५ असार, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ । ‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौंको ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् ।
करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको हो । आफ्ना लगभग सम्पूर्ण जनिशक्ति अपरेसन क्वाकमा परिचालन गरेको सिआइबीले ३६ जना ‘डाक्टर’लाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंका अस्पतालबाट १३ जना नक्कली डाक्टर पक्राउ परेका छन् ।
यसैगरी ललितपुरबाट २ जना, इटहरीबाट १, बिराटनगरबाट ३, झापाबाट १, धनुषाबाट २, विरगञ्जबाट ९, चितवनबाट ३, पोखराबाट १ र दाङबाट १ जना पक्राउ परेका छन् । काठमाडौंको अपरेशनमा ट्रमा सेन्टर र नर्भिकसहित कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, लोकहित क्लिनिकमा नक्कली डाक्टर भेटिएको सिआइबी स्रोतले जानकारी दियो । ट्रमा सेन्टर भारतले बनाइदिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पताल हो भने नर्भिक निजी लगानीको ठूलो अस्पताल हो ।
‘पक्राउ परेका अधिकांशको आइएस्सीको प्रमाणपत्र नै नक्कली भेटिएको छ,’ स्रोतले भन्यो, ‘उनीहरुले अध्ययन गरेको भनिएको कलेजमा कुनै रेकर्ड छैन ।’
सिआइबीले १ सय जना नक्कली प्रमाणपत्रधारी पक्राउ पर्ने अनुमानसहित अपरेसन क्वाक चलाएको थियो । तर सुचना चुहिएपछि अधिकांश थुप्रै फरार भएको स्रोत बताउँछ ।
सिआइबी स्रोत भन्छ, ‘१ सय जना नक्कली डाक्टर र उनीहरु कार्यरत अस्पताल कारवाहीको सुचिमा थिए । सुचीमा रहेका डाक्टहरुको बारेमा सिआइबीले चार महिनादेखि अनुसन्धान गरिरहेको थियो । त्यसबाट प्राप्त प्रमाणको आधारमा कारवाही चलाइएको हो ।’
शुक्रबार अपरेसन चलाउने तयारीसँगै सिआइबीको काठमाडौंस्थित केन्दि्रय कार्यालयमा बिहान ६ बजेदेखि एसएसपीहरु ‘स्ट्याण्डवाइ’ बसेका थिए ।
जिल्ला जिल्लामा सिआइबीका टोली पुगेपछि स्थानीय प्रहरी प्रमुख र सिमित अधिकृतलाई मात्रै जानकारी दिएर अपरेसन सञ्चालन गरिएको थियो ।
परिषद र काउन्सिलको साथ
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर विरुद्धको अपरेशनमा सिआइबीलाई नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले साथ दिएका छन् । स्रोतका अनुसार नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर र उनीहरु कार्यरत अस्पतालको सुची सिआइबीलाई उपलब्ध गराएको थियो ।
काउन्सील नम्बरको लागि दिइने परिक्षामा पटक-पटक फेल भएकाहरु पनि अस्पतालमा कार्यरत देखिएपछि काउन्सिलले आन्तरिक छानविन गरिरहेको थियो ।
छानविनमा परेकाहरुले पेश गरेको प्रमाणपत्र नक्कली हो कि होइन भन्ने जाँच गर्न उच्च माध्यमिक शिक्षा परिषदले साथ दिएको हो । अनुसन्धानको क्रममा आइएस्सी पास गरेको भनिएकाहरुको रेकर्ड सम्बन्धित कलेजमा नभएको पाइयो । कतिले वास्तविकभन्दा बढी नम्बर राखेको त कतिले एसएलसीको समेत नक्कली प्रमाणपत्र पेश गरेको भेटिएको सिआइबी स्रोत बताउँछ ।
आइएस्सी र एसएलसीको नक्कली प्रमाणपत्र हात पारे पनि अधिकांशले एमबिबिएस भने अध्ययन गरेको पाइएको छ । यसअघि गरेको पटक-पटकको अपरेसनमा नक्क्ली शैक्षिक प्रमाणपत्रको आरोपमा १९ जना कारवाहीमा परिसकेका छन् ।
0 comments:
Post a Comment