भीमदत्तनगर, १२ साउन
बैतडीमा चितुवाको आक्रमणबाट फेरि एक बालिका गम्भीर घाइते भएकी छन् सोमबार साँझ बैतडीको दक्षिण पश्चिम दुर्गम तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–७ रथडी गाउँका ज्ञानसिंह महताकी १५ वर्षीया छोरी कमला महता गम्भीर घाइते भएकी हुन्।
घरनजिकै घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेर लगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चितुवाले आक्रमण गरेकाबेला बालिका चिच्याएपछि स्थानीय बासिन्दाले होहल्ला गरी बालिकालाई जोगाएको स्थानीय वीरेन्द्र महताले बताए।
घाइते बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पठाइएको छ। उदयदेवमा यसअघि असार २८ गते पनि छ वर्षीया बालिका ललिता साउदलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो।
बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले आक्रमण गर्दै आएको छ। सो क्षेत्रमा केही वर्षयता २२ जनाको ज्यानसमेत चितुवाले लिइसकेको छ। रासस
0 comments:
Post a Comment