काठमाडौं,असार २७ – एमाओवादी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच नेतृत्व परिवर्तनको विषयलाई लिएर सार्वजनिक कार्यक्रम मै घोचपेच भएको छ । आईतवार अनेरास्ववियु क्रान्तिकारीले राजानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एकै मञ्चमा उपस्थित दुई नेताबीच यसरी घोचपेच भएको हो ।
प्रचण्डभन्दा अगाडी बोलेका बरिष्ठ नेता भट्टराईले शुरुमै पार्टीभित्र अन्तरविरोध हल नगरी कुरा काट्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका थिए । केही दिनअघी राजधानीको एक पार्टी प्यालेशमा भट्टराईले आफ्नो समुहको छुट्टै भेला गरेपछी अध्यक्ष प्रचण्ड र भट्टराई बिच दुरि बढेको आशंका गरिएको थियो ।
आफू अल्छी भएर काम गर्नेलाई दुरुत्साहीत पार्ने प्रवृत्ति पार्टीमा विकास भएको भन्दै भट्टराईले भने, ‘काम गर्नेका विरुद्ध कराएर,सरापेर केही हुँदैन ।’
गत मंसिर २८ गते केन्द्रिय समितिको बैठकमा पेश भएको नेतृत्व परिवर्तन सम्वन्धी प्रस्तावबारे छिट्टै निर्णय लिनुपर्ने तर्क गर्दै भट्टराईले भने, ‘अब नयाँ बिचार अनुसार संगठन र नेतृत्वको विकास गर्नुपर्छ । अब महादेवले सतिदेविको लाश बोकेजस्तो गरेर पूरानो नेतृत्वलाई बोकेर काम छैन । यसरी सतिदेवीलाई बोकिरहने हो भने, तिनको अंग गलेर बैद्य र विप्लव झरेजस्तै हुन्छ ।’ उनले आफ्नो नेतृत्व परिवर्तनको प्रस्तावमा सहयोग गर्न युवापंतीलाई सार्वजनिक आह्वान गरे ।
‘हिजो मोहनविक्रमले बुर्जुवा भनेर पेल्दा मैले नै सहयोग गरेको हैन ?’: प्रचण्ड
बाबुरामपछि मञ्चमा निम्त्याईएका पार्टी अध्यक्ष प्रचण्डले वावुरामलाई संकेत गर्दै भने, ‘पार्टी स्वार्थै स्वार्थको झुण्ड भैसक्यो, एउटै जिल्लामा नौ गुट कसरी बन्यो ? यसरी गुट बनाउँदै हिँडे हाम्रो विगठनलाई कसैले रोक्न सक्दैन,विचार एउटै छ तर गुट बनाउँन छाड्दैनौं यो केहो ?’
किटेरै नभनेपनि बावुरामलाई बुर्जुवाको संकेत गर्दै उनले भने, ‘हामीलाई कुन बिचारले डोहोर्याएको छ, बुर्जुवाहरु एउटा भन्छन्, अर्को गर्छन्, हाम्रो भनाई र गराईमा तारतम्य मिलेन । नयाँ ढंगको पार्टी भनेको समानान्तर कमिटी हो ?’
दोस्रो र तेस्रो तहका नेताहरुले आफ्नो जिम्मा अनुसारको काम गरेमात्र पार्टि संगठन सुदृढ हुने तर्क गर्दै प्रचण्डले भने, ‘नेतृत्व परिवर्तनको कुरा कसैको नियतले रोकिएको हैन, परिस्थती त्यस्तै बन्यो ।’
‘मोहनविक्रम सिंहले बाबुरामलाई विश्वास नगर्नु,उसलाई जिल्ला सदस्यबाट माथि आउन दिनु हुँदैन भन्दा मैले अस्विकार गरेको थिएँ । प्रचण्डले भने, ‘अहिले माया गरेपनि गाली गरेपनि त्यतिबेला क्रान्तिकारिहरुको टिम बनाउने मै हुँ ।’
नेपाली कम्युनिष्ट आन्दोलनमा नेता बुढो हुँदै गएपछि काम नलाग्ने भन्दै फाल्ने प्रवृत्ति रहेको भन्दै उनले प्रश्न गरे, ‘त्याग र तपस्या गरेकालाई अर्को नेताले नन्याकी हुँदैन ? छाला काढ्न पूरै पावर लगाउने प्रवृत्तिले कसरी क्रान्ति हुन्छ ?’
0 comments:
Post a Comment