रमेश प्रसाद आचार्य उपाध्यक्ष प्रबासी नेपाली मंच
वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षलाई मलेसियाबाट पत्र
बिमल ढकाल ज्यु, अभिवादन
सबैभन्दा पहिला वैदेशिक रोजगार ब्यबसायी संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा तपाईँ लगायत सम्पूर्ण पदाधिकारीहरुलाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु। साथै मलेसियामा रहनुभएका १० लाख नेपालीहरूको प्रतिनिधित्व गर्दै तपाईँ लाई यो पत्र लेख्दैछु।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले यही असार २१ गते बाट लागू हुनेगरि खाडीका ६ मुलुकसहित मलेसियाका लागि फ्री भिसा र फ्रि टिकट लागू गरेको छ। तपाईँहरुको अधिवेशन पश्चात् तपाईँहरूले सरकारको उक्त निर्णय विरुद्धमा अनिश्चितकालिन म्यानपावर बन्द गरि आन्दोलन गर्नुभएकोमा दु:ख लागेको छ।
हामीले आशा गरेका थियौ सरकारको उक्त निर्णयको पक्षमा तपाईँहरुले स्वागत गर्नुहुनेछ। तर, तपाईहरु उक्त निर्णयको विपक्षमा आन्दोलन गरिरहनुभएको छ। म तपाईंहरुलाई प्रश्न गर्न चाहन्छु के फ्रि टिकट र फ्रि भिसामा नेपाली कामदारहरु बिदेशमा जानू नाजायज हो? आज मलेसियामा रहने १० लाख नेपालीले सरकारको उक्त निर्णयको स्वागत गरिरहेका छन् र भनिरहेका छन् यो निर्णय लागू हुनुपर्छ।
सरकारले तपाईहरुलाई २० हजारसम्म लिन पाउने भनिरहँदा तपाहरूको आन्दोलन कसका लागि? तपाईँहरूले भन्नुहोला हामी नेपाली कामदारको पक्षमा छौ र सरकारको यो निर्णयले कामदारको माग घट्ने छ। म तपाईँलाई भन्न चाहन्छु के कहिल्यैं तपाईँहरूले मलेसियामा रहेका नेपालीहरुको दु:ख पीडाको बारेमा जानकारी लिनुभएको छ? तपाईहरूले ४० र ८० हजारको श्रम स्वीकृति गराएर २ लाखभन्दा बढी रकम लिन नपाउनु भएकोले आन्दोलन गर्नुभएको हो?
आज तपाईहरूले नेपाली कामदारलाई मलेसिया राम्रो छ कमाइ धेरै हुन्छ रोजगारदाता कम्पनी राम्रो छ भनी जसरी पठाउनु भएको छ यहाँ तपाईँहरुले भनेको जस्तो छैन। यहाँका १० प्रतिशत कम्पनीहरु मात्रै राम्रा छन्। ९० प्रतिशत कम्पनीले नेपालीलाई भने जति तलब नदिने, लेबि काट्ने बिरामी हुँदा औषधि उपचार नगर्ने, होस्टेलको राम्रो ब्यबस्था नगर्ने, दुई चार महिनासम्म तलब नदिने सम्मको काम गरिरहेका छ्न्। त्यति मात्र होईन तलब बुझेको समयमा यहाँका नागरिकबाट लूटपाट, हत्याहिंसा बलात्कारसम्म हुने गरेका छन्। त्यसैगरि प्रहरीले अनावश्यक दु:ख दिने कामसमेत हुने गरेको छ। नेपालमा साहुँसँग लाखौं ॠण काढेर मलेसिया आएका नेपालीहरु यहाँको विमानस्थलबाटै दु:ख पाउने गरेका छन्।
दुई चार दिनसम्म यहाँका रोजगारदाता कम्पनीहरू विमानस्थलमा लिन जादैनन् प्रहरीले उस्तै दु:ख दिन्छन् दिशा पिसाब गर्न पनि भनेको समयमा जान दिँदैन। चिसो भुइँमा त्यतिकै बस्नुपर्छ। जुन कामको लागि भनेर आएको हो त्यो काम हुँदैन र एक महिनासम्म काम पनि दिँदैन त्यति बेलाको तलब पनि दिँदैन, नेपालबाटै भाषा नसिकिकन आउँदाको कारणले गर्दा उस्तै समस्या हुन्छ। यिनै समस्याले गर्दा नेपाली कामदारहरू अबैधानिक बन्नु परेको छ।
अवैधानिक भइसकेपछि यहाँ अध्यागमनबाट धरपकड हुने नेपालीहरु जेलमा सढ्नुपर्ने बाध्यता अर्कोतर्फ छ। यहाँ भनेको जस्तो काम र तलब नभएपछि आफ्नो घरको ॠण सम्झेर कति नेपालीले आत्महत्यासम्म गरेका छन्। कतिको मानसिक सन्तुलन बिग्रीएको छ। कति नेपाली घर फर्कने क्रममा नेपालबाट पैसा मगाएर रोजगारदाता कम्पनीलाई तिरेर जानुपर्ने बाध्यता छ। मलाई लाग्छ मलेसियाबाहेक अरु देशको पनि हालत यस्तै होला।
भन्नुहोस् ढकालज्यू यस्तो देशमा तपाईँहरुले भने बमोजिमको कामदारको माग आउँदैन भनेर आन्दोलन गर्नुभएको हो? म तपाईँलाई भन्न चाहन्छु यो देश नेपाली कामदारको लागि नर्क हो। यहाँ कुनै नेपाली कामदारको माग नआएपनि फरक पर्दैन अर्को कुरा यहाँको रोजगारदाता कम्पनीले फ्रि भिसा र फ्री टिकट मा कामदार ल्याउछन् भने तपाईँहरुलाइ टाउको दुखाइ किन?
आज तपाईहरुले सरकार विरुद्ध आन्दोलन गरिरहँदा सामाजिक सञ्जालका भित्ताहरू तपाईंहरुको विरुद्धमा किन भरिएका छन्? यतिधेरै आक्रोश हरु किन पैदा भैरहेका छन् के तपाईँहरुले कहिल्यै मनन गर्नुभएको छ? तपाईहरू श्रम मन्त्रालयले गरेको फ्रि भिसा र फ्रि टिकटविरुद्ध आन्दोलन गर्दै यो निर्णय फिर्ता गराउन नेताहरुको घर दैलो चाहर्दै हुनुहुन्छ र नेतालाई दबाब दिँदै हुनुहुन्छ यो निर्णय फिर्ता गरिदिनु पर्यो।
म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु सरकारले गरेको यो निर्णय हामी जस्ता प्रवासमा रहने नेपालीहरुको पक्षमा छ र यो स्वागत योग्यछ। यदि तपाईंहरुले सरकारको यो निर्णय बिरुद्ध आन्दोलन गरेर फिर्ता गराउन चाहनुहुन्छ भने तपाईँहरूबाट पीडित बनेर घर फर्किएका नेपालीबाट तपाईँहरूको विरुद्धमा आन्दोलनको सृजना गर्न नपरोस भन्ने कामना गर्न चाहन्छु।
0 comments:
Post a Comment