Monday, July 13, 2015

घाउ दुखे नि मन खुसी


काठमाडौं- पुरानो बानेश्वरका उत्तमराज खड्काको देब्रे हात र दाइने तिघ्रामा निलडाम छ। घाउको चोटका कारण आएको ज्वरोले ओठ कलेटी परेको छ। तर उनको अनुहार भने धपक्क बलेको छ। पुरानो बानेश्वर चोकमा शुक्रबार भएको झढपमा प्रहरीको लाठी खाएका उनी रातारात सडकको काम हुन थालेपछि मनमा खुसी छाएको बताउँछन्। 'घाउ दुखे नि मन खुसी छ,' उनले भने, 'शुक्रबारको आन्दोलन सकेलगत्तै शनिबार बिहानैबाट काम सुरु हुँदा पीडामा पनि खुसी मिलेको छ।' सिनामंगल–बानेश्वर–मैतीदेवी सडक खण्डमा सरोकारवाला निकाय र जिम्मेवार निर्माण कम्पनीले दुई किलोमिटर सडक विस्तारको काम दुई वर्षसम्म नसकाएपछि उनी पनि आन्दोलनमा उत्रिएका थिए। 'शुक्रबार बिहानको आन्दोलन चर्कन थालेपछि मध्याह्नतिर प्रहरीले एक्कासि लाठी चार्ज गरे,' उनले भने, 'एउटा लट्ठी तिघ्रामा र अर्को हातमा बजि्रयो।' लाठीको पीडाले निलडाम पर्नुका साथै ज्वरो पनि आएपछि 'एन्टिबायटिक' खानुपरेको उनले सुनाए। 'अहिले घाउको पीडा र प्रहरीप्रतिको आक्रोश दुवै कम भएको छ,' उनले भने, 'जेका लागि हामीले दुःख पाएका थियौं, त्यो पूरा हुने क्रममा छ।' उनको जस्तै भोगाइ छ, बानेश्वर चोक नजिकका सुन व्यवसायी डम्ब विश्वकर्माको। आँखाको डिलमा लौरो बज्रेपछि घाउमा तीन टाँका लगाउनुपरेको छ। घाउको पीडा बन्दै गरेको सडकले भुलाएको उनी सुनाउँछन्। 'त्यो दिन त पीडा सहिनसक्नु थियो,' उनले भने, 'अहिले बिस्तारै हराउँदैछ।' एक दिन त आँखा खोल्न पनि मुश्किल परेको उनले बताए। 'अहिले आँखा निको भएको छ, बाटो सफा देखिएको छ,' उनले भने, 'चोटले 'फल' पाएको छ।' सोही दिनको आन्दोलनको भागदौडमा सुरज भट्टराईको खुट्टा मर्केको छ। अहिले सडकसम्म भएपछि उनी खुसी छन्। 'खाल्डाखुल्डी सडकका कारण थुप्रै लड्ने गरेका थिए,' उनले भने, 'सडकसम्म हुँदा मन खुसी भएको छ।' बिहीबार र शुक्रबारको आन्दोलनमा निर्माण कम्पनीविरुद्ध नारा लगाउँदा उमेशप्रसाद श्रेष्ठको घाँटी बसेको छ। तर आफ्नो आवाज सम्बन्धित निकायसम्म पुगेकोमा उनी खुसी छन्। 'आवाज सरकारको कानमा पुगेको छ,' उनले भने, 'अहिले मेरो घाँटी बसे पनि कामले गति लिँदा खुसी लागेको छ। सडक निर्माण काममा अति ढिलो भएपछि बिहीबार र शुक्रबार स्थानीय त्यही हिलो सडकमा ओर्लिएर आन्दोलन गरेका थिए। उनीहरुले नाराबाजी, हिलोमै टायर बाल्ने र झार रोप्नेलगायत विरोध गरेका थिए। बूढापाका, केटाकेटी, युवा, गृहिणी सबै ढोकै बन्द गरेर सडकमा आएर बाउसे थाले, धानका ब्याड मगाएर बिहीबार रोपाइँ पनि गरेका थिए। प्रहरीले शुक्रबार निर्माण कम्पनीका प्रतिनिधि बोलाएर तत्काल सडक निर्माण सक्ने सहमति गराएको हो। सरकारी निकाय, स्थानीय र ठेकेदार प्रतिनिधिबीच दुई दिनभित्र हिलो पन्छाएर सडक बेस तयार गर्ने र तीन दिन पानी नपरे पिच सुरु गरिहाल्ने भएको थियो। मध्यसहरको दुई किलोमिटर सडक खण्ड निर्माणमा भएको चरम लापरबाही र ढिलाइले आजित स्थानीयले आक्रोश पोखेपछि ठेकेदार कम्पनी 'लामा बिल्डर्स–बिरुवा–च्याङमिला' ले शनिबार बिहानैदेखि बानेश्वर खण्डमा सडक निर्माण कार्य अगाडि बढाएपछि सर्वसाधारण खुसी छन् । कम्पनीका तर्फका इन्जिनियर निरञ्जन न्यौपानेले काम तीव्र रूपमा अगाडि बढेकाले मौसमले साथ दिए एक साताभित्र उक्त स्थानमा कालोपत्र गरिने बताए। 'बिहीबार र शुक्रबारको रोपाइँको फल शनिबारबाटै आउन थाल्यो,' सडक विस्तार नागरिक सहयोग समितिका अध्यक्ष लक्ष्मण जोशीले भने, 'आन्दोलनमा दुःख पाए पनि प्रतिफल राम्रो आउँदा खुसी लागेको छ।

0 comments:

Post a Comment