Wednesday, September 16, 2015

संविधानको विरोधमा लिम्बुवानद्वारा अनिश्चितकालीन आम हड्तालको घोषणा


धरान–पहिचानको आन्दोलनलाई तुहाउने संविधान घोषणा हुन लागेको भन्दै लिम्बुवान संयुक्त सङ्घर्ष समितिले असोज तीनदेखि अरुणपूर्वका ९ जिल्लामा अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको छ । समितिले सात प्रदेशको खाका नसच्चिएसम्म आन्दोलन नरोकिने पनि उद्घोष गरेको छ ।l
बुधबार बसेको समितिको बैठकले लिम्बुवानलगायतका पहिचानको आन्दोलनलाई तुहाएरसंविधान ल्याउने धृष्टता गरेको आरोप लगाउँदै संविधान जारी गरेकै दिनदेखि आमहड्ताल गर्ने निर्णय गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक्’ले बताए । उनले भने, ‘लिम्बुवानबिनाको संविधान सुनकै अक्षरले लेखे पनि अस्वीकार गरेर आन्दोलन जारी राख्छौं ।’

लिङ्देनले असोज एक गते बस्ने शीर्ष बैठकले आन्दोलनका बारेमा महत्वपूर्ण निर्णय लिने पनि बताए । यसैगरी, पूर्वघोषित कार्यक्रमअनुसार भदौ ३१ गतेदेखि असोज ३ गतेसम्मको लिम्बुवानव्यापी चक्काजाम चाडपर्वका कारण स्थगन गरिएको सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डल सदस्य दलमर्दन कामीले जनाए । असोज १ गते विश्वकर्मा पूजालाई मध्यनजर गरेर यातायात बन्दको कार्यक्रम स्थगन गरिएको उनले बताए । त्यस्तै, चुम्लुङ र यायोख्खाको पाँच बुँदे सम्झौतालाई पनि ध्यानमा राखेर असोज २ गते धरानमा हुने यायोख्खको सभालाई सहयोग गर्न चक्काजाम फिर्ता गरिएको कामीले जानकारी दिए ।
सङ्घर्ष समितिले मङ्गलबार झापाको विभिन्न स्थानमा इसाई धर्मावलम्बीहरूको प्रार्थना घरमा गराइएको बम विष्फोटनको घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण पनि जनाएको छ ।

0 comments:

Post a Comment