काठमाडौं, असार २४ – राहतका नाममा उडेको नेपाली सेना र नीजि कम्पनीहरुका हेलिकप्टरको खर्च सार्वजनिक गर्न संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले माग गरेका छन् । बिहीवार बसेको समितिको बैठकमा बोल्दै सभासद्हरुले यस्तो माग गरेका हुन् । एमाले सभासद् विकास लम्सालले राहतको नाममा मन्त्री र उच्च पदस्थ सरकारी अधिकारीले परिवारलाई घुमाएको भन्दै आपत्ति जनाए । त्यस्तै नेपाली कांग्रेसका सभासद् भरत शाहले सरकारले हेलिकप्टरको व्यापक दुरुपयोग गरेको भन्दै नीजि हेलिकप्टर र गृहमन्त्रालयबीच भएको भाडाको विवादमा तलमाथि नगर्न आग्रह गरे । नेपाली कांग्रेसका सभासद् रामहरी खतिवडाले बंगलादेश र साउदी अरबबाट आएका हजारौं थान टेण्ट गायब भएको भन्दै यथार्थ विवरण सार्वजनिक गर्न माग गरे । त्यस्तै विदेशमा बस्ने नेपालीहरुले ईन्टरनेटको प्रयोग गर्दै जथाभावी पैसा मागिरेकोबारे प्रश्न गर्दै खतिवडाले भने–‘क्राउडेड फन्डिङ भन्ने संस्थाले विभिन्न साईड खोलेर पैसा उठाएको छ, त्यो पैसा प्रधानमन्त्री राहत कोषमा जम्मा हुन्छ कि हुँदैन ?’ एमाले सभासद् भानुभक्त ढकालले कार्यकारी प्रमुखले हेलिकप्टर चढेर भूकम्प प्रभावित बस्तीहरु निरीक्षण गर्दै ‘ठिकै छ, ठिकै छ’ भनेको भरमा जनताले राहत नपाएको उल्लेख गरे । त्यस्तै नेपाली कांग्रेसका सभासद् बालकृष्ण खाँडले कस्को जहाज कत्ति घण्टा उड्यो भन्नेबारे सार्वजनिक गर्न आग्रह गरे । बिहीवारको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च सार्वजनिक गर्न आग्रह गरेपनि गृहमन्त्री गौतम भने सबैको हिसाव किताव ठिक छ भनेर पन्छिए । हेलिकप्टरको गलत प्रयोग गरेको कुरा अस्विकार गर्दै गौतमले भने– ‘राष्ट्रपतिले निरीक्षण गर्न जान्छु भनेपछि मैले रोक्न सकिनँ, बरु मिलेसम्म पार्टी नेता र सभासद्हरुलाई पनि हेलिकप्टर चढाएर पठाएको थिएँ । त्यस्तै नेपाली सेना र नीजि क्षेत्रका हेलिकप्टरको भाडामा देखिएको असमानताबारे प्रष्ट पार्दै गौतमले भने, ‘विपद्को बेला नेपाली सेनाले चलखेल गर्न भाडा थोरै लिएको हैन होला, त्यसैले नीजिले पनि सोही अनुसार पाउँछन् ।’
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment