Sunday, July 12, 2015

रेस्टुरेन्ट डान्सरदेखि नायिकासम्म पूजनाकाे फिल्मी यात्रा


 उनी एक समय १२ सय रुपैयाँका लागि गार्मेन्टमा सामान्य मजदुरी गर्थिन्। त्यसपछि केही वर्ष रेस्टुरेन्टमा कम्मर मर्काइन्। डान्सर पेसामा २५ सयबाट सुरु भएको तलब बढेर ५ हजारसम्म गयो। उसबेला हिरोइन बनुँला भन्ने सोच्नु भनेको ‘आकाशको फल अाँखा तरी मर्’ भनेजस्तै थियो।


पूजना प्रधानको मामिलामा संयोग बलियो भइदियो।

एक दिन निर्माता छविराज ओझा र श्याम खेतान पूजनाले डान्स गर्ने ठमेलस्थित ‘टप टेन फेमिली रेस्टुरेन्ट’ टुप्लुक्किए। उनको कौशल देखेर छविराजहरूले फिल्म अफर गरे। ‘हिरो’ ले पूजनाको भाग्य र बाटो दुवै बदलिदियो। त्यसयता करिब तीन दर्जन फिल्ममा अभिनय गरिसकेकी उनी पछिल्लो समय कथाकार र निर्मात्रीका रूपमा उदाएकी छन्।

‘त्यही रेस्टुरेन्ट डान्सरको जागिर नै मेरो यहाँसम्म आउने सिँढी बन्यो,’ ‘चकलेट’ को प्रिमियरका लागि हङकङ आएकी पूजनाले कान्तिपुरसँग भनिन्, ‘त्यो समयलाई बिर्सने वा लुकाउने कुरै आउँदैन। म करोडपतिकी छोरी थिइनँ। त्यसैले मेरो पहिलो पेसाप्रति मलाई अहिले पनि गर्व छ। उसबेला सँगै काम गर्ने साथीसंगीहरू भेट्दा अझै पनि खुसी लाग्ने गर्छ।’

१४ वर्षकी थिइन् त्यति बेला उनी। ‘हाम्रो पालामा रेस्टुरेन्ट डान्सरको पेसा भल्गर थिएन, कल्चरल डान्स हुन्थ्यो,’ डान्सर भन्नासाथ समाजले नकारात्मक दृष्टि लाउने सन्दर्भ कोट्टयाउँदै उनले थपिन्, ‘अर्को कुरा, म उमेरले सानै भएकीले पनि अन्य कुराप्रति ध्यानै गएन।’

पूजना नाच्न भनेपछि सानैदेखि सिपालु थिइन्। त्यो थाहा पाएका उनका छिमेकी धर्म गुरुङले उनलाई देउसीभैली हुँदै स्टेजसम्म पुर्‍याए। ‘जाउँm जाउँm रेलैमा...’ पहिलोपटक सडकगल्लीबाट उकासिएर राष्ट्रिय सभागृह पुग्दा नाचेको गीतको सम्झना अझै छ पूजनालाई।

थुप्रै फिल्म गरिसक्दा ‘मन खाएको कथा पाएको भए चकलेट लेखिँदैनथ्यो’। त्यसले उनलाई आफैं कथा लेख्न हौस्यायो। झन्डै डेढ वर्ष लगाएर लेखिन् उनले कथा। पटकथा र संवाद पनि उनकै हो। सडक बालबालिका र घरानिया परिवारबीच विभेदको विषय समेटेको कथाले समाजसेवाका लागि समेत अभिप्रेरित गर्छ। अभिनेता समेत रहेका निर्मल शर्मा ‘चकलेट’ बाटै निर्देशकका रूपमा उदाएका हुन्।

कुनै कालखण्डमा पूजना विन्दास पाराकी थिइन् रे। जसरी कमायो उसरी उडायो। पुष्पराज पुरुषसँगको संगतले उनलाई ध्यान र योगतर्फ मात्र डोहोर्‍याएन, सोच्ने र जीवन जिउने कलामै परिर्वतन ल्याइदियो। त्यसैको फलस्वरूप बुटवलको वनकट्टामा उनीहरूले ‘नवजीवन बालआश्रम’ सञ्चालनमा ल्याएका छन्, जहाँ १० जना विपन्न बालबालिकाले आश्रय पाएका छन्। ‘तीमध्ये दुई जनालाई मैले आफ्नै छोराछोरीसरह मान्दै आएकी छु,’ उनले भनिन्।

बालबालिकाप्रतिको मोहले नै उनीहरूकै कथामा फिल्म बनाउन घचघच्याएको उनले बताइन्।

पूजना भन्नासाथ दर्शकमा हट, सेक्सी नायिकाको छवि छ। आफ्नै फिल्ममा भने उनी फोहोरी सडक युवतीको भूमिकामा छिन्। यतिविघ्न ‘यू टर्न’ किन? ‘मैले सुरुदेखि नै ग्ल्यामर छवि बनाएँ,’ उनले भनिन्, ‘उसबेला छोटो लुगा लगाए राम्रो हुन्छ भन्ने थियो, तर अहिले दर्शकको चाहना र संस्कार बुझेँ। १३ वर्षे फिल्मी यात्राले धेरै कुरा सिकाएको छ। पहिले नजानेर गरेँ, अब संस्कारसहितको ग्ल्यामर सिन दिन्छु।

0 comments:

Post a Comment