लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरको मुटुमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट दिउँसै एक गाविस सचिव लुटिएका छन् । विभिन्न योजनाको रकम झिक्न बैंक पुगेका सचिव मेघनाथ घिमिरेको साथबाट ५० हजार नगद लुटिएको हो । बिहान सबैरे घरबाट रकम झिक्न हिंडेका श्रीमञ्ज्याङ गाविसका गाविस सचिव घिमिरेले बैंकबाट कुल २ लाख १६ हजार ८ सय ४० रुपैयाँ झिकेका थिए । यो रकमबाट उनले एक स्थानीय खानेपानी आयोजनालाई १ लाख उपलब्ध गराउनुपर्ने, २९ हजार राजस्व दाखिला गर्नुपर्ने र बाँकी रकम गाविसको अन्य कामकाजमा खर्च गर्नुपर्ने थियो । आफुले एक घण्टासम्म लाइनमा बसेर बैंकबाट रकम निकालेको बताउदै सचिव घिमिरेले रकम निकालेपछि २९ हजार रुपैयाँ राजस्वमा जम्मा गर्न खोज्दा ५ सय नोट भएका ५० हजारको एउटा मुठो नभएको थाहा पाएको बताए । सचिव घिमिरेले बैंकबाट ५०० नोट भएको ५० हजारका २ बण्डल र १ हजार नोट भएको १ लाखको एक बण्डल नोट निकालेको बैंकले जनाएको छ । बैंकको मुल गेट र बैंकभित्र गरी २ जना सुरक्षा गार्ड परिचालन गरेपनि लुटेराले कतिखेर रकम चोरेर भाग्यो भन्ने आफुहरुले पत्तै नपाएको उनिहरु बताउँछन् । सबैलाई असार मसान्त लागेका कारण बैंकमा विगत एकसाता अघिदेखि भिड लाग्ने गरेको राष्ट्रिय वाणिज्य बैंक बेसीशहर शाखाका प्रबन्धक इन्द्र विलास न्यौपानेले बताए । उनले रकम हराएको विषयमा आफुलाई २० मिनेटपछि मात्रै थाहा भएको र तुरुन्तै प्रहरीमा खबर गरेको बताए । यता दिउँसै बैंकभित्रैबाट लुटेराले रकम लुटेपछि प्रहरीले २ घण्टासम्म बैंक बन्द गर्न लगाई आवश्यक अनुसन्धान समेत गरेको थियो । लुटेरा फरार भएकोे र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बैंकमा सीसी क्यामेरा नभएकोले लुटेराहरुको पहिचान गर्न कठिन हुने बताइएको छ । लमजुङमा यसरी बैंकभित्रैबाट रकम लुटिएको यो पहिलो घटना हो ।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment