तिप्लिङ (धादिङ), श्रावण १४ - अपांगता भएकै कारण नामै नराखेका पछिल्ला दिदीबहिनी २ वर्षदेखि खोरमै छन् । कामकाजमा निस्कँदा सम्हाल्ने कोही नभएपछि ६ वर्षीया र ४ वर्षीया २ बहिनीलाई अभिभावकले घरको चोटामा बनाएको खोरमा थुन्ने गरेका हुन् । तिप्लिङ ७ मचेत गाउँका पूर्णबहादुर र मनमाया तामाङका पछिल्ला दुवै सन्तान बौद्धिक अपांगता भएर जन्मेका थिए । यसअघिका एक छोरा र छोरी भने सामान्य अवस्थाका छन् । १० र १२ वर्षका उनीहरू अहिले विद्यालय जान्छन् । गर्भवती भएका बेला खानपिन कमीले सन्तान यस्ता भएको उनीहरू बताउँछन् । ‘त्यतिबेला खडेरीले बस्तीमै खाने अन्नपात पाइँदैन थियो,’ तामाङले भने, ‘ठूलो अनिकाल पर्यो, पेटभरि ढिँडो पनि खान पाइएन, नानीहरूले राम्रोसँग दूध पनि पाएनन् ।’ यसै पनि पूर्णबहादुरको घर पखेरामा छ । जथाभावी भाग्ने डरले २ वर्षदेखि नै सुरक्षाका लागि ठूलीलाई खोर र सानीलाई काखमै लिई जाने गरेको तामाङ दम्पती बताउँछन् । भूकम्पपछि छोरीहरूको चिन्ता झनै बढेको छ । घर वरिपरि गोर्गेन पहिरो र मचेतखोलाको पहिरोले ३० घर छेकेपछि सन्तानको सुरक्षा चिन्ता झनै बढेको छ । सुरक्षामात्रै होइन, पछिल्ला २ सन्तान बौद्धिक अपांगता भएपछि लालनपालनमा समेत कठिनाइ परेको उनीहरू बताउँछन् । खाने बेला दुवैलाई बाहिर निकालेर ढिँडोलगायत खाना दिइन्छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment