Monday, July 13, 2015

ड्राइभिङ लाइसेन्सको सट्टा स्मार्ट कार्ड लिन २५०० लाग्ने


यातायत व्यवस्था विभागले चालक अनुमति पत्र लाइसेन्सलाई ‘स्मार्ट कार्ड’मा बदल्ने गरी तीब्र गतिमा काम अघि बढाएको छ। ढिलोमा कात्तिकको पहिलो सातासम्ममा ‘स्मार्ट कार्ड’ सञ्चालनमा ल्याउने विभागका महानिर्दैशक मधुसुधन बुर्लाकोटीले सेतोपाटीलाई बताए। साउनमै कार्ड सञ्चालनमा ल्याउने योजना भएपनि भूकम्पका कारण पर सरेको उनले जानकारी दिए। ‘कार्ड बनाउन खटेको मद्रासी प्राविधिक टोली भूकम्पपछि घर गएकोले काम ढिलाइ भएको हो’, उनले भने, ‘अहिले सो टोली नेपाल फर्केर धमाधम काम गरिरहेको छ,’ उनले भने। स्मार्ट कार्ड भनेको इलेक्ट्रोनिक कार्ड हो। यसमा देखिने र नदेखिने गरि २ प्रकृतिका तथ्याङ्क हुन्छन्। स्मार्ट कार्डमा १६ हजार डाटा अट्ने चिप्स हुने बुर्लाकाटीले जानकारी दिए। कार्ड मेसिनमा हाल्नासाथ चालकका बारेमा सहजै सबै जानकारी पाइने उनले बताए। विभागमा थन्किएर बसेको योजनालाई बुर्लाकोटीले गति दिएका हुन्। ३ वर्ष अघि नै सरकारले लाइसेन्स स्मार्ट कार्डमा बदल्ने निर्णय गरेको भएपनि काम अघि बढ्न सकेको थिएन। स्मार्ट कार्डलाई इन्टरनेट नभइ ‘इन्ट्रानेट’ प्रविधिमा चलाइन्छ। काठमाडौं, लाहन र बुटवलबाट स्मार्ट कार्ड वितरण शुरू गरिने बुर्लाकोटीले बताए। स्मार्ट कार्ड लिन पूर्वका मानिसले लाहन र पश्चिमका मानिसले बुटवल आउनुपर्ने छ। मध्यक्षेत्रका मानिसले काठमाडौंबाट प्राप्त गर्न सक्नेछन्। उपत्यका बाहिरका जिल्लाहरूमा आवश्यक पर्ने उपकरण विभागले पठाउन सुरू गरिसकेको छ। स्मार्ट कार्ड प्रयोगमा ल्याउनका लागि विभागले २७२ जना कर्मचारीलाई तालिम दिइरहेको छ। स्मार्ट कार्डमा अहिले तथ्थांक अपलोड गर्ने कार्य भइरहेको छ। ३ वर्षभित्र सबै लाइसेन्सलाई स्मार्टकार्डमा बदलिसक्ने विभागको लक्ष्य छ। ‘दुई थरी लाइसेन्स धेरै राख्नुहुन्न’, बुर्लाकोटीले भने। नेपालमा अहिले २४ लाख लाइसेन्स बितरण गरिएको विभागले जनाएको छ । स्मार्ट ड्राइभिङ लाइसेन्स आपराधिक समूहले नक्कली बनाउन नसक्ने बुर्लाकोटीले जानकारी दिए । छोटो समय पानीले भिजेपनि केही नहुने र कार्ड नभाँचिने उनले सुनाए। स्मार्ट कार्ड लिनका लागि सवारी चालक अनुमति पत्र लिएकाहरूले कम्तीमा पनि २५ सय तिर्नुपर्ने भएको छ। स्मार्ट कार्ड १० वर्षका लागि विभागले जारीगर्छ। २०५९ सालदेखि लाइसेन्सको शूल्क विभागले बढाएको छैन्। विभागले अहिले बाढ्दै गरेको लाइसेन्सको म्याद ५ वर्षको छ, शूल्क १ हजार रूपैया छ। अहिले लाइसेन्स प्रयोग गरिरहेकाले स्मार्ट कार्ड लिन अनलाइनबाट फर्म भर्ने व्यवस्था मिलाउने बुर्लाकोटीले जानकारी दिए। अनलाइनबाट फर्म भरेपछि कार्यालयले बोलाउने र उसैले फोटो खिचेर स्मार्ट कार्डमा राख्नेछ। फिंगर प्रिन्ट र दस्तखत पनि लिइने बुर्लाकोटीले जानकारी दिए। अहिले विभागसँग कार्ड छाप्ने प्रिन्टर ३ वटा मात्र रहेको र आगामी वर्ष ५ वटा थपिने बुर्लाकोटीले जानकारी दिए । एउटा प्रिन्टरले कम्तीमा पनि १ लाख छाप्छ । जसको मूल्य ६० देखि ८० हजारसम्म पर्छ। ट्राफिक प्रहरीलाई कार्ड पढ्न मेसिन चलाउने ज्ञान हुनु आवश्यक छ। यसका लागि ४ सय ५० भन्दा पार्टेबल कार्ड रिडर मेसिनको खाँचो हुन्छ। कम्प्युटर र बत्ती पनि यसका लागि आवश्यक पर्छ।

0 comments:

Post a Comment