाल र मलेसिया सो प्रतियोगिताका लागि छानिएका छन् ।

अफगानिस्तानले बिहीबार हुने अन्तिम खेलमा आयोजक मलेसियालाई पराजित गरेमा उपाधि रक्षा गर्नेछ । तर मलेसियाले विजय हात पारेमा घरेलु टोली र नेपालको उपाधि जित्ने झिनो आशा ब्युँतने छ । नेपालले उपाधि जित्नका लागि अन्तिम खेलमा साउदी अरेबियालाई पराजित गर्नुका साथै अफगानिस्तान हार्नु पनि पर्नेछ । तर अफगानिस्तानभन्दा नेपाल रन रेटमा धेरै पछाडि छ । अफगानिस्तानसँग दोस्रो खेलमा नेपालले १० विकेटको लज्जास्पद पराजय भोगेको थियो ।

क्वालालम्पुरस्थित किनरारा ओवल मैदानमा टस जितेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ५० रन बनायो । दीपेन्द्र ऐरी र सौरभ खनालले अर्धशतक बनाउँदै नेपालको ६६–६ को दयनीय स्थितिलाई सुधारेका थिए । जवाफमा आएको कुवेतले ९ विकेट गुमाई १ सय ६७ रनमात्र बनाउन सक्यो ।

कुवेती बलर मोहम्मद फौजीले ३ र शाहरूख कुडोजले २ विकेट लिनेक्रममा नेपालबाट आशीष धामी ४, शंकर राना ८, आरिफ शेख शून्य, सुनील धमला ११, राजवीर सिंह शून्य रनमा आउट भइसकेका थिए । कप्तान राजु रिजाल १५ रन बनाई आउट भएपछि नेपाल थप दबाबमा परेको थियो ।

तर दीपेन्द्र र सौरभले शतकीय साझेदारी गरी नेपाललाई सुरक्षित स्थानमा पुर्‍याए । दीपेन्द्रले ८५ र सौरभले ७३ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो पहिलो अर्धशतक हो । ९१ बल खेलेका म्यान अफ द म्याच उनले ९ चौका र २ छक्का प्रहार गरे । अर्धशतक बनाएपछि उनले आक्रामक खेल्न लागेका थिए । ४२औं ओभरमा उनी रनआउट भएका थिए ।

सौरभसँग उनले सातौं विकेटमा १ सय ३० रनको साझेदारी गरे । गत वर्ष नोभेम्बरमा नेपालले कुवेतमै कुवेतविरुद्ध ३ सय २५ रन बनाउँदा सौरभले नटआउट ६४ रन बनाएका थिए । कुवेतविरुद्धको त्यही फर्मलाई उनले मंगलबार पनि निरन्तरता दिए । १ सय १५ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । नेपाली इनिङ्सको दोस्रो अन्तिम बलमा उनी आउट भए । प्रेम तामाङले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरी नेपालको सानदार अन्त गरे । २७ बलको सामना गरेका प्रेम १ चौका र १ छक्का प्रहार गरी २३ रनमा नटआउट रहे ।

कुवेतले कुनै पनि समय खेल जित्ने लक्ष्य देखाएन् । तर तेस्रो नम्बरका ब्याट्सम्यान मोहम्मद मिजान अलीले नटआउट ८४ रन बनाउनु कुवेतको ठूलो सम्मान थियो । १ सय १२ बल खेली उनले ६ चौका र ३ छक्का प्रहार गरे । ओपनर मुस्ताक अहमदले २२ तथा एलन थोमस र बिलाल ताहिरले समान १३ रन बनाए ।

नेपालका सुशील कँडेल र प्रेमले २–२ विकेट लिए । बायाँ हाते स्पिनर सुशीलले १० ओभरमा २ मेडन राख्दै १६ रन खर्चे । उनले प्रतियोगितामा कुल १२ मेडन फालिसकेका छन् । प्रेमले ९ ओभरमा ३६ रन खर्चे । आरिफ र दीपेन्द्रले १–१ विकेट लिए ।

0 comments:

Post a Comment