भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो । प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पर्वको शुभारम्भ गर्नुभएको विश्वास गरिन्छ । उहाँ ज्योतिष पनि हुनुहुन्थ्यो ।
यस पर्वको अवसरमा मिथिलामा पूजाको अवसरमा बनाउने गरिएका कलात्मक अरिपन आँगनमा बनाउने गरिन्छ । चामलको पीठोले आँगनमा अरिपन गरी त्यसमा चन्द्रमाको आकृति बनाउनुका साथै विभिन्न पूजाका सामग्री राख्ने स्थल अङ्कित गरिन्छ ।
त्यसपछि पूजाका सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल केरालगायत सामग्री राखेर पूजा सुरु गरिन्छ । यो पर्व मनाउने परिवारका एकजना दिनभर उपवासमा बसेका हुन्छन् । पूजामा बस्नुअघि स्नान गरी स्वच्छ मनले चन्द्रमा र गणेशलगायत देवीदेउताको पूजा गरिन्छ ।
पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर चन्द्रमाको दर्शन गरिन्छ । त्यसो नगरी चन्द्रमाको दर्शन गरेको खण्डमा मिथ्या कलङ्क लाग्ने जनविश्वास छ । स्यमन्तक मणि चोरी गरेको आरोपबाट प्रताडित हुनुभएका भगवान् कृष्णले भाद्र शुक्ल चतुर्थी तिथिमा चन्द्रमा र गणेशको पूजा गरेपछि मिथ्या कलङ्कबाट मुक्त हुनुभएकाले यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएको छ ।
यसका साथै आज चौंठचन्द्रको रातिको समयमा चोरी गर्नेहरु चोरी गरेर साइत बनाउने गर्छन् । यो तिथिमा चोरी गरेपछि वर्षभरि सहज ढङ्गले चोरी गर्न पाउन सक्ने मान्यताले चोर साइत बनाउनका लागि चोरी गर्न प्रयत्नशील रहन्छन् ।
यो पर्व मनाइएमा मिथ्या कलङ्कबाट जोगिने र परिवारको कल्याण हुने विश्वासका साथ मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो ।
0 comments:
Post a Comment