संविधानमा प्रदेश निर्माणको विषयलाई लिएर मध्यपश्चिमको सुर्खेतमा सोमबार भएको घटनाप्रति नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले गम्भीर दुःख व्यक्त गर्दै सुर्खेतबासीमा संयम अपनाउन आग्रह गरेका छन्।
मध्यपश्चिम विकास क्षेत्रलाई अखण्ड प्रदेश र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै शनिबारदेखि जारी आन्दोलनमा सोमबार भएको प्रहरीसँग झडपमा गोली चल्दा तीन जनाको निधन भएको समाचारले आफूलाई थप गम्भीर बनाएको उनले बताए।
आफ्नो जिल्लाका जनता आन्दोलनमा उत्रिँदा भएको दुःखद घटनाले अत्यन्त गहिरो पीडा भएको बेलामा केही सञ्चारमाध्यमले आफ्नो निर्देशनमा प्रहरीले गोली चलाएको भन्ने समाचार सम्प्रेषण गरेकोमा थप मर्माहित बनाएको उनले बताए।
‘जनतामाथि गोली चलाउने आदेश दिनेजस्तो अनैतिक, अराजनीतिक कुरा गर्ने त म कल्पना पनि गर्न सक्दिन,’ उनले भने, ‘दाङ, सुर्खेत, बाँके र बर्दियालाई प्रदेश नम्बर ६ मा समावेश गर्न शीर्षतहको बैठकमा अन्तिमसम्म प्रयास गर्दा पनि भलै म विफल भए। तथापि यी जिल्लालाई प्रदेश नम्बर ६ मा नै राख्नु पर्छ भनि संवाद समितिमा फरक मत राखेको कुरा पनि जानकारी गराउन चाहन्छु।’ उनले सुर्खेतका जनतालाई भनेका छन्।
‘प्रस्तावित प्रदेशको राजधानी सुर्खेत बनाउने सुनिश्चिता बन्दै गएको अवस्थामा केही दलका व्यक्तिहरुले सृजना गरेको भ्रमबाट प्रभावित भइ आन्दोलनमा उत्रिएका जनतालाई मेरो विरुद्ध लाग्न भएको कुप्रचारमा कुनै सत्यता नभएकोले त्यस्ता कुनै पनि दुस्प्रचारमा विश्वास नगर्न सबै सुर्खेतवासी दिदी बहिनी दाजुभाइहरुलाइ विनम्र आग्रह गर्दछु,’ उनले भनेका छन्।
साथै उनले समग्र सुर्खेतवासी जनतालाई यो दुखद् घडिमा संयमितता रहन र धैर्यधारण गर्न अनुरोध गर्दै कर्णाली प्रदेश हालको प्रदेश नं. ६ को राजधानी सुर्खेत हने कुरामा ढुक्क हुन र कुनै भ्रममा नपर्न पनि अनुरोध गरेका छन्।
‘यो कुरालाई मैले विगतमा सुर्खेतका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा निरन्तर भन्दै आएको कुरा पनि स्मरण गराउन चाहन्छु,’ खड्काले भने।
नेपाली जनताले ६५ वर्षदेखि संविधानसभाले संविधान बनाउन पाउनुपर्छ भनी गरेको संकल्प र त्यहि परिवेशमा मध्यपश्चिम र पश्चिमबाट सुर्खेत जिल्लाको प्रतिनिधित्व गर्दै संविधानसभामा पुगी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने सबै शीर्ष बैठकमा सबै वार्ता र सहमतिमा सम्पूर्ण रुपले आफू समर्पित भएको उनले बताएका छन्।
‘सुर्खेत जिल्ला र त्यो क्षेत्रको म प्रतिनिधिको निवास र परिवारमाथि दिनको १२ बजेदेखि साढे ५ बजेसम्म निरन्तर रुपमा सांघातिक आक्रमण गर्न के उद्देश्यका लागि, कसको नेतृत्वमा किन गरियो, यसको खोजी सुर्खेती जनता र नेपाली जनताले गर्ने नै छन् भन्ने आशा मैले लिएको छु’ उनले भनेका छन्।
0 comments:
Post a Comment