जब म महिला अधिकारका ठूला र पेचिला गफहरू पढ्छु, सुन्छु र देख्छु त्यो बेला मेरी ३९ वर्षीय लाटी दिदीको धेरै खिसी गरे जस्तो लाग्छ । मैले, कहिल्यै लाटी दिदीको अधिकार, आशा, इच्छा र आकांक्षाहरू कुनै पनि महिला अधिकारकर्मीको मागभित्र परेको देखिनँ। शायद मेरी दिदी र दिदीजस्तै अन्य अपांगहरू मान्छेको अधिकारभित्रका दायराहरुभित्र पर्दैनन्। त्यसैले धेरै दुःख मनाउ छैन। लाटी दिदीलाई बाले पढन लेख्न सिकाउनु भएन दुःख यसैमा छ। मुश्किलले छोरोमान्छे पढ्न पाउने ठाउँमा जन्मेकी त्यसमाथि लाटी छोरी पढ्नु एकादेशको कथा मात्र भयो। उमेर ढल्दै गरेकी मेरी लाटी दिदी आँखाभरी टलपल आँसु बनाउँदै औँलाको इसारामा ‘म मरे तिमीहरूलाई कति आनन्द हुन्थ्यो’ भन्ने कुरा बुझाउने प्रयास गर्छे, तब मलाई यो मृत्यु भन्ने शब्ददेखि नै विस्मात जागेर आउँछ। शायद लाटीलाई लाग्दो हो, उसले भोगेको जीवनभन्दा मृत्युमा बढी सुख छ। त्यसैले लाटीले मृत्युको कुरालाई जोड दिन्छे। संसार कसरी, कस्तो र कता चलिरहेको भन्ने कुरा मेरी लाटी दिदीकालागि सूर्यको आयतन नापेजस्तै हो। संसार परिवर्तन हुनु, विकास हुनु, महिलाहरू पुरुष बराबर हुनु वा पुरुषका दासी हुनु वा पुरुषहरू महिलाका दासी हुनुले लाटीको जीवनमा कुनै माने राख्दैन।
लाटीले घर छेउमा रहेको बालमन्दिरमा तत्कालिन राजा वीरेन्द्र लिटो बाँड्न हेलिकप्टर चढेर आएको देखि। तर, त्यसले लाटीको जीवनमा कुनै परिवर्तन ल्याएन। बालमन्दिरमा हेलिकप्टर आएर बसेको अहिले पनि सम्झिन्छे लाटी। घर छेउमा घुलो उडाउँदै हेलिकप्टर आएर बस्यो र फर्केर गयो। अहिले पनि आकाशमाथि हेलिकप्टर उडेको देख्दा लाटी खुसी हुँदै भन्छे ‘हेर, फेरि राजा आए।’ लाटीले बुझेको राजतन्त्रको सिंगो इतिहास र देखेको परिवर्तन यत्ति हो। माओवादीको द्वन्द्व र लोकतन्त्र लाटीको जीवनकालागि सबैभन्दा ठूलो अध्यारो आयाम हो।
घर मुन्तिरको बाटो हुँदै हिँडिरहने माओवादीका लडाकु र सुरक्षाका लागि खटिएका सयौँ सेनाहरुलाई बारीमा फलेको स्याउ टिपेर बाँडिहोला। लाटीले जानेको त्यत्ति थियो। असामान्य जीवन बाँचिरहेकी लाटीले एकाएक पेटमा बच्चा बोकी। बोल्न नसक्ने लाटीले बच्चाको बाबु भनेर कसैलाई चिनाउन सकिन। बच्चा फाल्न गरिएका सबै प्रयाश असफल भए। लाटी छोरी जन्मेदेखि समाजलाई झेल्दै आएका बाले अर्को काण्ड झेल्नु पर्यो। दुईचार महिनासम्म पेट देखिएन र पछि बच्चा फाल्न प्रयोग गरिएको दवाइले काम गरेन। बच्चा फाल्ने प्रयाश गर्दा गर्दै महिना पुग्यो। लाटीले एक्लै जंगलमा बच्चा जन्माइ। आफैं हातले सालनाल चुटाइ र, बाटोभरी रगतको धारो बगाउँदै रातो मासुको डल्लो घर बोकेर ल्याई। सुत्केरीले पाउने सेवा, सुरक्षा र हेरचाह लाटीका लागि सबै खोया भए। माओवादीका लडाकु वा सुरक्षाका लागि हिँडेका सेनामध्ये कसैले बोल्न नसक्ने र राम्रोसँग हिँड्न समेत नजान्ने मेरी लाटी दिदीलाई ‘रेप’ गरेर हिँडे। राम्रोसँग बाँच्नसमेत नजानेकी लाटीले युद्वको ठूलो मूल्य चुकाइ।
