Monday, July 13, 2015

व्यावसायिक बन्दै किशोरीहरु


महिला तथा बालबालिका कार्यालयले सहयोग गरेपछि कुखुरापालन, अदुवाखेतीजस्ता कृषिजन्य व्यवसायमा किशोरी, महिला आकर्षित बन्दै गएका छन्। सूर्योदय नगरपालिकाको तीनघरे र गोदकका किशोरीले सामूहिक कुखुरापालन तथा अदुवाखेती थालेका हुन् । गोदक– ८ को जौबारीका २३ जना महिलाले सामूहिक रुपमा अदुवाखेती थालेका छन् । सिंहदेवी बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यसमेत रहेका ती महिलाले ४३ मन बीउ अदुवा रोपेका हुन्। महिला तथा बालबालिका कार्यालयले सहकारी संस्थामार्फत ती महिलालाई बीउ खरिदका लागि रु एक लाख ५० हजार उपलब्ध गराएपछि उनीहरुले व्यवसाय थालेको महिला तथा बालबालिका कार्यालय प्रमुख स्किम श्रेष्ठले जानकारी दिए।
कार्यक्रमको स्थलगत अनुगमनका लागि कार्यालयबाट गोदक पुगेको स्थानीय विकास अधिकारीसहित वन, पशुसेवा, कृषि, घरेलु, खानेपानी र वनस्पति कार्यालयका प्रमुखसमेतको टोलीसँगको छलफलमा सहकारीकी अध्यक्ष खीनादेवी सापकोटाले महिला तथा बालबालिका कार्यालयले दिएको रकमले बीउ किनेर महिलालाई दिइएको, बाँकी जग्गा र श्रम सबै महिलाले नै व्यवस्था गरिरहेको बताए। प्रतिमन बीउबराबर १० मन फल अदुवा हुन सक्ने गरी महिलाले मेहनत गरिरहेको भए पनि हाल अदुवाका केही बोट मर्न थालेको र बूढी अदुवा निकाल्ने बेला भएकाले त्यसपछि थप रोग लाग्ने सम्भावना भएकाले समस्या देखिएको सहकारीकी व्यवस्थापक हरिकला श्रेष्ठले बताए।
छलफलमा वरिष्ठ जिल्ला कृषि विकास अधिकृत प्रकाश डाँगीले अदुवामा कुनै रोग देखा परेको खण्डमा कृषिको स्थानीय सेवाकेन्द्रमा गई सेवा लिन आग्रह गर्नुभयो । महिला विकास अधिकृत श्रेष्ठले चार दिनभित्रमा कृषि कार्यालयका प्राविधिकसहित स्थलगत जाँच र उपचारमा पठाउने प्रतिबद्धता व्यक्त गरे। छलफलमा उपस्थित महिलाहरुले प्राविधिक सहयोग र तालिम पाएका खण्डमा अदुवाखेतीमा आफूहरु व्यावसायिक बन्ने जमर्को गरिरहेको बताएका छन् ।
त्यस्तै तीनघरेको प्रजनन स्वास्थ्य किशोरी समूहका ३० जना किशोरीले पनि सामूहिक कुखुरापालनमार्पmत व्यावसायिक बन्ने जमर्को गरिरहेका छन् । तीन वर्षअघि स्थानीय महिला विकास सहकारी संस्थामार्पmत महिला तथा बालबालिका कार्यालयले उपलब्ध गराएको रु एक लाख २५ हजार रकमले उनीहरुले कुखुरापालन थालेका हुन्।
सुरुमा सयवटा लोकल कुखुरापालन सुरु गरेका उनीहरुले अहिले डेढ सय ब्रोइलरसमेत पालिरहेका छन् । कुखुरापालन गरेरै सुरुमा केही घाटा व्यहोरेका ती किशोरीले अहिले रु ५४ हजार नगद मौज्दात जम्मा गर्न सफल भएका छन् । अनुगमन टोलीसँगको छलफलमा किशोरीले लोकल कुखुरा खोरमा थुनेर पाल्दा नफस्टाएको तथा ब्रोइलर पनि राम्ररी वृद्धि हुन नसकिरहेको समस्या राखेका थिए।
वरिष्ठ जिल्ला पशुसेवा अधिकृत डाक्टर पशुपति ढुङ्गानाले थुनेर पालेका कुखुरा पनि फस्टाउन सक्ने उल्लेख गर्दै चारो, भिटामिन, घाँस, पानी र औषधि उपचारको मात्रा नपुग्दामात्र समस्या आउने बताए। अनुगमनका क्रममा देखिएका कुखुरालाई खानेकुरा अपुग भएकाले चारो बढाउनुका साथै रानीखेत तथा जुकाको औषधि प्रयोग गर्दा कुनै समस्या नआउने डाक्टर ढुङ्गानाको सुझाव थियो।
किशोरीले कुखुरापालनबाटै गरेको आम्दानीबाट तीनघरेमा निजी रुपमा कटिङ सेन्टर, ब्युटिपार्लर, बुटिक सेन्टरसमेत खोलेर व्यवसाय गरिरहेको उनीहरुका अभिभावकले बताए। किशोरीले आफूहरुलाई सहकारीमार्पmत कार्यालयले सहयोग गरेर कुखुरापालन गर्दा भविष्यमा स्वरोजगार बन्न सहयोग मिल्ने आशा राखेको बताएका छन् । रासस

0 comments:

Post a Comment