Thursday, July 30, 2015

ट्रकको ठक्करबाट सोह्र तीर्थयात्रीको मृत्यु


मेक्सिको सिटी, १४ साउन । मध्य मेक्सिकोमा बुधबार तीर्थयात्रीहरूको समूहमाथि एक ट्रकले दिएको ठक्करबाट कम्तीमा १६ व्यक्तिको मृत्यु भएको समाचार छ । यस घटनामा परी अन्य ३० जना घाइते भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । जाकाटेकास् राज्यको मजापील सहरको सडकमा धार्मिक यात्राको क्रममा बुधबार अपराह्न जम्मा भएका करिब २ सय व्यक्तिको माझ एक ट्रकले ठक्कर दिएको बताइएको छ । धार्मिक यात्राको क्रममा एक चर्चतर्फ गइरहेका तीर्थयात्रीहरूमाथि ट्रकले ठक्कर दिएको नागरिक प्रतिरक्षा विभागले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । राज्य सरकारका महासचिव जाइमे सन्टोयो कास्टोद्वारा जारी विज्ञप्तिमा बुधबार भएको सो दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको जनाइएको छ । उक्त दुर्घटनापछि ट्रक ड्राइभर भने त्यहाँबाट भागेको बताइएको छ ।

0 comments:

Post a Comment