Tuesday, September 15, 2015

चिनिया महिलाले चोरिन् ३ करोडको हिरा, डाक्टरले निकाले पेटबाट


हिरा चोरेर सर्लक्कै निलेकी एक चिनिया पर्यटक महिलाको पेटबाट झण्डै ३ करोड मूल्य पर्ने हिराको टुक्रा निकालिएको छ ।

यो घटना थाइल्याण्डको बैंककमा घटेको हो । गरगहना प्रदर्शनी स्थलबाट हिरा चोरेर ज्यानकै बाजी थापेर क्वाप्पै खाएकी चिनिया महिलाको आन्द्राबाट डाक्टरहरु त्यो बहुमुल्य हिरा निकाल्न सफल भएका हुन् । त्यो सँगै ती महिलाको ज्यान जोगिएको छ भने गहना चोरको पनि पत्तो लागेको छ ।

समाचार अनुसार बैंककमा भएको गहना प्रदर्शनी हेर्न एक पुरुष साथीसँगै पुगेकी चिनिया महिला पर्यटक ३९ वर्षकी जियांग जुलियानले स्टलमा रहेको १ करोड भाट मूल्य पर्ने ६ क्यारेको हिरातर्फ हात लम्काइन् । त्यो हिरा हातमा लिएर क्वाप्पै मुखमा हालिन् अनि आफ्नो गोजीमा भएको नक्कली हिरा निकालेर सोही स्थानमा राखिदिइन्, ता की सक्कली हिरा चोरी भएको कसैले पत्तो नपाओस् ।

करोड मूल्य पर्ने हिरा चोर्न सफल भएकोमा खुसी हुँदै तर हिरा पेटमा रहेको हुँदा त्यसले असर गर्नसक्ने तर्फ सचेत रहँदै ती महिला अर्को दिन नै थाइल्याण्डबाट चीन फर्किने निधो गरिन् र बिहिबार चीन फर्किनका बैंककस्थित सुबर्णभूमि विमानस्थल पुगेकी उनी त्यहीँबाट पक्राउ परिन् ।

वास्तवमा उक्त गहना प्रदर्शनीमा राखिएको सिसीटिभी भिडियोको आधारमा ती पर्यटक महिलाले हिरा चोरेर निलेको पत्तो प्रहरीले पाइसकेको थियो र उनलाई पछ्याउँदै जाँदा प्रहरीले एयरपोर्टबाटै पक्राउ गर्न सफल भयो । उनीसँगै उनका पुरुषसाथी पनि पक्राउ परे ।

पक्राउ गरेर ती महिलालाई अस्पतालमा लगियो । जहाँ डाक्टरहरुले मलद्धारबाट नली घुसाएर अर्थात् कोलोनोस्कोपी गरेर उनको ठूलो आन्द्राबाट त्यो बहुमुल्य हिरा निकाल्न सफल भए । प्रहरीले पक्राउ गरेर सुरुमा चोरीका बारेमा सोधपुछ गर्दा उनले आरोप अस्विकार गरेकी थिइन् । तर अस्पतालमा गएर एक्सरे गर्दा उनको ठूलो आन्द्राभित्र हिराको पत्थर देखिएपछि उनीमाथिको आरोप प्रमाणित भयो र उनी लल्याक लुुलुक भइन् । अन्ततः आइतबार उनको सामान्य शल्यक्रिया गरेर पत्थर निकालियो ।

0 comments:

Post a Comment