Tuesday, September 1, 2015

चार घन्टा लगातार झडप


जनकपुर-बन्दकर्ता र प्रहरीबीच झडप हुँदा मंगलबार दिनभर जनकपुर तनाबग्रस्त बनेको छ। स्वायत्त मधेस प्रदेश माग गर्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताको मोटरसाइकल जुलुस प्रहरीले छेकेपछि चार घन्टासम्म निरन्तर झडप भएको हो।





भिड नियन्त्रणमा लिन प्रहरीले रबरको गोली हान्दा दुई जना घाइते भएका छन्। धनुषा, गोपालपुरका जितकुमार साहको छाती र पोखरभिन्डाका सुजित साहको कन्चटमा गोली लागेको छ। जितकुमारको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सुजितलाई चिकित्सकले धरान लैजान रेफर गरेको अस्पतालस्रोतले जनायो।

प्रहरी तर्फबाट हानिएको ढंुगाले लागेर सद्भावना पार्टीकी महिला महासचिव विभा ठाकुर, रामनारायण यादव, राजुकुमार गुप्ताको टाउको फुटेको छ। उनीहरूको अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

भानुचोकबाट रेलवे स्टेसनतर्फ लागेको जुलुुस प्रहरीले छेकेपछि प्रदर्शनकारीले मोर्चा सम्बद्ध दलका जिल्ला अध्यक्षहरूकै अगुवाइमा रेलवेस्थित प्रहरीचौकी घेराउ गरेका थिए। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न खोजेपछि झडप सुरु भएको थियो।

करिब ४ बजे भानुचोकमा प्रदर्शनकारी थपिएर नियन्त्रण गर्न हम्मे परेपछि प्रहरीले अश्रुग्यास, हवाई फायर र रबरका गोली हानेको थियो। यस क्रममा तीन राउन्ड रबर गोली, ३५ राउन्ड हवाई फायर र ६१ सेल अश्रुग्यास प्रहार भएको प्रहरीस्रोतले जनायो।

यसैबीच, आन्दोलन अनुगमन गरिरहेका राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका अधिकृत अजित ठाकुर, एड्भोकेसी फोरमका जनकपुर प्रमुख राजकुमार महासेठ, थर्ड एलायन्सका वीरेन्द्र कर्ण, अभ्युत्थान नेपालका सहसंयोजक नागेन्द्र साह, मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष दीपेन्द्र दास र ओरेक नेपालका देव महतोलाई प्रहरीले घेरा हाली कुटपिट गरेको इन्सेक प्रतिनिधि विनोद महराले जनाएका छन्। घाइते नागेन्द्र साहको जनकपुर सिटी अस्पतालमा भइरहेको छ। आन्दोलनकारीले टिभी टुडेको क्यामेरा फुटाइदिएका छन् भने टुडेकै संवाददाता काशीन्द्र शर्मालाई प्रहरीले कुटेको छ।

सभासदको घरमा आगजनी

प्रदर्शनकारीले धनुषा २ का निर्वाचित सभासद एवं कांग्रेस नेता रामकृष्ण यादवको भानुचोकस्थित घरमा आगजनी गरेको छ। घरमा पेट्रोल छर्केर बलिरहेको टायर फालेर लगाएको आगो समयमै स्थानीयले नियन्त्रणमा लिएकाले धेरै क्षति हुन नपाएको प्रहरी निरीक्षक जयनारायण यादवले बताए।

प्रहरीले भानु चोकस्थित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का धनुषा अध्यक्ष उमाशंकर अडगरियाको घरमा तोडफोड गरेको प्रदर्शनकारीले आरोप लगाएका छन्। आन्दोलनकारी पार्टीका जिल्ला अध्यक्षहरू बसेर छलफल गरिरहेका बेला प्रहरीले घरभित्रै पसेर भान्छाको सामान भुइँमा फालिदिएको र ज६प २ र ज४प ३६३८ नम्बरका मोटरसाइकल तोडफोड गरिदिएको अडगरियाले बताए।

झडपमा आधा दर्जन घाइते

प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच महोत्तरीको जलेश्वर–५ स्थित महेन्द्र चोकमा झडप हुँदा आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्। जलेश्वर–५ मा चियापसल सञ्चालन गर्दै आएकी सीता उपाध्यायको टाउको फुटेको छ।

झडप मंगलबार साँझसम्मै निरन्तर थियो। भीड नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड रबरको गोली तथा पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। बन्दकर्ताले महेन्द्र चौकमा सुरक्षार्थ खटेका प्रहरीमाथि ढुंगा बर्साएपछि झडप सुरु भएको हो।

यसअघि बस स्टयान्ड चौक र खैरा चौकमा पनि दिनभरिजसो झडप हुँदा जलेश्वर तनाबग्रस्त हुन पुगेको थियो।

मोर्चा कार्यकर्ताले नेपाली कांगे्रसको पार्टी कार्यालय तोडफोड गर्नुका साथै शिक्षा कार्यालय, जिल्ला विकास, जिल्ला प्रशासन, राप्रपा र जिल्ला निर्वाचन कार्यालयमा ढुंगामुढा गरेका थिए। तोडफोडबाट जलेश्वर–६ स्थित कांग्रेस कार्यालयको झ्यालढोका फुटेका छन् भने अन्य कार्यालयमा पनि सामान्य क्षति छ। मधेसका माग सम्बोधनमा सत्तारूढ कांग्रस बाधक देखिएकाले तोडफोड गरिएको बन्दकर्ताले बताएका छन्। उनीहरूले होत्तेरीस्थित निर्वाचन कार्यालयको बोर्डसमेत निकालेर फालेका छन्।कार्यालय तोडफोड भएको देख्दा पनि प्रहरीले वास्ता नगरेको कांग्रेस पक्षको आरोप छ।

प्रस्तावित प्रदेश र सीमांकनको विरोधमा गाउँगाउँबाट सयौंको संख्यामा आएका मोर्चा कार्यकर्ताले बिहानैदेखि सदरमुकाम जलेश्वरमा प्रदर्शन सुरु गरेका हुन्।

0 comments:

Post a Comment