डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका पाँचजनासहित छजनाको मृत्यु भएको छ।
पहिरोमा परी मृत्यु हुनेमा डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उनका छोराहरु १२ वर्षीय हर्क विष्ट र पाँच वर्षीय वीरेन्द्र विष्ट, छोरीहरु आठ वर्षीया सरु विष्ट र आठ महिनाकी भावना विष्टको मृत्यु भएको हो। पहिरोमा परेर डम्बरबहादुर घाइते भएका छन् । यस्तै, डौड गाविसकै वडा नं १ मा पहिरोले घर पुरिँदा ७५ वर्षीया चम्पादेवी सिंहको मृत्यु भएको डौड प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नवराज अवस्थीले जानकारी दिए। “लगातार पानी परिरहेको छ, उद्धारमा कठिनाइ भइरहेको छ” उनले भने। डौड गाविसभरि विभिन्न ठाउँमा लगातार पहिरो गइरहेको छ। पहिरोबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन नसकेको इञ्चार्ज अवस्थीले बताए। “गाउँ वरपरका खोलामा बाढी आएका कारण प्रहरी टोली घटनास्थलमा पुग्न सकिरहेको छैन” उनले भने। अहिले उक्त क्षेत्रमा टेलिफोन नेटवर्कसमेत अवरुद्ध छ।
0 comments:
Post a Comment