Monday, July 13, 2015

अन्तर्राष्ट्रिय उडान आधा


काठमाडौं- वैदेशिक रोजगार व्यवसायीले 'निःशुल्क भिसा र टिकट'को विरोध गर्दै एक सातादेखि गरेको आन्दोलनका कारण नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडान आधाभन्दा बढीले कटौती गर्ने निर्णय गरेका छन्। व्यवसायीले निःशुल्क टिकट भिसा र टिकट राम्रो भए पनि छलफल र गृहकार्यबिना सरकारले एकतर्फी निर्णय गरेको भन्दै आन्दोलन गरिरहेका छन्। उनीहरूको आन्दोलनको प्रत्यक्ष असर भने यहाँबाट विभिन्न विदेशी गन्तव्य जाने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमदेखि उताबाट आउने दर्जनौं अन्तर्राष्ट्रिय वायुसेवामाथि परेको छ। व्यवसायीको आन्दोलनपछि अन्तर्राष्ट्रिय वायुसेवाका जहाजमा यात्रु संख्या ह्वात्तै घटेको छ जसका कारण उनीहरूका जहाज लगभग 'रित्तै' उडिरहेका छन्। ध्वजावाहक निगमका ठूला जहाजमा केही दिनदेखि एक तिहाइमात्र यात्रु हुने गरेका छन्। अन्य अन्तर्राष्ट्रिय वायुसेवाले उडान संख्या आधाभन्दा बढीले कटौती गर्ने निर्णय गरेका छन्। खाडी मुलुक कतार, युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, ओमान लगायतबाट नेपाल आइरहेका वायुसेवा अहिले मारमा परेका छन्। व्यवसायीको आन्दोलनको असर श्रम बजारमा परेको छ। खाडीका अधिकांश वायुसेवाका यात्रु भनेका नेपाली कामदार हुन्।'म्यानपावर व्यवसायीको आन्दोलनको सिधा असर हामीमाथि परेको छ,' नेपाल उडान गरिरहेको खाडी मुलुकको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको नेपालस्थित अधिकारीले सोमबार नागरिकसँग भने, 'सातामा १४ सम्म उडान गरिरहेका कम्पनी अब ठ्याक्कै आधामात्र उडान गर्ने निर्णयमा पुगेका छन्।'त्यसैगरी ठूलो आकार (वाइड बडी) जहाज ल्याइरहेका वायुसेवा अब सानो आकार (न्यारो बडी) जहाजबाट उडान गर्ने निर्णयमा पुगेका छन्। यसबाट पनि यात्रु संख्या ५० प्रतिशतहाराहारीमा कटौती हुने गर्छ। नेपाल आउने वाइड बडी जहाजमा अधिकतम ३ सयजति यात्रु अट्छन् भने न्यारो बडीमा १ सय ५० हाराहारी यात्रु अट्छन्। हाल कतारबाट कतार एयरवेज, युएईको दुबईबाट फ्लाई दुबई, सारजहाँबाट एयर अरेबिया, अबुधाबीबाट इतिहाद एयरवेज, बहराइनबाट बहराइन एयर, ओमानबाट ओमान एयर तथा मलेसियाबाट मलेसिया एयरलाइन्स, एयर एसिया एक्स र मालिन्दो एयर आइरहेका छन् भने यताबाट नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर कतारको दोहा उडान गरिरहेको छ। सम्बद्ध वायुसेवा कम्पनीका अनुसार एयर अरेबियाले काठमाडौंका लागि सातामा २१ उडान गरिरहेको छ। वैदेशिक रोजगार व्यवसायीको आन्दोलनका कारण यात्रु उल्लेख्य परिमाणले घटेपछि सातामा १४ उडान गर्न थालेको छ। 'अब दिनमा एउटामात्र उडान गर्ने तयारी भइरहेको छ,' सम्बद्ध अधिकारीले भने, 'यसको असर हामीलाई मात्र होइन नेपालको समग्र अर्थतन्त्रमा पर्ने निश्चित छ।' त्यसैगरी फ्लाई दुबईले पनि दिनको तीन उडानबाट कटौती गरी दुई वा एउटामा झार्ने तयारी गरिरहेको छ। ओमान एयरले दिनको दुई उडान गरिरहेको छ। अब संख्या घटाएर आठमा झार्ने तयारी उसको छ। इतिहादले सातामा गरिरहेको १४ उडानमा केही कटौती गर्ने तयारी गरिरहको छ। कतार एयरवेजले दैनिक तीन उडान गरिरहेको छ। तीमध्ये दुई उडान वाइड बडीबाट गररहे पनि अब एउटामात्र वाइड बडी प्रयोग गर्ने जनाएको छ। वायुसेवा कम्पनीका अनुसार काठमाडौंबाट मलेसियाका लागि दैनिक ८ सय यात्रु जाने गरेका थिए। म्यानपावर व्यवसायीको आन्दोलनपछि यो संख्या उल्लेख्य दरमा घटेेको छ। मलेसियाको सरकारी वायुसेवा मलेसिया एयरलाइन्सले दिनको दुई उडान गरिरहे पनि अब एउटामात्र गर्ने निर्णय गरेको छ। मलेसियाको निजी वायुसेवा एयर एसिया एक्सले दैनिक एक (सातामा सात) उडान गरिरहेको थियो। यसलाई कटौती गरी सातामा तीनमात्र उडान गरिरहेको छ। अर्को निजी कम्पनी मालिन्दो एयर पनि सातामा सात उडानबाट कटौती गरी यात्रुचाप हेरेर दुईदेखि तीन उडान गर्ने निर्णय गरेको छ। 'हाम्रो आम्दानी त गुमेकै छ,' अर्को एक वायुसेवाको नेपालस्थित अधिकारीले भने, 'यसबाट नेपाल घुम्न आउने पर्यटक पनि घट्न थालेका छन्। उडान कटौती भएपछि विदेशी पर्यटक घट्नु स्वाभाविक हो।' खाडी मुलुकका मात्र होइन, थाइल्यान्डको सरकारी वायुसेवा थाई एयरवेजले पनि वैदेशिक रोजगार व्यवसायीको आन्दोलनपछि यात्रु नभएको भन्दै उडान कटौती गरेको छ। उसले दैनिक एक उडान (सातामा सात) गरिरहेको थियो भने अहिले सातामा पाँचमात्र उडान गर्न थालेको छ। 'हाम्रा जहाजमा पनि यताबाट जाँदा एक तिहामात्र यात्रु हुने गरेका छन्,' वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले नागरिकसँग भने, 'तर, उताबाट फर्कंदा भने यात्रु पूरै हुने गरेका छन्। हामी सकेसम्म उडान कटौती गर्ने पक्षमा छैनौं।' उनका अनुसार निगमले मलेसियाको क्वालालम्पुर तथा कतारको दोहाका लागि अमेरिकी जहाज निर्माता कम्पनी बोइङद्वारा उत्पादित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७' सिरिजका दुई थान जहाज उडाइरहेको छ। व्यवसायीको आन्दोलनपछि यताबाट जाँदा एक उडानमा ६० देखि ७० जनामात्र यात्रु हुने गरेका छन्। 'त्यही भएर हामी मलेसियाका लागि यात्रु घट्न नदिन आगामी साउन १ बाट लागु हुने गरी प्रवर्द्धनात्मक भाडा दर सार्वजनिक गर्ने योजनामा छौं,' शर्माले भने, 'यस्तो भाडा दर नेपाली र विदेशी दुवैलाई लक्ष्य गरेर ल्याउँछौं।'

0 comments:

Post a Comment