Sunday, July 12, 2015

बागमतीमा दुई वर्षपछि नुहाउन सकिने


सरकारले साढे दुई वर्षभित्र उपत्यकाका सबै खोला तथा नदीलाई ढलमुक्त बनाउने भएको छ । बागमती नदी, धोबीखोलालाई ढलमुक्त गर्ने काम धमाधम भइरहेको छ । बागमती नदीसहित उपत्यकामा धोबीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते, टुकुचा, बल्खुखोला, नक्खुखोला र खोड्कुखोला छन् । सबैलाई ढलमुक्त बनाउने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको योजना छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

समितिका अनुसार ६ किमी लम्बाईको धोबीखोलाका दुवै किनारामा ढल हाल्ने काम झन्डै आधा सकिएको छ । विष्णुमतीका दुवै किनारामा ढल हाल्ने प्रक्रिया पनि अघि बढेको छ । असोजबाट काम सुरु भइसक्ने समितिको दाबी छ ।
मनोहरा र हनुमन्तेखोलाकिनारमा ढल निर्माणका लागि डिजाइन तयार भइसकेको समितिले जनाएको छ । समितिका अनुसार अबको दुई वर्षभित्र दुवै खोलाको काम सकिनेछ । टुकुचा, बल्खु, नक्खु र खोड्कुखोला किनारमा ढल राख्ने काम पनि यसबीचमा सक्ने तयारी भएको समितिको दाबी छ ।
तिलगंगा–शंखमूलसम्मको बागमतीमा दुई वर्षपछि नुहाउन सकिने
तिलगंगादेखि मनोहरा दोभानसम्मको बागमती नदी एक वर्षभित्र नुहाउन हुने गरी सफा हुने समितिले दाबी गरेको छ । सो क्षेत्रको ढल पूर्ण रूपमा ‘ट्याप’ गरिएको समितिले जनाएको छ ।
एक वर्षभित्र नदीका दुवै किनारका सडक कालोपत्रे गरिने भएको छ । दुईतर्फी सवारीसाधन गुड्ने गरी सडक निर्माण हुने भएको छ । पैदलयात्रीका लागि छुट्टै फुटपाथ र साइकल लेनसमेत बन्ने भएको छ । सडक किनारमा बगैँचा निर्माण हुने समितिले जनाएको छ ।

0 comments:

Post a Comment