Tuesday, August 11, 2015

हिन्दु राष्ट्र अभियानमा मुस्लिम


दाङ– दाङका अमजद अली सिद्दिकी, मुस्लिम समाज, राप्तीका अध्यक्ष हुन् । इस्लाम धर्मका 'कट्टर' भक्त उनी आफ्नो धर्मबाट विचलित छैनन् तर हिन्दुवादी अभियानका अभियन्ता हुन्। हिन्दु राष्ट्रका लागि दबाब दिन जिल्लामा गरिने हरेक 'हिन्दुवादी' आन्दोलनमा उनी सहभागी हुन्छन् । हिन्दु राष्ट्रका पक्षमा भाषण गर्छन् ।


'किन हिन्दुवादी अभियानमा ?' उनी उत्तर दिन्छन्, 'इस्लाम धर्म जोगाउनु छ ।'

हिन्दु धर्ममाथि केही वर्षयता क्रिस्चियनको बढ्दो प्रभाव देखेका उनी मुस्लिम समुदायमाथि पनि त्यो जोखिम बढ्ने औंल्याउँछन् ।

'हिन्दुलाई धमाधम परिवर्तन गराइसकेको क्रिस्चियन धर्मबाट मुस्लिम कसरी जोगीएलान् ?' उनले भने, 'सिंगो मुस्लिमको रक्षाका लागि मैले मुख खोलेरै हिन्दु राष्ट्रको अभियान थालेको हुँ ।' उनको यो अभियानप्रति केही समर्थनका स्वर सुनिन्छन् त केही विमतिका । तथापि आफ्नो धर्म 'इस्लाम' र अभियान 'हिन्दु' मा उनी कट्टर छन् ।

मुस्लिम समुदायमा पनि फरकफरक राजनीतिक विचार हाबी बन्दै गएका छन् । पार्टीगत ह्विपका आधारमा चल्ने यो समुदायका नागरिकबीच 'हिन्दु अभियान' का बारे मतमतान्तर देखिन्छन् । केही खुलेरै हिन्दुवादी अभियानमा लागेका छन् त केही मौन छन् तर अमजदले भनेजस्तै क्रिस्चियन धर्मको आक्रमण खतरा भने सिंगो मुस्लिम समुदायले अनुभूत गर्न थालेको छ ।

त्यसो त हिन्दुमाथि प्रभाव जमाउँदै गएका क्रिस्चियनहरुले मुस्लिम समुदायलाई प्रभावमा पार्र्न लागिपरेको मुस्लिम समुदायकै अगुवा बताउँछन् । यसको कारण पनि धर्मनिरपेक्षता हो भन्नेमा उनीहरु निश्चितप्राय छन् ।

एमाले सभासद अनारकली मियाँको अनुभवले यसको पुष्टि गर्छ । मुस्लिम समुदायकी मियाँ २०४८ मा सल्यानस्थित शारदा उच्च माविमा कक्षा ८ मा अध्ययनरत थिइन् । हरेक महिनाजसो उनको हातमा हुलाकमार्फत आएको चिठीको खाम पथ्र्यो । उक्त खामभित्र बाइबल हुन्थ्यो । आफूलाई मात्रै हात पर्ने त्यो सामग्री कहाँबाट कसले पठाएको, केही थाहा हुँदैनथ्यो ।

'जहिले बाइबल मात्रै आउँथ्यो,' नागरिकसँग उनले अनुभव सुनाइन् । त्यति बेला उक्त बाइबललाई सामान्य रुपमा अथ्र्याएकी सभासद मियाँ अहिले भन्छिन्, 'त्यो प्रयास मुस्लिम समुदायभित्र प्रवेश गर्ने रणनीतिक योजना हुनुपर्छ ।'

आफू मुस्लिम समुदायको नागरिक भएकाले आफूलाई मात्रै बाइबल थमाएर सिंगो समुदायमै प्रवेश गर्ने रणनीतिका रुपमा उनले त्यो घटनालाई बुझेकी रहिछन् । मुस्लिमलाई क्रिस्चियन बनाउने प्रयासको उदाहरण आफू स्वयं बनेकी मियाँ अहिले त्यो क्रम बढ्नुलाई नकार्न नमिल्ने बताउँछिन् ।

'त्यतिबेला त त्यस्तो थियो भने अहिले त त्यस्ता प्रयास निकै बढेका छन्,' उनले भनिन्, 'तर सिंगो मुस्लिम समुदाय त्यो प्रलोभनमा पर्ने म देख्दिनँ ।' एकाध पर्न सक्ने खतरा रोक्न भने प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनेविरुद्ध कानुन बनाउनुपर्ने औंल्याइन् उनले ।

मियाँले संविधानमा धर्मनिरपेक्षता शब्द परिमार्जन गर्नु महŒवपूर्ण रहेको बताइन् । यसको कारण पनि निरपेक्षतामा क्रिस्चियन धर्मको प्रलोभन बढी सक्रिय रुपमा बढ्ने उनको आशंका छ । 'निरपेक्षता शब्द नराखेर स्वतन्त्रता वा स्वतन्त्रताको अर्थ दिने अरू कुनै राखिनुपर्छ,' उनले भनिन्, 'निरपेक्षताले पछि धेरै भाँडभैलो पार्ने मैले देखेकी छु ।'

