टी-ट्वान्टी विश्वकप छनौटको समुह चरणमा नेपालले खेल्ने दुई खेल मात्र टिभीमा हेर्न पाइने
काठमाडौं: आगामी वर्ष भारतमा हुने टी-ट्वान्टी विश्वकपका लागि छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल आफ्नो चीर प्रतिद्वन्द्वी अमेरिकासँग भिड्दैछ।
स्टोरमन्ट, बेलफास्टको सिभिल क्रिकेट क्लबको मैदानमा शुक्रबार साँझ नेपाली समयअनुसार साँझ ७ बजेबाट सुरु हुने खेलमा नेपाल जीतका लागि खेल्नेछ। प्रतियोगिता खेल्न जानु अगाडि कप्तान पारस खड्का तथा प्रशिक्षक पुबुदु दासानायकेले नेपालको लक्ष्य कम्तीमा समुहमा दोस्रो हुने बताएका थिए। अझ पारसले त छनौट प्रतियोगिता जित्ने लक्ष्य रहेकोसम्म बताएका थिए।
छनौट प्रतियोगिता अघि नेदरल्याण्ड्ससँगको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ३-१ ले पराजित भएर आयरल्याण्ड पुगेको टीमले अभ्यास खेलमा पनि राम्रो प्रदर्शन देखाउन सकेन। पहिलो अभ्यास खेलमा नेपालले ब्याटिङ नै गर्न पाएन भने दोस्रो अभ्यास खेलमा युएईसँग २० रनले पराजित भयो। नेपालले आयरल्याण्ड्समा भएको सिरिज र अभ्यास खेल गरेर जम्मा ६ वटा खेल खेल्यो जसमा ५ वटामा पहिले बलिङ गरेको थियो।
युएईसँगको अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका ब्याट्सम्यानमा शरद भेषावकर बाहेक अरु ब्याट्सम्यान खासै जम्न सकेनन्। शरद भेषावकर फर्ममा फर्किनु नेपालका लागि सुखद लक्षणका रुपमा लिन सकिन्छ। त्यसो त कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल पनि राम्रो ब्याटिङ गरिरहेका छन्। नेपालका लागि शुरुवाती ब्याट्सम्यानको फर्म चिन्ताको विषय रहेको छ।
नेपालको बलिङलाई बलियो पक्षका रुपमा लिइन्छ। तीव्र गतीका बलर सोमपाल कामी र करण केसीको प्रदर्शन नेपालको लागि चिन्ताको विषय बन्न सक्छ। अर्का बलर जितेन्द्र मुखियाले युएईसँगको अभ्यास खेलमा आफ्नो बलिङ फर्मको पुनरागमनको संकेत दिएका छन्। यो नेपालका लागि प्लस पोइन्ट हुनेछ। सुवास खकुरेल, सागर पुन, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकरजस्ता अनुभवी खेलाडी रहेको नेपालका लागि प्रतियोगिताको सुरुवात आफ्नो पक्षमा परिणाम ल्याउन गाह्रो हुने छैन।
अमेरिका उसका महत्वपुर्ण र आक्रामक ब्याट्सम्यान तथा विकेट किपर स्टेभन टेलर बेगर प्रतियोगितामा आएको छ। टेलरका स्थानमा यु-१९ का कप्तान शिव भासिशात टीममा छन्। अमेरिकी टीममा अर्का एकजना नयाँ खेलाडी छन्। मुहम्मद घोसको कप्तानीमा रहेको अमेरिकाको बलियो पक्ष अफस्पीन बलिङ रहेको छ। अमेरिकाका बायाँ हाते तीव्र गतिका बलर नासीर जमाली नेपालका लागि चुनौतिका रुपमा खडा हुनेछन्।
नेपाल समूह ‘ए’ मा रहेको छ। यो समुहमा आयोजक आयरल्यान्डसँगै पपुवा न्युगिनी, हङकङ, अमेरिका, नामिबिया र जर्सी छन्। नेपाल र अमेरिकाले अहिलेसम्म सबै प्रतियोगितामा १९ खेल खेलेका छन् जसमध्ये नेपालले ११ वटामा जीत हात पारेको छ। टी-ट्वान्टीमा भने नेपाल र अमेरिका पहिलोपटक आमने सामने भएका हुन्। ५० ओभरको खेलमा नेपालको प्रदर्शन अमेरिकाभन्दा राम्रो रहेको छ।
समूहविजेता टीम सोझै विश्वकपमा छानिनेछन्। प्रत्येक समूहबाट शीर्ष चार टीम दोस्रो चरणमा पुग्नेछन्। त्यसमा समूह ‘ए’ को दोस्रो हुनेले समूह ‘बी’ को तेस्रो हुनेसँग तथा समूह ‘बी’ को दोस्रो हुनेले समूह ‘ए’ को तेस्रो हुनेसँग खेल्नेछन्। यसमा विजयी हुने टीम पनि विश्वकपमा पुग्नेछन्। पराजित टीमले दुवै समूहको चौथो हुने टिमसँग प्लेअफमा खेल्नेछ। आयरल्यान्डको प्रतियोगिताबाट शीर्ष ६ टिम भारतमा अर्को वर्ष हुने विश्वकपमा पुग्नेछन्। पूर्ण १० राष्ट्रले सोझै प्रतियोगितामा खेल्नेछन्।
0 comments:
Post a Comment