Saturday, July 11, 2015

दुर्गम गाविसमा अझै पुगेन राहत रकम


बनेपा, २७ असार । सरकारले अस्थायी टहरा निर्माणका लागि भूकम्पपीडितलाई उपलब्ध गराउने राहत रकम काभ्रेपलाञ्चोकको दुर्गम गाविसमा अझै पुग्न सकेको छैन ।

बजेट अभावका कारण जिल्लाको दुर्गम गाविस मानिने महाभारतशृङ्खला डाँडापारीका पाँच गाविस र कोसीपारीका दुई गाविसमा राहत रकम पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले जानकारी दिनुभयो ।

सम्भवत बजेट आजै आउँछ, आउनेबित्तिकै वितरणमा ढिलाइ गर्दैनौँ प्रजिअ ढकालले भन्नुभयो ।

खास गरी जिल्लाको डाँडापारीका मिल्चे, साल्धारा, साल्मेचाकल, बूढाखानी, गोकुले र कोसीपारीका मादनकुँडारी र सल्लेभूम्लु गाविसमा अस्थायी टहराका लागि वितरण हुने भनिएको रु १५ हजार राहत रकम भूकम्पपीडितले पाउन सकेका छैनन् ।

कोसीपारी १७ वटा र डाँडापारी ११ वटा गाविस छन् । जिल्लामा झन्डै एक महिनादेखि अस्थायी टहरा बनाउन दैवी प्रकोप, राहत तथा उद्धार समितिले राहत रकम वितरण गर्दै आएको छ ।

स्थानीय विकास अधिकारी चिरञ्जीवि तिम्सिनाले अहिलेसम्म जिल्लाको ५८ वटा गाविसको ७४ हजार घरधुरीलाई रु एक अर्ब ११ करोड राहत रकम वितरण भएको जानकारी दिँदै पाँच नगरपालिका र अझै केही गाविसमा राहत रकम वितरणको काम जारी रहेको बताउनुभयो ।

जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको तथ्याङ्कअनुसार यहाँ भूकम्पका कारण झन्डै ८५ हजार घर पूर्णरुपमा क्षति भएको छ ।

0 comments:

Post a Comment