एमाओवादी निकट मुस्लिम मुक्तिमोर्चाका जिल्ला अध्यक्ष उद्बुद्दिन फारुकीले पनि मुस्लिम बस्तीमा क्रिस्चियनहरुको सलबलाहट बढ्दै गएको उनी बताउँछन् । संविधान जारी हुने मिति नजिकिँदै गर्दा देखिएको बढ्दो सक्रियताले उनी पनि केही सशंकित छन् । तर पार्टीको ह्विपका आधारमा उनले 'धर्मनिरपेक्षता' को अडान भने त्याग्न सकेका छैनन् । उनका अनुसार झन्डै एक महिनाअघि आफ्नै नातेदारलाई बस्तीमै गएर बाइबल बाँडिएको थियो । 'पढेर विचार गर्नुहोला' भन्दै थमाइएका बाइबल प्रति उनका नातेदारले त्यति मतलब नराखेको उनले बताए । त्यो घटनालाई आफ्नो धर्मको प्रभाव पार्न खोजेको प्रयासका रुपमा उनले राम्ररी बुझेका छन् । 'संविधान बन्ने मिति नजिकिँदै गर्दा उनीहरुको सक्रियता बढ्दै गएको छ,' फारुकीले भने, 'खोइ किन यसो गरिराछन्, उनीहरुको प्रयास पनि मुस्लिम समुदायलाई आफ्नो प्रभावमा पार्न खोजेजस्तो देखिएको छ ।'

क्रिस्चियनको प्रलोभनमा मुस्लिम समुदाय प्रभावित बन्न नसक्ने दाबी गरेका उनले पनि केही आशंका भने व्यक्त गरे । उनले भने, 'केही त्यस्ता नाफा खोज्नेहरु जान सक्लान् तर सबै मुस्लिमहरुलाई उनीहरुले प्रभावमा पार्न सक्नेवाला छैनन् ।'

क्रिस्चियनको बढ्दो सक्रियताले भालुवाङकी बर्फी खातुनलाई मस्जिद जाने बाटो मेटिने हो कि भन्ने आशंका छ । उनका अनुसार भालुवाङ क्षेत्रमा पनि घरघर पुगेर बाइबल थमाउने क्रम अहिले चलिरहेको छ । 'मैले त बाइबल पाएको छैन,' उनले भनिन्, 'तर गाउँका अरूलाई दिइरा'छन् ।' उनी पनि धर्म परिवर्तन गराउन क्रिस्चियनहरुले देखाएको सक्रियतालाई 'गलत' मान्छिन् ।

'सबैले सबैको धर्म मान्ने पो हो त, मेरोमा आइज भनेर लोभलालच देखाउनु कहाँ राम्रो होला ?,' उनले भनिन्, 'हाम्लाई मस्जिद गएर नमाज पढ्न कसैले नछेकोस्, सरकारले यत्ति गर्दियोस् ।' मुस्लिम समुदायमा क्रिस्चियन प्रवेश गर्ने खतरा अनेकन प्रलोभन रहेको अगुवाहरु बताउँछन् । धर्मका नाममा विकास, रोजगारीलगायत प्रलोभन मुस्लिम समुदायकै लागि पनि बढी फाइदा देखिन सक्ने आशंका अगुवाको छ ।

मुस्लिम अगुवाका अनुसार जिल्लामा रहेको मुस्लिम समुदायको कुल संख्यामध्ये हालसम्म एक जना पनि क्रिस्चियन बनेका छैनन् । हालसम्मको मुस्लिम समुदायको संख्या ६ हजार हाराहारी अनुमान गरिएको छ । २०६६ को जनगणनाअनुसार दाङको मुस्लिम संख्या ४ हजार ७ सय ७७ थियो । हालसम्म मुस्लिम समुदाय क्रिस्चियन धर्ममा प्रवेश गरेको उदाहरण दाङमा नभए पनि बाह्य जिल्लाका घटनाक्रमले यहाँ पनि सशंकित बनाएको छ । कांग्रेस निकट मुस्लिम समाजका पूर्व जिल्ला अध्यक्ष सलिम साहले अन्य जिल्लाको उदाहरण दिँदै भने 'रुपन्देही, नवलपरासीमा मुस्लिम फेरिएको मैले देखेको छु, यहाँका मुस्लिमहरु पनि क्रिस्चियनको प्रभावमा नपर्लान् भन्न सकिन्न ।'

उनी पनि हिन्दु पक्षधर हुन् । हिन्दु राष्ट्रमा आफूहरुलाई अन्याय नभएको भन्दै उनले सोही राज्यमा मात्रै आफूहरु सुरक्षित हुने उनको बुझाइ छ ।

यता, सिंगो मुस्लिम समुदायको नेतृत्व गर्दै आएको मुस्लिम इत्तिहाद संगठनले पनि धर्म परिवर्तनको बढ्दो प्रभावलाई जायज देख्दैन । संगठनका अध्यक्ष अस्फाक अली सिद्दिकीले भने, 'हामीहरु यो वा त्यसभन्दा पनि सबैको धर्मलाई उत्तिकै सम्मान गर्छौं र हाम्रो धर्मलाई पनि उत्तिकै सम्मानित नजरले हेरियोस्, यहाँ कसैले आफ्नो प्रभाव देखाएर धर्ममाथि आघात नपु¥याओस् ।'

0 comments:

Post a Comment