Sunday, July 12, 2015

२३ दिनकी बालिकाले दान गरिन् आफ्ना दुबै मृगौला


 विश्वकै सबैभन्दा कम उमेरको अंगदानको दर्दनाक कथा

उनको जीवन निकै छोटो भयो तर उनको ‘लिगेसी’ भने बाँचिरहनेछ । बेलायतकी एक २३ दिने बालिका अंगदान गर्ने विश्वकी सबैभन्दा कम उमेरकी मानिस बनेकी छिन् । २३ दिनकी बालिकाद्वारा अंगदान, त्यो पनि दुइवटै मृगौला । सुन्दैमा अनौठो, अपत्यारिलो तथा डरलाग्दो लाग्नसक्छ । तर ती बालिकाका बाबुआमाले आफ्नी नाबालिका छोरीका दुइवटै मृगौला दान गरेर दुनियामा अहिलेसम्म कसैले गर्न नसकेको ‘धर्म’ कमाएका छन् भने ती बालिका अमर बनेकी छिन् । आमा एमी र बुवा लियाम डग्लेबीको कोखबाट बेलायतको इष्ट योर्कशायरमा जन्मिएकी मिनी डग्लेबी जन्मिँदै मुटु सम्बन्धी जटिल रोगबाट पीडित थिइन् । साथै उनको घाँटीका महत्वपूर्ण मांशपेशी पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती बालिका जन्मिएको २४ घण्टामै यो दुखद कुरा उनका बुवाआमालाई सुनाए अनि नाबालिकालाई शल्यक्रिया गरेर पनि बचाउन नसकिने दुखेसो पोखे ।
डाक्टरले सुनाएको खबर अवश्य पनि निकै दर्दनाक थियो । तर डग्लेबी दम्पति डगमगाएनन् । उनीहरुले छोरीलाई बचाउने प्रयासमा आशाहीन शल्यक्रिया गरेर  दुख दिनुभन्दा उनलाई शान्तपूर्वक मृत्युवरण गर्न दिने हृदयविदारक निर्णय गरे । पीडाको त्यो क्षणमा उनीहरुले अर्को स्वार्थहीन तथा महान निर्णय पनि गरे ।
बच्ची जन्मिएको लीड्स जनरल इन्फर्मिटी अस्पतालका डाक्टरहरुसँग उनीहरुले एउटा आश्चर्यजनक जिज्ञासा राखे । २३ दिने छोरीको मृत्यु भएपनि उनका अंगहरु दान गर्न सकिन्छ वा सकिँदैन ? भन्ने प्रश्न उनीहरुको थियो ।

उनीहरुको त्यो प्रस्ताव अस्पतालले पारित गरेसँगै ती बालिकाको मृत्यु लगत्तै उनका दुइवटै मृगौला झिकियो र ती मृगौला एकजना वयस्क मानिसमा प्रत्यारोपण गरियो । बालिकाका मृगौला प्रत्यारोपण गरेका ती व्यक्तिले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।आमा एमीका अनुसार छोरी नबाँच्ने निधो भएपछि आफुहरुले यस्तो निर्णय लिएको भन्दै छोरी आफु नबाँचेपनि अरुको जिवनमा बदलाव ल्याउन सक्छिन् भन्ने सोँचाइ आफुमा आएको बताइन् । आफुले २८ वर्षसम्म गर्न नसकेको काम छोरीले जन्मिने बित्तिकै गर्न सकेको उनको भनाइ छ ।३७ हप्तामा जन्मिएकी मिनी जन्मिँदा झण्डै ६ पाउण्डकी थिइन् । हलक्क सप्रिएकी छोरी देख्दा खुसी भएका उनका बुवाआमालाई छोरीको सरीरभित्र त्यस्तो कठीन रोग थियो भने कल्पना पनि थिएन । परिवारमा दोश्री छोरीको जन्म हुँदा बाबुआमा निकै खुसी थिए । बहिनी जन्मिएकोमा ३ वर्षकी लिली पनि पुलकित थिइन् । तर आखिर बालिका जन्मिएपछि डाक्टरहरुले उनको चेकजाँच गर्दा ट्राकियोओइसोफ्याजियल फिस्टुला भन्ने समस्या रहेको एकिन गरे ।अर्थात् उनको घाँटी र पेट जोड्ने नली राम्रोसँग जोडिएको थिएन । उनलाई तत्कालै आकस्मिक शल्यक्रियाका लागि रातारात लीड्स अस्पतालमा पूराइयो । त्यो शल्यक्रिया सफल पनि भयो । तर डाक्टरहरुले उनको मुटुमा पनि गम्भीर समस्या रहेको र मुटु राम्रोसँग विकशित नभएको पत्ता लगाए । डाक्टरहरुका लागि ती बच्चीको ५ वर्षभित्रमा ३ पटक मुटुको सर्जरी गर्नुपर्ने र त्यसो गर्दा सफल भैहाले पनि बच्ची ३० वर्षभन्दा धेरै नबाँच्ने बताए ।यति मात्र होइन, ती बच्चीको घाँटीमा महत्वपूर्ण मांशपेशी नै नरहेको र अर्को शल्यक्रिया समेत गर्नुपर्ने बताइयो । अन्त्यमा डाक्टरहरु यो निष्कर्षमा पुगे की मिनीको अवस्था यतिधेरै नाजुक थियो की उनी अब एउटै शल्यक्रिया गर्दा नै ब्युँझिने अवस्थामा थिइनन् । तत्कालै शल्यक्रिया नगरे पनि बालिकाको मृत्यु हुने र शल्यक्रिया गरेपनि सफल नहुने अवस्था आएपछि डाक्टरहरुले उनका बुवाआमालाई सबै कुरा भने । त्यसपछि एमी र लिआमले छोरीको मृगौला दान गरेर मर्न लागेको अर्को मानिसलाई बँचाउने निधो गरे ।

0 comments:

Post a Comment