Friday, July 10, 2015

केहीबेरमा अमेरिकासँग भिड्दै नेपाल विश्व टि-२० छनाेट


अाइसीसी/स्पोर्टस्फाइल
काठमाडौ, असार २५ - विश्व ट्वान्टी–२० छनोटमा लगातार तेस्रो पटक सहभागिता जनाइरहेको नेपालले अब केही छिनमा अमेरिकासँग खेलेर उत्तरी आयरल्यान्डमा आफ्नो यात्रा सुरुआत गर्दैछ ।

यसअघिका दुई संस्करणमा १९ खेल खेलिसकेको नेपालले अमेरिकासँग आधिकारिक ट्वान्टी–२० मा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता टोली हो । अमेरिका भने अमेरिका डिभिजन १ मा क्यानाडाका अगाडी उपविजेता हुँदैं आयरल्यान्डको यो प्रतियोगिताका लागि छनोट भएको हो ।

नेपालले यो छनोट प्रतियोगितामा अहिलेसम्म ११ मा विजय हात पारेको छ भने ८ मा पराजय भोगेको छ । पछिल्ला दुवै संस्करण युएईमा हुँदा नेपाल २०१२ मा सातौं र २०१३ मा तेस्रो भएको थियो । २०१३ को प्रतियोगितापछि नेपाल विश्व ट्वान्टी–२० मा छानिदैं विश्वकपको ढोका खोलेको थियो ।

अमेरिका पछिल्लो पटक यो प्रतियोगितामा सहभागि १६ टोलीमा १५औं भएको थियो । तर प्रतियोगिता अघिको अभ्यास खेलमा अमेरिकाले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । तर नेपाल विशेष गरी गरी ट्वान्टी–२० मा दिन दिनै माथी चढिरहँदा अमेरिकाको सवै खाले संरचनामा खस्कदो प्रर्दशन छ । नेपालले गत वर्ष मलेसियामा विश्व क्रिकेट लिग डिभिजन ३ जित्दा अमेरिका डिभिजन ४ मा झरेको थियो । अमेरिकी क्रिकेट बोर्डमा लगातारको विवादपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले अघिल्लो महिना अमेरिकालाई निलम्बन समेत गरेको थियो ।

त्यसयता अमेरिका टोलीमा धेरै परिवर्तन गरिएको छ । एकदिवसीयमा अमेरिकासँग १० खेल खेले पनि वर्तमान टोलीमा ७ नया खेलाडी रहेकाले उनीहरुको बारेमा नेपाल अनभिज्ञ रहेको प्रशिक्षक पुबुदु दासानायके बताउछन् । सोही अनुरुप दासानायके नेपाल आफ्नै शक्तिमा विश्वास गर्नेछ । त्यो भनेको बलिङ र फिल्डिङ हो ।

नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुने खेलमा घरेलु समर्थक सवैको ध्यान भने नेपालको ब्याटिङमा हुनेछ । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र मध्यपंक्तिका शरद भेषावरकको आडमा मात्र नेपाली ब्याटिङ टिकेकाले दासानायकेले अन्य खेलाडीबाट पनि त्यही अपेक्षा गरेका छन् । विशेष गरी ओपनिङ ब्याट्सम्यानद्वय सुवास खकुरेल र सागर पुन तथा माथिल्लोक्रमका ब्याट्सम्यान विनोद भण्डारीको प्रदर्शनले युरोप भ्रमणमा नेपालको प्रर्दशनलाई निरश बनाएको थियो र नेपालले अघिल्लो हप्ता नेदरल्यान्ड्ससँगको ४ खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–१ ले गुमाएको थियो ।

0 comments:

Post a Comment