यस्तो ढुक्कमा छन्, सुनसरीको दक्षिणी गाविस तनमुनाका किसान, जसलाई स्थानीय सम्झाना कृषि सहकारीले आँट दिएको छ। यहाँका किसानको खेतका गरामा होइन धानको बीउ प्लास्टिकको ट्रेमा छ। उक्त बीउ हरितगृह रहेको बाँसको चाङमा तयार भइरहेको छ।
बाँसको चाङमा राखिएका ट्रेमा उम्रिएको जमराझैं लाग्ने धानको बीउ होस् वा मेसिनले खेतमा धान रोपेको नै किन नहोस् हेर्नेको दिनहुँ रमिता लाग्छ। ट्याक्टरले हिल्याएको जमिनमा मेसिनको सहायताले यो पटक तनमुना, सत्तेरझोर र छिटाहाका किसानले ४ सय ७ बिघामा धान रोप्दै छन्।
एक बिघा जमिनमा धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्छ। धान रोपिसक्दा २२ हजार खर्च हुन्छ। तर मेसिनले बीउसहित ११ हजार ५ सयमा एक दिन पनि नलगाई धान रोपिदिन्छ। अहिलेसम्म १२ बिघामा मेसिनले धान रोपिसकेको छ।
कम जनशक्ति, सस्तो र गुणस्तरीय काम हुने भएकाले कृषिमा भएको यान्त्रीकरण देखेर छिटाहा ३ का भाग्यनारायण चौधरी मख्ख छन्। सात बिघा खेत यो पटक मेसिनले रोप्ने निर्णयमा पुगेका उनले सुनाए, ‘नेपाल कृषि कम्पनीको पहलमा अढाई वर्षअघि सम्झाना कृषि सहकारी गठन भएपछि यहाँका किसानको सोच नै बदलिएको छ।’ सहकारीमा पहिले ७० र अहिले १ सय ८० किसान थप सदस्य छन्।
सहकारीमा अहिले धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टर) मेसिन छन्। सदस्यहरूका लागि मात्र अहिले उपयोगमा ल्याइने मेसिनले किसानको चिन्ता र खर्च दुवै घटाइदिएको तनमुनाका अशोक माझी बताउँछन्। उनले ट्रेमा हुर्काइएको बीउ लगेर मेसिनको सहायताले सवा बिघामा धान रोपे। बर्षात लागेपछि बीउ राख्ने, हुर्काउने, रोपाहार, जोताहार खोज्ने, बीउ काढ्ने, बोकेर खेतमा पुर्याउनुपर्ने र सात दिन लगाएर रोपाइँ गर्नुपर्ने ठूलो बोझ यान्त्रीकरणले हटाइदिएको माझीले बताए।
उनले पहिले मानिस लगाएर खेती गर्दा सवा बिघामा ३० हजार खर्च हुन्थ्यो तर अहिले मेसिनको सहायताले रोपाइँ गर्दा उनले जम्मा १९ हजारमा रोपाइँ सिध्याए। समय र पैसाको राम्रो बचाउ भएको बताउँदै उनी भन्छन्, ‘यान्त्रीकरणले पैसा र समय पनि बचाइदियो, जसका कारण असारभरि खेतमा जोतिनु परेन, आजकल म त्यो समय अर्कोतिर खर्च गरिरहेको छु।’
अछामती चौधरीलगायत ६ महिलाले अहिले सहकारीमा बीउ उमार्ने, खेतमा लगेर मेसिनमा बीउ राख्ने काममा व्यस्त छन्। अहिले उनीहरूलाई किसानका खेतमा रोप्ने बीउ उमार्न भ्याई नभ्याई छ। करिब ३० बिघालाई पुग्ने बीउ उनीहरूले तयार गरिसकेका छन्। बुद्ध एयरको लगानी रहेको नेपाल कृषि कम्पनीले सहकारीलाई प्रदान गरेको धानको बेर्ना तयार गर्ने मेसिन चलाउन उनीहरू पारंगत छन्।
मेसिनले कसरी काम गर्छ भन्ने जिज्ञासामा अछामतीले बीउका लागि तयार गरिएको माटो दुई तिरको मेसिनको बगेटमा हालिन् अनि बीचको बगेटमा बीउ। अनि मेसिनको एउटा छेउबाट ट्रे छिराइन्।
मेसिनको लिकमा ट्रे अघि बढ्यो। माटो एक लेबलमा बस्यो, पानी स्प्रे भयो अनि धानको बीउ झर्यो। त्यसपछि पुन: ट्ेरको बीउलाई माटोले छोपिदियो। अन्तिममा ट्रे आफैं मेसिनको लिकभन्दा माथि आयो। आछामतीले ट्रेलाई हरित गृहमा लगेर राखिन्। उनले भनिन्, ‘यो बीउ अब १२ दिनमै रोप्नका लागि तयार हुन्छ।’ उनको छ जनाको समूहले सहकारीमा काम गरेबापत दैनिक २ सय रुपैयाँ ज्याला पाउँछन्।
सहकारीका अध्यक्ष नागेश्वर माझीले धानको बीउ तयार गर्ने, धान गोड्ने, धान काट्ने (हार्वेस्टर) मेसिन बुद्ध एयरले दुई वर्षका लागि सहकारीलाई नि:शुल्क दिएको बताए। मेसिनले धान रोप्न थालेपछि अन्य किसानहरूले पनि ब्याडको बीउ उखेलेर आफ्नो पनि धान रोपिदिन आग्रह गर्न थालेको माझीले बताए।
एक बिघामा मानिसले खेती गर्दा ९० मन फल्ने तर मेसिनले खेती गर्दा १ सय ३० मनसम्म फल्ने भएकाले किसानहरू यान्त्रिक प्रविधि तर्फ आकर्षित हुन थालेका हुन।
0 comments:
Post a Comment