माओवादी द्वन्द्वको उठानले लाटीको जीवनमा ल्याएको ठूलो परिवर्तन यही हो। ‘यही परिवर्तनका लागि बाटोमा मान्छेहरू बन्दुक बोकेर हिँडे होलान्’ भन्ने बुझाइ होला शायद लाटीको अहिलेपनि। बन्दुक त्यसको लागि बोकिएको थिएन, भनेर कोहि माइकलालले पनि अब लाटीलाई सम्झाउन सक्ने हैशियत राख्न सक्ने छैन।
हामीले त बच्चा पाउने भएपछि मात्र थाहाँ पायौँ। ‘रेप’ कसरी गरियो यसको जवाफ केवल लाटीसँग छ। लाटीलाई लेख्न पढाउन सकिएन। औलाको इसाराले मात्र हामी बुझ्न सक्दैनौं। कहिले काँही लाग्छ, लाटीलाई लेख्न पढ्न सिकाएको भए कसले ‘रेप’ गर्यो भनेर पानामा लेखेर दिन सक्थी।
प्रतिशतका हिसाले अधिकार माग्ने मुद्दाहरूमाथि केन्द्रीत महिला अधिकारका कुराहरुले मलाई त्यत्ति सुन्तुष्टि दिदैनन्। महिलाका लागि शिक्षामा बढी जोड दिनुको सट्टा प्रतिशतका दरले अधिकार मागेको देख्दा महिला अधिकारकर्मीप्रति मलाई दया जागेर आउँछ।
लाटीले भाषण बुझ्न सक्दिन। समाजका देखिएका परिवर्तनका ‘थेसिस’ पढन सक्दिन। महिला अधिकारका लागि भनेर गरिएको लगानी लाटीका लागि फगत मिथ्या हुन्।
सामान्य मान्छेका लागि हिजो र आजको जीवन बाँच्ने शैलीमा कुनै परिवर्तन आएन भने हामीले भन्दै गरेको ‘परिवर्तन’ सबै कपट मात्र हो । मेरी लाटी दिदीले समाज परिवर्तनका नाममा केवल कपट मात्र देखि। र, यही सत्य बोकेर लाटी मर्ने छे एकदिन।
‘लाटी मरे आनन्द हुन्थ्यो’ भन्ने शब्द शायद लाटी दिदीले जन्मेको केहि वर्षदेखि सुन्नु पर्यो। बोल्न, हिड्न र बाँच्न नसक्ने लाटी छोरीका लागि बाले समाजमा अनेकन अल्झनहरू झेले। सुनेको थिएँ, पापबाट मुक्ति पाओस् भनेर लाटीलाई मुसाको दवाइ दिइएको थियो रे, ऊ बेला।
लाटी छोरी जन्मनु गाँउमा पाप मानिन्छ। त्यो ‘पाप’ बोकेर समाजमा बलियो भएर बाँच्ने दृष्टता बाले बोके। बोल्न, हिँड्न, खान र बाँच्न नजान्ने लाटी छोरीले बलात्कारपछि पेट बोकेर आएपछि झन के बेहोरे होलान्! त्यसको हिसावकिताव बाले आफैंसँग बोकेर हिँडिसके अब।
तर, लाटी दिदीले चुकाएको हिसावकिताव खोतल्ने हो भने, महिला अधिकारका ठूला–ठूलो गफ हाँक्ने हाम्रा समाजका अधिकारकर्मीलाई कहिँ न कतै त चस्क्क पार्नुपर्ने हो।
लाटीले घरमा ल्याएको रातो मासुको डल्लो (बच्चो) अहिले तेह्र वर्ष नाघ्यो। बच्चोले देख्दै गरेको अकाश र आमाको नाममा दिने भनिएको नागरिकताको खोस्टोले दिएको सास्तीको कुनै अर्को आलेखमा प्रस्तुत गरौँला। तर, अहिलेका लागि अधिकार भन्ने कुरा बोल्न नसक्नेहरूले पनि पाउने हो कि बोल्न सक्नेका लागि मात्र हो मलाई सधै दोधारमा पारिरहन्छ।
सेतो पाटीबाट साभार
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment