काठमाडौं, असार २७
बजेटपछि फेरि बढ्ने हुँदा व्यापारीको माग उच्च
खाद्य तथा पेय पदार्थ उप-समूहमा सबैभन्दा बढी मूल्य वृद्धिदर मदिरामा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा मदिरा पदार्थको मूल्य बृद्धिदर २४ दशमलव ५ प्रतिशतले बढेको छ। विभिन्न खाद्य तथा पेय पदार्थ उप-समूहमा पनि मदिराको मूल्य बृद्धिदर अत्याधिक रहेको छ।
आर्थिक वर्ष २०७१/७२ मा ८ प्रतिशत मदिराको मूल्य अभिबृद्धि कर मात्रै थप गरिएको थियो। त्यसमा अन्तःशूल्क र भन्सार कर पनि थपिँदा मदिराको समग्र मूल्यमा ठूलै असर पर्ने गरेको छ।
यस वर्षको बजेटबाट पनि मदिराको कर तथा अन्तःशूल्क बढ्ने निश्चित छ। भूकम्पपछि पुर्ननिर्माणको लागि भनेर यस पटक करको रकम झन् बढाएर बजेट ल्याउने सरकारको तयारी पूरा भएको छ।
त्यसो त यो वर्षमै केही कम्पनीहरुले आफ्ना उत्पादन मदिराहरुको मूल्य बढाइसकेका छन्। कम्पनीबाटै बढाइएको मूल्यबृद्धि र करहरु समेत थपिएपछि यसका उपभोगकर्तालाई यो वर्ष थप व्ययभार पर्ने निश्चित छ।
यता बजेटलगत्तै मूल्य बढ्ने भएपछि विक्रेताहरुले बजारमा पेय मदिराको माग बढाएका छन्। भनेजति मदिरा नपाएको गुनासो गर्दै उनीहरुले डिलरहरुबाटै मदिराको अभाव सिर्जना गराइएको दावी गरेका छन्। एसिएन डिष्टिलरीबाट वितरित भोड्का, ब्ल्यु डायमण्डजस्ता मदिराहरू लामो समयदेखि नपाएको अधिकांश व्यापारीहरुको गुनासो छ।
‘अन्य समयमा डिलरले मागेजति मदिराहरु दिन्थ्यो, २ साता भयो मागेकोभन्दा २५ प्रतिशत मात्र मदिरा उपलव्ध गराइरहेको छ’ कपन मिलनचोकका व्यापारी कमल बोम्जनले भने ‘कम्पनीबाटै नआएको भन्दै डिलरहरु तर्किने गरेका छन्।’
नयाँ बसपार्कका अर्का व्यापारी आशिष शाक्यले पनि आफ्नो अर्डरअनुसार मदिरा नपाएको गुनासो गरे। ‘१० कार्टुन माग्दा २ कार्टुन मदिरा छोडेर जान्छ, मेरो पसलमै अहिले केही मदिरा सकिएको छ’, शाक्यले भने, ‘बजेटपछि मात्रै आउँछ, भन्नेमा ढुक्क भएर बसेको छु।’
डिलर तथा कम्पनीहरुले भने व्यापारीहरुले नै मदिराको माग धेरै गरेको भन्दै सबैलाई खपत भएअनुसार समानुपातिक तवरले वितरण गरिएको दावी गरेका छन्।
मदिरा व्यवसायी महासंघले पनि बजारमा मदिराको अभाव नभएको तर व्यापारीको माग बढेको जनाएको छ। महासंघका अध्यक्ष नविनलाल श्रेष्ठले भने, ‘कुनै पनि क्षेत्रमा कुनै पनि प्रकारको मदिरा अभाव छैन, बजेट आउनुपूर्व माग बढ्नु स्वभाविक हो, बजेट आइसकेपछि फेरि सामान्य नै हुन्छ।’
उपभोक्ताबाट नभई व्यापारीबाट माग बढेकोले यसलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाई छ।
0 comments:
Post a Comment